मुम्बईमा दार्जीलिङ : जातीय पहिचान कायम राख्दै कुणाल सिँह

दार्जीलिङ पहाड़को परिचय बोक्ने धेरै तत्त्वहरूमा खाद्य परिकारहरू पनि हुन्। दार्जीलिङको चिया जतिको प्रसिद्ध छ त्यतिकै प्रख्यात छ मोमो, थुक्पा र चाउमिन पनि, गुन्द्रुक, किनेमा र सिन्की पनि। भलै चिनियाँहरूले प्रयोग गर्ने गरेका मोमो-थुक्पाजस्ता खाद्य परिकारहरूलाई दार्जीलिङमा तिब्बतीहरूले अघि लिएर आएका हुन् तर यसलाई भारतव्यापी बनाउनमा मूलतः दार्जीलिङ पहाड़को भूमिका अहम् रहेको छ।

एन्टप हिल, मुम्बई – 37

दार्जीलिङ पहाड़ भाग्यले ठगेको ठाउँ हो। परिश्रमी, साहस, आँटी, प्रतिभाशाली, पौरखी, इमानदार, लगनशील युवाहरू हुँदाहुँदै पनि घरिघरिको स्वार्थनिहित राजनीतिका सिकार बन्नुपर्दा यो पहाड़ले धेरै केही गुमाउनुपरेको कथा छ। यस्तै गुमाएका संसाधनहरूमा एक यो युवाशक्ति। यसको ज्वलन्त उदाहरण हेर्नु हो भने भारतवर्षको आर्थिक राजधानी अथवा मुम्बई सहर आउनुपर्छ। हुनत हरेक महानगरीमा यसरी दार्जीलिङ मुख छोपेर, लुकीलुकी बस्नपुगेको छ आज भारतमा।

कसैले देखी पो हाल्छ कि भन्ने लाज र त्रासले दार्जीलिङ पहाड़ले आफ्नो जीवन धानिरहेको देखिन्छ यो देशका चारै कुनामा। यस्तै एक ठाउँ हो मुम्बई। यहाँ हामीले देख्न पाउँछौँ दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक अनि डुअर्सका ती अभागी प्रतिभाहरू जो आफुसित क्षमता रहँदारहँदै पनि व्यवस्थाको कोल्टे नीति अनि दुर्बल नेतृत्वको सिकार भएर जन्मथलोबाट पलायन भएर आएका छन् अनि आफ्नै बलबुता र क्षमतामा उभिने सङ्घर्षमा तल्लीन छन्।

न त यी युवाहरूले पाए समाजबाट सहयोग, न प्रशासनबाट कुनै सहुलियत, न सरकारी नीति निर्धारकहरूको कुनै सुझाउ, न आफुभन्दा जान्नेबुझ्नेहरूबाट मार्गदर्शन, न त कुनै नेताको आशिर्वाद, न नै कुनै दिन यिनीहरूको चिट्ठा नै लाग्यो। विभिन्न प्रताड़नाका सिकार बनेर दार्जीलिङदेखि अन्यत्र आफ्नो जीविका धान्ने प्रयास गर्ने यस्ता युवा अनुहारहरूमा एक हुन् चाँदमारी दार्जीलिङमा जन्मेका युवा प्रतिभा कुणाल सिँह।
साथी विकासले यसपालि पनि यस्तै मौका जुराए। 26 अप्रेलका दिन आफ्नो सरकारी कामबाट आधा दिनको छुट्टी लिएर उनी अन्धेरी स्टेसन वेस्टमा आइपुगेका थिए जहाँ हाम्रो भेट भयो। त्यसपछि 259 नम्बरको बसमा चढ़ेर हामी दुइ भाइ हीरा पन्ना सपिङ मल पुगेर हिन्दी भाषामा कविता गजल अनि सिनेमाका गीत लेख्ने अनि नेपालीमा पनि बराबर रुपमा कलम चलाएर दुइवटा गजल सङ्ग्रह तयार गरिसकेका युवा कवि शेखर अस्तित्वसित भेट गर्छौँ। त्यसपछि तीनै भाइ लाग्छौँ लोखोनवालापट्टि यौटा रिक्सामा चढ़ेर अनि पुग्छौँ कुणाल सिँहको रेस्टुरेन्ट। मुम्बईजस्तो ठाउँमा यति आत्मीय नाउँ गरेको साइनबोर्ड देख्दा नै कुणालको जातिप्रतिको मोह बुझ्न पाउँछौँ र मनमा एकप्रकारको रमाइलो अनुभव हुन थालिहाल्छ।

आफ्नो जन्मथलोदेखि टाढ़िएर देश-विदेशको जुनै कुनाकाप्चामा पुगे तापनि किन हो कुन्नि यो दार्जीलिङ शब्दसितको भावनात्मक सम्बन्ध र सम्पर्कबाट कोही पनि टाढ़ा रहन सक्तैन। यसैले कुणालले आफ्नो प्रिय रेस्टुरेन्टको नाउँ राखेका छन् – दार्जीलिङ केजुअल डाइनिङ। कलकत्ता विश्वविद्यालयबाट स्नातक तहसम्मको शिक्षार्जन गरेका 35 वर्षीय युवा कुणाल सिँहले आर्मी स्कुलबाट बाह्रौँ कक्षा उत्तीर्ण गर्नेबित्तिकै कल सेन्टरमा काम गर्न थालेका हुन्।

सानै उमेरदेखि स्वतन्त्र रुपमा बेपारधन्दा गर्न रुची राख्ने कुणालले कल सेन्टरमा काम गर्दागर्दै आफ्नै कम्पनी सुरू गर्ने सोच बनाए। उता दार्जीलिङमा राजनीतिक डड़ेलो सल्केर युवाहरूको अँधेरो भविष्य झन् अनिश्चित भइरहेको बेला डेल कम्पनीको कल सेन्टरमा काम गरिरहेका कुणालले सन् 2007-देखि आफ्नै कल सेन्टर सुरू गरे।

स्वावलम्बी कुणालले कलकत्ताबाट यसरी आफ्नो बेपार सुरू गर्दा उता दार्जीलिङमा उनकै उमेरका युवाहरू नयाँ पार्टीको झन्डा समातेर, होहोरेमा लागी नाराबाजी गरिरहेका थिए होलान्। तर बेपारलाई आफ्नो लक्ष्य बनाउने सोच पालेका कुणाल एक लगनी लागेर आफ्नै ध्याउन्नमा थिए। यति सानो उमेरमा उनले कम्पनीबाट 18 हजार रुपियाँ मासिक बेतन पाउने गरेको तथ्यबाटै उनको लगनशीलताको परिचय पाइन्छ।

हुने बिरुवाको चिल्लो पात भनेजस्तै कुणालले सरकारी निकायहरूसित मिलेर विश्व ब्याङ्कको सहयोगमा भुटानमा कल सेन्टर सुरु गरे। त्यहाँ उनी कम्पनीका सीइओ पदमा आसीन रहेका थिए अनि 200 जना स्टाफहरू उनका अधीनमा थिए। यद्यपि स्टाफ सङ्ख्या एक हजार पुऱ्याउने लक्ष्य पूर्ण हुन नसक्दा कम्पनी बन्द गर्नुपऱ्यो।

त्यसपछि उनी फर्केर पुनः कलकत्ता आए अनि त्यहाँको प्रसिद्ध स्थान सल्ट लेकमा सुरू गरे दार्जीलिङ नाम गरेरै रेस्टुरेन्ट सन् 2012 -तिर। आज मुम्बईमा आफ्नो बेपार फैलाइसकेका कुणालले तर कलकत्ताको रेस्टुरेन्ट बेपार पनि जारी राखेका छन्। आगामी केही महिनाभित्रै सल्ट लेकको सेक्टर एकमा उनको दार्जीलिङ रेस्टुरेन्ट परिवर्तित रुपमा सञ्चालनमा आउने निश्चित भइसकेको छ।

बेपार धन्दाहरूमा थुप्रै किसिमका औसरहरू हुँदाहुँदै पनि किन उनले रेस्टुरेन्टलाई नै रोजे त भनेर सोध्यौँ भने कुणाल भन्छन्, आफ्नो जातीय गौरव बोक्ने तत्त्वहरूमा खानाहरूको भेराइटिज पनि एक हो। हामीले आफ्नो जातीय अनि क्षेत्रीय खानाहरूलाई क्वालिटी प्रदान गरेर बिक्री-वितरण गर्न सकिरहेका छैनौँ। यी खाद्य सामग्रीहरूलाई यदि हामीले सही तरिकाले मार्केटिङ गर्नसक्यौँ भने बेपारमा हामी धेरै अघि आउन सक्छौँ। पहाड़को फुड कल्चरलाई प्रोमोट गर्नका लागि नै मैले यो चुनौतीपूर्ण व्यवसायलाई छानेको हुँ।

मुम्बईको व्यस्ततम ठाउँ पश्चिम अन्धेरीको लोखोनवाला पुगेर जब हामी यौटा सुन्दर अनि आकर्षक रेस्टुरेन्टमा मोमो, थुक्पा, स्या फाले, कौड़ी, साफ्टा, एमादसी, केवादसीहरू तयार भइरहेको दृश्य देख्छौँ साँच्चै हामीलाई आफ्नै गाउँघरमा रहेको अनुभव हुँदछ। जब त्यस रेस्त्राँमा कार्यरत लगभग एक दर्जन नेपालीभाषी युवाहरू देख्छौँ तब त झनै दार्जीलिङमा पुगेजस्तो अनुभूति हुँदछ। त्यसमाथि रेस्त्राँको छप्परमा जब आँखा डुलाएर हेर्छौँ त्यसको नामपट अनि देख्छौँ दार्जीलिङ भन्ने ठुलो अङ्ग्रेजी अक्षर त्यतिखेर साँच्चै हामीलाई एकप्रकारको खुसी अनि आफ्नोपनले छोपेर ल्याउँछ। यो रेस्टुरेन्टमा बेलुकी 9 बजीपछि मात्र प्रायः ग्राहकहरू आउने गर्छन्।

ती ग्राहकहरूमा मूलतः पर्यटकहरू धेर हुन्छन्। नेपाल, बङ्गाल अनि उत्तर पूर्वाञ्चलका पर्यटकहरूबाहेक स्थानीय मानिसहरू, पहाड़का विद्यार्थीहरू अनि बलिउडका हस्तीहरू यहाँ आएर समयसमयमा रेष्टुरेन्टमा प्राप्त खाद्यान्नहरू सेवन गरेर आनन्द लिने गर्छन्। कुणालका नियमित ग्राहकहरूमा एक हुन् प्रख्यात सिनेमाटोग्राफर बिनोद प्रधान जो आफ्नो परिवारका सदस्यहरूसँगै यहाँ आउने गर्छन्। उनका अन्य ग्राहकहरूमा एक नियमित प्रशंसक हुन् प्रख्यात गायक-सङ्गीतकार अङ्कित तिवारी।

मुम्बईको यतिको पौस स्थानमा अक्टुबर 2016 -देखि लिजमा कोठा लिएर पहाड़ी शैलीको रेस्त्राँ सञ्चालन गरिरहेका परिश्रमी युवा कुणाल यसरी आफ्नो खुट्टामा आफै उभिन सक्षम त भएकै छन् साथै उनले दार्जीलिङ भेकका विशेष गरी गोक कमानका बेरोजगार युवाहरूलाई पनि यहाँ काम दिएका छन्। कामसँगसँगै उनले आफ्ना स्टाफहरूलाई रहने-बस्ने व्यवस्था, आउजाउका लागि सुबिधाहरू उपलब्ध गराएका छन्। बेपार प्रबन्धनमा यसरी आफ्नै अनुभवले अघि आइरहेका कुणालको रेस्त्राँबाट अन्धेरी वरिपरिका घरपरिवारमा खाद्य पकवानहरू होम डेलिभरी पनि हुने गरेको छ।

गोरेगाउँमा आफ्नी माता, श्रीमती, नानी र भाइसित रहिरहेका कुणालको योजना छ आफ्नो बेपारलाई अझ विस्तारित रुप दिएर अझ व्यापारिक स्थानमा सार्ने। उनको यो योजनाले चाँड़ै साकार रुप पनि पाउन गइरहेको छ किनभने उनले अन्धेरीको लिङ्क रोडको बिरादेसाई क्षेत्रमा आफ्नो रेस्त्राँ सार्ने ठाउँ पाइसकेका छन्। उक्त स्थानमा सरेपछि आफ्नो बेपारलाई अनलाइन सेवामार्फत् बिक्री-वितरण गर्ने चाँजो मिलाइरहेका छन् कुणालले भने चाँड़ै नै जाँड़को ढुङ्ग्रो, सुँगुरको मोमो, कुख्राको मोमो, ससेज आदिको बेपार पनि थाल्ने उनको विचार छ।
सुन्नमा सहज लागे पनि तर कुणाललाई यहाँसम्म आइपुग्ने बाटोमा हिँड़्न त्यति सजिलो थिएन।

आफ्नो सङ्घर्षका कथाहरूलाई सुस्तरी बिर्सन खोजिरहेका युवा पौरखी कुणाल सिँह भन्छन्, मुम्बईमा कानुन एकदमै कठोर छ। सानुभन्दा सानु बेपार लाइसिन झिक्न पनि गारो छ। फायर लाइसिन, हेल्थ लाइसिन, फुड एन्ड ड्रग लाइसिन इत्यादि कागतपत्र तयार गर्नमा धेरै समय नष्ट हुन्छ अनि आर्थिक रुपले पनि कठिनाइ पर्छ। तर आफुले केही गर्ने अठोट गरेको छ भने र त्यसमा इमानदारी र गम्भीरता छ भने कुनै पनि काम फत्ते गर्नसकिन्छ। हाम्रा युवाहरू यसरी नै बेपारको दिशामा पनि अघि आउनुपर्छ।

मोमोलाई बजारको फुटपाथमा बिक्री गर्ने पानीपुरीजस्तै बनाइसकेका छौँ आज हामीले। यो कुरा एकदमै राम्रो होइन। मोमोको जुन स्तर छ आज त्यो गैर-पहाड़ी बेपारीहरूले तल झारेर फुच्काजस्तै बनाएका छन्। उनीहरूले बनाएको मोमो र हामी पारङ्गतहरूले बनाएको मोमोमा आकास-पातालको भिन्नता हुन्छ। खै कबाबलाई यसरी फुटपाथमा बिक्री गर्दैनन् त?

किनभने त्यसको आफ्नै इज्जद र स्तर छ। यस्तै बजारे मोमो र स्तरीय मोमोमा रहेको भेद हामीले ग्राहकहरूलाई बुझाउनसक्नुपर्छ। क्वालिटी मेन्टेन गरेर बेपार गर्नसक्यौँ भने हाम्रो क्षमताअनुसार हामी धेरै काम गर्नसक्छौँ भन्दै कुणाल हालमा उनको रेस्त्राँका पकवानहरू जोमाटो, स्विगी, उबेरक्यास, फुड पान्डा जस्ता अनलाइन साइटहरूमार्फत् पनि पाउन सुरू भइसकेको जानकारी दिन्छन्। यसरी आफ्नो जातीय पहिचान बोकेको खाद्य परिकारहरूको कम्पनीको आधिकारिक नाउँ पनि उनले राखेका छन् ढाकाचोली हस्पिटालिटिज एलएलपी।

कुणालको हँसिलो अनुहार अनि मृदुभाषी व्यवहारले नै पनि उनको बेपारलाई सहयोग पुऱ्याइरहेको प्रतीत हुँदछ। नेपालीभाषी गोर्खाहरू जुनै ठाउँमा पुगे पनि आफ्नो परिश्रम र लगन अनि इमानदारीले नै सबैको मन जित्न सक्षम बन्दछन्। यस्तै एक ज्वलन्त उदाहरण बनेका छन् कुणाल सिँह। गोर्खा खानपानका सामग्रीहरूलाई उनले यसरी नै अन्य समुदायसमक्ष परिचित गराइरहन सफल बनून् अनि उनको बेपारधन्दा दिन गुणा रात चार गुणा फिँजिँदै कलकत्ता र मुम्बई मात्र होइन सारा भारतमा झरियोस् भन्ने शुभकामना छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares