बटरफ्लाई डिस्कोर्स र फरक जुनीको जोखिम

नयाँ किताब

 शैलीका छेत्री, दार्जीलिङ।


जीवन अर्थात बटरफ्लाई

जीवन अन्तत सागर बीचमा बनेको रहस्यमय टापुजस्तो हो। टापुमा जीवनका उतार-चढ़ावका विविध छालहरू उर्लन्छन्। हरेक छाल सङ्घर्षका स्ट्रोकजस्तो हो।  कुनै टापु उजाड हुनुपनि सक्छ, बालुवाको थाकमात्रै। कुनै टापुको जमीनलाई फुटाएर कुनै घाँस उम्रियो भने मानौं त्यो चेतना हो। जहाँ चेतना हुन्छ, त्यही जीवनको हरियो हो। चेतना छैन, जीवनको रङ छैन।

रङको अर्थ जीवनमा कति छ, त्यो सचेतले थाहा पाउने कुरा हो। तर जहाँ चेतना छ, त्यहाँ हरियोपरियो छ, जीवनको नियम छ, समाज छ, प्रशासन, संविधान, लडाईं र सङ्घर्ष छ। बीज छ, कोपिला छ, फूल छ, फल छ। अर्थात संसारको जीवनचक्र छ। जीवनको चक्र रङहरूकै संयोजन हो। त्यो संयोजन कस्तो हुन्छ भनेर कसैलाई हेर्न मन लाग्यो भने ‘लाइफ : अ बटरफ्लाई’  पढे हुन्छ।

मान्छेले जे देख्छ, त्यसको माध्यम आँखा नामक इन्द्रिय हो। आँखा भनेको भाषा पनि हो। भाषा त्यसैको हुन्छ, जोसित कथा हुन्छ। कथाले बाहिर निस्कन भाषालाई बाटो बनाउँछ। आँखाबाट नै हामी मनसम्म पुग्न सक्छौं। यो हिँडाई जति प्राकृतिक हो उति वैज्ञानिक पनि हो। आँखा भनेको बाहिरको संसार, मन भनेको भित्रको संसार। बाहिरीभित्री दुवै संसारको कथा पढ्न कसैलाई मन लाग्यो भने पनि ‘लाइफ : अ बटरफ्लाई’  पढे हुन्छ।

छाल आँखा र मन दुवैमा छल्किन्छ। यसको अर्थ जीवनको आआफ्नै लय हुन्छ। आँखा जत्तिकै चञ्चल हुनसक्छ जीवन र आँखै जत्तिकै मलिन पनि। मन जत्तिकै शान्त हुनसक्छ जीवन र मनजत्तिकै असंयमित पनि। मनोज बोगटीले सांसारिक र मानिसक दुवै जीवनलाई एउटा बिन्दुमा जोडेर कलाको नयाँ फाटक खोलेको चाल नपाउनेहरू ‘गुड रिडर’ होइनन्।

‘लाइफ: अ बटरफ्लाई’, आख्यानकार मनोज बोगटीको भाषा खेल, कलाखेल र कथाखेल गर्ने मलिलो ठाउँ हो। जहाँ उभिएर कथाकारले जीवनका रङहरूबारे कथा बोल्न शुरु गर्छन् र जीवनकै रङहरूबारे कथा अन्त्य गर्छन्। अर्थात एउटा वृत्तजस्तोमा घोलिएका रङहरूले आफूआफूमा घुलिएर अर्कैअर्कै रङहरूको डिजाइन गर्दै जान्छ, स्वतस्फुर्त। अर्थात नयाँ रङको खोज मनोज बोगटीको बौद्धिक क्षेत्र हो।

बटरफ्लाई मेटामोर्फ

आस्कर वाइल्डले मेटामोर्फलाई साहित्यमा सर्वस्व ठाने। कथामा मेटामोर्फलाई जीवनको रहस्य मानिलिन सकिन्छ। रूपवादले कथा,कवितामा प्राण दिन्छ। त्यसबेला कथा वा कविता भन्न राखिएको शब्द केवल शब्द नरहेर, यसमा विद्यमान छन्द, लय अनि तुक केवल कथा, कविताको बाह्य शरीरको अङ्ग मात्र नभएर काव्यलाई आत्मा दिने अभिव्यञ्जक बनिसकेको हुन्छ।

रूपवादी कथा एक कल्पनाश्रित, विस्तीर्ण तथा गद्यात्मक आख्यान हो। जहाँ एक कथानकको माध्यमबाट जीवनलाई प्रतिनिधित्व गर्ने पात्र तथा पात्रको क्रियाकलापको चित्रण हुन्छ।  ज्याक्री एन. जीचले ‘ए लिङ्ग्विस्टिक गाइड टू इङ्गलिश पोयट्री’-मा मेटामोर्फको शक्तिबारे बोलेका छन्, त्यस्तै ‘लाइफ: अ बटरफ्लाई’-मा मनोजले।

मेटामोर्फले कथाको शैलीविज्ञान, रचनाशास्त्र व विषय-वस्तुलाई पाठक समक्ष रूचिकर व मनन् योग्य बनाउँछ। बोगटीले त्यसमा थप मार्क्सको प्रतिबिम्बन सिद्धान्त वा रिफ्लेक्शन थ्यौरीपनि गाँसेका छन्।

वास्तवमा प्रयोगहरूको घर हो ‘लाइफ: अ बटरफ्लाई’।

लाइफ : अ बटरफ्लाई’-मा कथा

बायोलोजिकल दुनियाँमा बटरफ्लाईले प्रजनन क्रीड़ापछि बोटका हरिया पत्तामा अण्डा दिने गर्छ। र कति समय बितेपछि अण्डाहरू परिपक्व बनेर फुट्छन्। त्यहाँबाट लार्भा (क्याटरपिलर) निस्कन्छ। यो चरणको जीवन चक्रमा लार्भाले केवल लगातार बोटका हरिया पत्ताहरू खाइरहन्छ। यसरी पत्ता खाएर बढ़ेको क्याटरपिलरको एक्सोस्केलेटन समयसित फैलिँदै जान्छ अनि वयस्क बन्दै क्याटरपिलरले आफूलाई प्युपाभित्र बन्द गर्छ।

प्युपाभित्र बन्द भएको क्याटरपिलरलाई ‘क्रिस्लिस’ भनिन्छ। क्रिस्लिसभित्र क्याटरपिलरको लगातार कायापलट हुँदै, यसले आफ्नो पुरानो एक्सोस्केलेटनलाई प्रत्येक कायापलटमा फ्याँक्ने गर्छ। यसरी आठ पल्टको उल्लेखनीय परिवर्तनबाट, क्याटरपिलर अत्यन्त सुन्दर बटरफ्लाईमा परिणत हुन्छ।

मनोजले पनि आठपल्ट जीवनका कायापलटहरूको कथा भनेका छन्।

क्याटरपिलरदेखि पुतलीसम्म र सङ्घर्षदेखि जीवनसम्मको  यो आठ जुनी मात्रले पनि मनोज दार्शनिक कथाकार बन्न सक्षम छन्। सभ्यता, माइन्डस्टेट, हतार, एक्लोपन, मूल्य, प्रेम, यौन, सत्ता, यान्त्रिकी,  भर्चुवल यथार्थ अर्थात यस्तै एकमुठा जुनीहरूको इफेक्टबाट मनोजले पुरानो समाजको, पुरानो कथाको ‘क्रिस्लिस’-लाई तोडेका छन्।

कथाले आफैमा अनेकौं कथाहरूको ‘क्रिस्लिस’ बोकेको छ। र प्रत्येक ‘क्रिस्लिस’ कथाबाट फुत्त निकालेर सुन्दर नौलो कथा बुझाउने यत्न छ।

पुतली उड्नु पाठकको निम्ति कथा पठनको रोमाञ्च पनि हो। शैली र भाषाले आस्वादनमा दिने नयाँ फिल पनि हो।  वास्तवमा आख्यानकार मनोजका कथा  मानव जीवन चक्रसित मिल्ने यथार्थका सतहहरू कथाहरू हुन्। ‘लाइफ: अ बटरफ्लाई’ एउटा यस्तो कथामा परिणत भयो, जुन कथालाई आफ्नै ढङ्मा सोच्न पाठक बाध्य पर्नेछन्। कथाहरू पढिसकेर फेरि पढ्न पनि बाध्य पर्नेछन्।

असचेत पाठक पुतलीको पखेटाको रङ नचिन्ने रतन्धो लागेका लार्भा हुन्। ‘लाइफ: अ बटरफ्लाई’-ले ‘रियल पाठक’-को डिमान्ड गर्छ।

‘लाइफ: अ बटरफ्लाई’  पढ्दा पाठकले आफ्नै प्रकारका विभिन्न सम्भावना र प्रकर्ष कथ्नुपर्छ।  जस्तो बालकृष्ण समको ‘फुकेको बन्धन’ कथा सानो छ, तर पाठकले विभिन्न सम्भावनाको धारा सहधारा-प्रवान्ति गरेर सागर भर्नसक्ने मौका पनि त्यहाँ छ।

जुन धर्मको प्रविष्टि नै नेपाली कथाजगत्मा आधुनिक धाराको प्रविष्टि हो। ‘फुकेको बन्धन’ कथाले खनेको सानो बाटोलाई मनोजले हाइवे बनाएका हुन्। तर ‘लाइफ: अ बटरफ्लाई’ जटिल काँडाघारी पनि होइन। पाठकको पठन जोखिमको सन्दर्भमा मात्र यति भनिएको हो।

दिनोदिन विकसित मस्तिष्कलाई प्राधान्य दिने अनि त्यो विकसित मस्तिष्कमा जागेको बौद्धिकताको भोक मेट्नसक्ने सबल कथा नै उत्तरआधुनिक कथा हो।  त्यसको उदाहरण आख्यानकार मनोज बोगटीको ‘लाइफ: अ बटरफ्लाई’ पनि हो।

अत्यन्त नौलोपनसित कवि मनोज बोगटी आख्यानकार बनेका छन्। कथामा सेक्स सम्बन्धबाट पाइने शारीरिक तृप्तिको भोकबाट लुटिएको प्रेमको पनि कथा छ। जुली अनि जेनितको अस्वीकृत सेक्सले उब्जाएको समस्या अनि हत्याको कथा पनि छ। तर, यस्तो कथा अचेल नौलो रहेन। नेपाली कथामा भर्खर छिर्दै गरेको यो खाले विषय नेपाली समाजमा निक्कै पुरानो भइसकेको विषय पनि हो।

नयाँ भनेको हेर्ने, लेख्ने र पढाउने स्टाइल हो मनोजको। कथा जताततै कुनै योजनाबिना गाँठो परेको धागो जस्तो कदापी छैन। तर मूल्य र त्यसको प्रतिनिधि माझमा बढो कुशलतापूर्वक भेदक रेखा खिच्नमा समर्थ छ। कुनै विशेष यौनवादी आधारमा यो कथा उभिएको छैन। कुनै विशेष यौनवादको स्पर्शमा मात्रै आफै उध्रिएर सर्वाङ्ग खुल्ला बन्ने कथा आख्यानकार मनोज बोगटीका कथामा छैन।

फ्रायड भन्छन्- ‘पुरूष निश्‍चित रूपमा वासनात्मक वृत्तिको पुञ्ज हो। पुरूषलाई प्रत्यक्ष सेक्स सन्तुष्टि नभएकोले नै उसले स्त्री बिम्बलाई सेक्स परितुष्टिको निम्ति जस्तै हालतमा पनि प्रयोग गरेको हुन्छ।’

शिशुले दुग्धपान गर्ने समय अर्थात् आमाको स्तन प्रथमपल्ट स्पर्श गर्दादेखि नै उसमा यौन विकसित भएको हुन्छ। तर एउटा पुरूषमा जब स्त्री सङ्गति तथा आफू स्त्री बन्ने रहर जाग्छ  वा पुरूषको शरीरभित्र कैदी बनेको स्त्रीमा (पुरूषमा) जब हारमोनल कारणले स्तन विकसित हुन्छ र उसको शारीरिक बनावट तथा मानसिकतामा पनि जब स्त्री बिम्ब हुर्कन थाल्छ, तब यस्ता प्राणीमाथि पनि  पुरूषले किन यौनको उन्मादित दृष्टि लगाउँछ?

के स्त्री बिम्ब भन्दैमा यौन परितुष्टि हो? यस्ता जटिल प्रश्‍नहरूसित उभिएका छन् आख्यानकार मनोज बोगटीका कथा ‘स्तन’।  एन्जोको स्त्री शारिरको पीड़ादायक यात्राको मार्मिक बयान यसमा छ।

फ्रायडले मानव मनमा सेक्सबाट उब्जेको दमित इच्छाले व्यक्तिमा कुण्ठाको रूप लिनेबारे भनेका छन्। यही दमित इच्छा वा कामेच्छाको प्रकटीकरणले पुरूष आक्रात्मक पशु बन्ने गर्छ।

यस्तो निरन्तर दमन गरिएको सेक्स चाहको परिणामस्वरूप, कामात्मक इच्छा मानव अवचेतन मनसम्म पुग्छ र मानवले कामात्मक इच्छा तुष्टि गराउने सम्भवत: मार्ग खोज्ने सङ्घर्ष गरिरहन्छ।

र नै मानव हिंस्रक पशु जन्मिन्छ।  जसले केवल दमनको भाषा मात्रै बोल्छ। यस्तै दमन कथासित भेटिन्छ आख्यानकारको कथा ‘टाइल्समा नाङ्गो पशु’। समाजको त्यो अवैध, गैरकानूनी, असामाजिक सम्बन्धमाथिको समाजकै कुरूपता छ कथामा।

पशु वृत्तिमा स्त्रीको भोको यौनको चाहासितै ‘ऐतिहासिक रिभेन्ज’ पनि छ। छुट्टै राज्य गोर्खाल्याण्ड र पश्चिम बङ्गालमा नेपाली भाषीलाई हेर्ने मूलधारको दृष्टिकोणसमेत छ।

अहिलेको अल्ट्रामर्डन सोसाइटीमा  ‘मेल एस्कट’-को माग धनाढ्य स्त्री समाजमा आयोजित हुने किटी पार्टीतिर बढ़ेर गएको छ। यसरी अल्ट्रामर्डन समाजका सामाजिक स्त्रीमाझ पर-पुरूषको भोग चाहको खुल्लापनले ‘मेल एस्कट’-को व्यवसाय प्रतिदिन बढ़ेर गएको छ।

तर, यस्ता व्यवसायका आड़मा कतिपय मिडल क्लासका वा वर्किङ क्लासका वा मजदूरहरू स्त्री मालिकको यौन उत्पीड़नबाट पनि प्रभावित बनेका छन्। त्यो बुझ्न पनि ‘लाइफ: अ बटरफ्लाई’ पढे भयो।

कथाकारको बोल्ड व्याख्यानले फेमिनिज्मका जटिल सिद्धान्तहरूलाईसमेत च्यालेञ्ज गरेको छ। वास्तवमा,  पुरुष स्त्रीबाटै, पुरूषहरू पुरुषबाटै, स्त्रीहरू स्त्रीबाटै पनि शोषित बन्छन् भन्ने कुरा मनोज बोगटीको कथाले भन्छ।

दक्षिण भारतका द्रविडलाई पराजित गरेर आर्यले समग्र आर्य भूमिको विस्तार गर्दै भारतलाई आर्य-विजय-अभियान-सरितामा डुबाउँदै यहाँ संस्कारको मोती आर्जन गरेको हो। त्यस्तरी भारतीय सभ्यता आर्य मूल्यको वैदिक शिक्षा प्रणालीमा प्रख्यात बन्यो।  तर अहिले भारत देशमा पनि अल्ट्रामर्डन समाजमा बगेको परिवर्तनको हावा जस्तै फोर्सले मानव सभ्यतालाई जराबाटै बद्लाएको छ।

यहाँको पवित्र भूमिमा प्रेमको नाममा शारीरिक शोषण, समलैङ्गिक विवाह, समलैङ्गिक सेक्स जस्ता कुराहरू व्यापक बन्न पुगेको छ। मनोज बोगटीले यसैको छाया पछ्याएका छन्। रिसर्च वर्कलाई आख्यानिकरण गरेर बजार बनाइरहेका आख्यान युगमा मनोजले सबैलाई अर्कैबाटो हिँडाएका छन्। उनको यो नाङ्गो आख्यान प्रक्षेपलाई सबैले हतपत्त पत्याउन गाह्रो छ। ज्ञान दुई थरीको छ, समाजले दिने ज्ञान र समाजलाई दिइने ज्ञान। मनोज समाजलाई दिने ज्ञानतिरका हुन्। अनि त्यो सियो जत्तिकै तिखो र नाङ्गो छ।

कथाकार भन्छन्, ‘सबै मानिस नाङ्गो त्यतिखेरै हुन्छन् जतिखेर उसलाई प्रकृति हुन मन लाग्छ। कुनै आवरणहीन। कुनै कपटहीन। कुनै बाधाहीन। छलछामहीन। सुवोध र निर्दोष। त्यसैकारण त भनिएको हो, नाङ्गोपन आफैमा बेहद सुन्दर कला हो।’

लाइफ: अ बटरफ्लाई’-को विचार

आधुनिक मनोविश्‍लेषणमा बटरफ्लाईलाई पुनर्जन्मको प्रतीक मानेको पाइन्छ। उड्दै गरेको पुतलीले मानिसको आन्तरिक उर्जालाई व्यक्त गर्छ। मानव आत्माको विविध तरङ्गहरूतर्फ सङ्केत गर्छ। चीनी संस्कृतिमा बटरफ्लाई ‘कामदेव’-का सङ्केत वाहक हुन्। बटरफ्लाई युवा प्रेमी हुन्।  जो पुष्पको रस पिउने ताकमा हुन्छ। फेङ्ग शुईमा खुशी अनि आनन्द पाउन बेडरूमको भित्ताभरि जोड़ी बटरफ्लाई बनाएर वैवाहिक जीवनको रोमान्सको नयाँ ऊर्जा प्रवाह गर्ने मान्यता पनि चलिआएको छ।

‘लाइफ: अ बटरफ्लाई’-का कथा पात्र मिसुजाले पनि आफ्नो जीवनलाई पछ्याउँदै जाँदा किताब लेखिन्, किताबको नाम राखिन् ‘लाइफ: अ बटरफ्लाई’। कथाकार मनोज बोगटीले पनि अल्ट्रामर्डन सोसाइटीका कुरूप पक्ष समाज समक्ष राख्न अत्यन्त फेमिनिस्ट नाम ‘लाइफ: अ बटरफ्लाई’ चयन गरेका हुन्।

‘पुतलीलाई नै हेर, यो कति रङ्गीन छ। तिम्रो हिमालका फेदको चियाका हरिया बुटाहरू बीच-बीचमा रातै फुलेका शिरीषका रूखहरू, मास्तिर ढल्किरहेको हिमाल त पुतलीको एउटै पखेटामा अङ्कित हुन्छ। संसारका सबभन्दा सुन्दर चित्रकला हेर्न मन लाग्यो भने पुतली हेर्दा हुन्छ,’ मिसुजा संवाद छ।

किताबको दर्शन पछ्याउनेले यो मिसुजा संवादबाटै केही सङ्केत त पाए होलान् नै।

र अन्त्यमा मनोज बोगटी

कवि राजा पुनियानीले भनेजस्तो आख्यानकार मनोज बोगटी एकै ठाउँ पोखरी जस्तो स्थिर जम्दैनन्। बरू निरन्तर परिवर्तन बोकेर बगिरहन्छन्। फरक छ, मनोज-विचार, फरक छ मनोज-शैली, फरक छ मनोज-दृष्टि, फरक छ मनोज-बिम्ब।

त्यो फरकपन उनका 6 वटै कविता सङ्ग्रहमा पनि छ। विम्बगोष्टी, घाउका रङहरूमा दोहोरिएन। गीतको रिस पसिनाको छालामा दोहोरिएन, आँखा बाहिर काफरे अमेरिकामा दोहोरिएन। यसरी फरक हिँड्नु मनोजको खास विशेषता हो। कथामा पनि सारा कथा परम्परालाई उल्टाएर नयाँ फर्म र कन्टेन्ट, शिल्प र भाषामा कथा लेखनको नयाँ बाटो खने र लेखे- ‘लाइफ: अ बटरफ्लाई’ ।

उनी बलियो प्रवाहसित बग्ने खोला हुन्। जसरी खोलाको पानी रसायन विज्ञानको सिद्धान्तले हाइड्रोजन अनि अक्सिजनको समयोजित सम्मिश्रणबाट H2O (पानी) बन्ने गर्छ। त्यसरी नै कवि पक्षको प्रभावशाली हाइड्रोजन पनि प्रयोगशाली आख्याकारको अक्सिजनको उर्बरक तालमेलबाट जन्मेको पानी  मनोज बोगटी हुन्।

सर्जक मनोज पनि कथा ‘लाइफ: अ बटरफ्लाई’-का बटरफ्लाई जस्तो चञ्चल छन्। कवि,आख्यानकार तादात्म्य एउटै वस्तुगत साहित्यिक विधाको ‘फूल’मा बसेर, त्यो फूलको (विधा) ‘क्यालेस’ (बाहिरी रूप) ‘कोरोला’ (विषय वस्तु) ‘एन्ड्रोसिय’ (शैली विधान) अनि ‘गाइनोसियम’ (भाषा विधान)-का व्यापक कुरामा समय बिताउँदैनन्।

बरू बटरफ्लाई जस्तो गरि नूतन फूलको (साहित्यिक विधा) प्रकारलाई चारैतिर नेपाली समाजभरि पोलिनेट गर्ने प्रयास गरिरहन्छन्। ‘लाइफ: अ बटरफ्लाई’-का आख्यानकार मनोज बोगटीको प्रेम पात्र मिसेस बुद्ध, निकिता, च्याङ्बा, मिसुजा, सुनिता, जुलीले फरक प्रेमको फ्यान्टासीबाट स्वतन्त्र प्रेम खोजिरहेका छन्।

तर, आख्याकारले बुनेको प्रत्येक कथामा कुन्नि किन प्रत्येक पात्रहरू प्रेम चाहमा अपेक्षाकृत देखिन्छन्। पात्रहरू प्रेम प्राप्तिको निम्ति नयाँपन खोज्दै अप्ठ्यारो बाटोतिर सङ्घर्षरत भेटिन्छन्। उनीहरू एक्लोपन भोगिरहेका छन्। किन?

यस्तो लाग्छ, मनोज बोगटी आफै पनि प्रश्‍नहरूले निर्मित कथाका पात्र हुन्। कतै न कतैबाट कथाकार आफै पनि कथाहरूमा घुसेकै छन्। छन् कि छैनन्? कसैलाई पनि उनलाई  भुइँमा उभाएर हजारौं प्रश्‍न गर्ने मन हुनसक्छ।  सम्भवत: लेखक भएपछि सधैँ नै कैयौं प्रश्‍न खप्नुपर्दो हो।

उनीसित स्वतन्त्र बन्ने मौका छैन। प्रश्नहरूबाट कति टाडो भाग्न सक्छन् सर्जक? प्रश्‍नहरूको प्रहारमा बाँच्न कठिन छ  तरै पनि लेखक भएपछि उनले प्रश्‍नहरूको संसारमा बाँच्नुपर्दो हो।  प्रश्‍नहरूको जञ्जालमा पर्दै, खप्दै, उनले आफूप्रति नै शोषण गर्ने मौका समाजलाई दिइरहनु पर्दो हो। पत्रकारिता होस्, कविता होस्, सामाजिक सञ्जाल होस्, गोष्ठी होस्, भेटघाट होस्, बहस होस् मनोज बोगटीले आफूलाई फरक नै उभ्याएका छन्।

खासमा समाजले दिने लयमा नहिँडेर समाजलाई लय दिनेहरू नै त फरक हुन्छन्। र नै उनीहरूमाथि प्रश्न गरिन्छ। र हजारौं प्रश्नहरूले बनिन्छ। मनोज बोगटी त्यसरी नै बनेका छन्।

बोगटीको यो फरकपन, व्यक्तिमा पनि छ, कृतिमा पनि।

‘म छु नै फरक। खासमा फरक बाँच्नु जोखिमको काम हो। अनफिट काम। मलाई यस्तै जोखिमको काम मन पर्थ्यो। फरक।’

उनको पात्र मार्फत मनोज बोगटी आफै बोलेका छन्।


 लाइफ : अ बटरफ्लाई

कथाकार :  मनोज बोगटी

प्रकाशक : सङ्ग्रिला बुक्स नेपाल-भारत

पृष्ट : १२३

मूल्य : ने.रू २५०/- भ.रू. २००/-

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares