अनिलहरूको रोङ्गो र बटरफ्लाई ह्याङओभर

 स्मृतिस्केच

रवि रोदन, जोरथाङ


रोङ्गो, यो नाम सुनेको हो तर पुगेको थिइन। भुटानको सिमानासित टाँसिएको यो ठाउँ। कालेबुङकै एउटा भाग रहेछ। प्राकृतिक, सौन्दर्यको खानी। पहाड़को थुम्का थुम्कामा बसेको रमाइलो घमाइलो गाउँ।

पत्रकार अनिल तेलैजा कालेबुङमा पत्रकारिता गर्दादेखि नै हाम्रो परिचय र मित्रता भएको हो। चार बर्ष जति पत्रकारिता गरेर त्यसबाट निस्केर यिनी आफ्नै गाउँ रोङ्गो पुगे। आफ्नो श्रीमति सुमनसित व्हाइट हाउस होम स्टे चलाइरहेका छन्।

मनोज बोगटीले निकालेका सबै किताबहरूको विमोचन कालेबुङ वरिपरि भयो।

अनिल र मनोज लङ्गोटिया यार। बाल्यकालदेखि अहिलेसम्मको तीस वर्षसँगै बिताएको।

दलगाउँ, गैरीबास, रोङ्गोकै काखमा यी दुईले आफ्नो धेरै समय सँगसँगै बिताएका हुन्। आफ्नै गाउँको सर्जक मनोज। उनको आउने कथा सङ्ग्रहको लोकार्पण आफ्नै गाउँमा गर्नुपर्छ भन्ने सरसल्लाह मिलाए अनिल र उनका साथीहरूले।

त्यसपछि धमाधम कार्यक्रमको तयारी शुरू भयो।

अनिलले छ्यास्स इन्बक्स गरेर मलाई निम्तो गरे। पाँच तारिक मनोजको किताबको लोकार्पण- बटरफ्लाई नाइट विथ पुष्पण र अन्तरक्रिया कार्यक्रम।

मनोजको गाउँ रोङ्गो पुग्ने हुटहुटी हुनथाल्यो। फेसबुकतिर काठमाणडौंतिर मणि  शर्माहरूले मनोजको किताबलाई लिएर गरेको कार्यक्रम देख्दा नै म एक्साइटेड थिएँ।

लाइफ अ बटरफ्लाई छुने रहर पालिसकेको थिएँ। अनिलले रात्रीको कार्यक्रममा टाड़ोबाट आउनेहरूलाई होमस्टेमा खाने बस्ने बन्दोबस्त गरेको कुराहरू जनाएका थिए। जोरथाङबाट एक दुई बन्धुलाई भनें तर उनीहरू नभ्याउने भए। कवि तारमीतलाई वाट्सएप गरें। निकै टाड़ो स्कुल र डिलेड (शिक्षक तालिम) ले गर्दा जान नसक्ने कुरा बताइन्।

म एक्लै भए पनि रोङ्गो त पुग्ने हो, भनी ठानें। अर्को दिन तारमीतको कल आयो। उनी जाने भइन्।

हामी पाँच तारिक बिहानै निसक्ने भयौं। स्कुलको छुट्टी थिएन। वर्षमा आठ दिन पाउने क्याजुएल विदामा यो तेस्रो विदाको अर्जी लेखेर म रोङ्गो जाने भएँ।

पाँच तारिक शनिवार बिहानै म तैयार भएर जोरथाङसम्म पुगेर बहिनी तारमीतलाई लिएर बाघपुल र त्यसपछिको यात्रा गर्ने तयारीम लागें।

तारमीतको कल आयो। ‘सिलिगढी जाने गाड़ीमा दुईवटा सिट लिएर आउँदैछु, जूम फाटकमा गाड़ी पर्खनुहोस्,’ उनले भनिन। म फाटकबाट चढें। हामी सिधै सिलगढीको गाड़ीमा लाग्यौं।

अनिल र मनोजले रोङ्गो पुग्ने बाटोको निर्देश दिएका थिए। म घरिघरि मोबाइल निकालेर बाघपुलमा ओर्लेपछि कहाँ कहाँबाट अन्य गाड़ी समातेर जानेबारे हेर्दै थिएँ।

नौलो ठाउँ, हामी दुवै दाजु बहिनीको निम्ति। ड्राइभर भाइले बोलेरै बाटो कटाए। देन्ताम सिलगढी सर्भीसको ड्राईभर गफाड़ी। बाटोभरि हामी उनलाई सुन्दै गयौं। बाजा नबज्ने गाड़ी, उनलाई झेल्दै र हाँस्दै पुग्यौं हामी बाघपुलसम्म।

बाघपुलमा झर्नसाथ एउटा भ्यान भेट्यौं चाल्सासम्मको। त्यसमा बसेर हामी गफ्फिँदै गयौं। अनिलसित अनलाइन सम्पर्कमा थिएँ। हामी कहाँ कसरी आउँदैछन् भन्ने कुराहरूको जानकारी उनी लिइरहेका थिए।

अघिल्लो रात मनोजले स्टेटस लेखे- ‘धेरै आउने साथी भाइहरूले आफ्नो वचन तोड़ने रहेछन्।’

दुःखी भएको ठाने मैले मनोजलाई। साथी भाइहरू कम्ती भेला हुने कुराले मनोज खिन्न भएको सम्झें। जे होस् हामी त मनोजकोमा पुग्नैपर्छ भन्ने कुरा म साथीभाइहरूसित गरिरहेको थिएँ।

रोङ्गो पुग्ने एक्साइटमेन्ट थियो। लगभग दुई बजीतिर हामी रोङ्गो व्हाइट हाउसमा पुग्यौं।

बिहान हल्का फुल्का खाजा खाएर पुगेको। बाटोमा बहिनी सुमन हामीलाई लिन आइपुगिन्। बैठक कोठामा लगिन्। गायक भाइ पुष्पण त्यहाँ बसेर दिउँसोको खाजा लिइरहेका थिए। पानी पिएपछि हामीलाई खानाको निम्ति भान्साघरमा लगियो।

भोक लागेको म र तारमीतले लजाउँदै भएपनि मजाले खायौं।

अमीर सुनदासहरू अघिबाट आइपुगेका थिए। दिवाखाना पछि आराम गर्न खोजेको थिएँ थाकेकोले। अमीरले आराम गर्न दिएन। उसको नयाँ क्यामेरा बोकेर घुमाउन लग्यो। कार्यक्रम चार बजेदेखि शुरू हुनुथियो।

बाहिरपटि सुन्दर ढ़गमा मञ्च तैयार पारिएको थियो। कागजको थुप्रै बटरफ्लाई बनाएर रूख र मञ्चको निलो स्क्रीनमा टाँसिएको थियो। केटाहरू डराइरहेका थिए पानी पर्छ कि भनेर। छिटपुट पानी पनि पर्दै थियो।

बेलुकी साँढे चारदेखि कार्यक्रम शुरू हुनु थियो।

अमीर म अनि विपल घले भाइ त्यही गाउँको वरिपरि घुम्दै फोटो खिच्न लाग्यौं। समय यसरी घुम्दै र बात मार्दै बित्यो।

मनोरम गाउँ। प्राकृतिक सौन्दर्य र हरियाली छाएको रमाइलो र घमाइलो गाउँ रोङ्गोबाट देखिने चारैतिरको दृश्यले मनलाई आकार्षित गऱ्यो। टाड़ा नजीकबाट निम्त्याइएका पाहुनाहरूको आउने चहलपहल शुरू भइसकेको थियो।

मञ्च अघि राखिएको राता कुर्सीहरूमा श्रोताहरू बस्न लागेका थिए। समय आइपुग्यो कार्यक्रम शुरू गर्ने।

अनिलले मञ्चमा उभिएर सञ्चालन गर्न लागे कार्यक्रम।

कार्यक्रमलाई रोङ्गोमा नै किन गर्ने भनि उनले बताए।

‘मनोज जन्मिएको गाउँ, गाउँले आफ्नै सर्जकको कदर र सम्मान गर्नु सुन्दर कुरा हुन्छ र त्यो रोङ्गोले भलिभाती जान्दछ,’ भने अनिलले।

सिन्कोना बगानको रूपमा रोङ्गोलाई चिने तापनि कतिलाई यो ठाउँ कालेबुङकै भागमा पर्ने कुरासमेत थाहा नभएको, सही ढङ्गमा यो गाउँमा विकास नभएको कुरा जनाउनलाई मनोजको सातौं किताबको लोकार्पण गरेको कुरा अनिलले बताए।

कालेबुङ छँदा पत्रकारिता गर्दा कसैको भोटर आधार र अन्य कार्ड बनाउनमा सहयोग गरे पनि आफुहरूलाई डुवर्सतिरका भाइहरू भन्दा दुःख लागेको कुरा गरे।

कार्यक्रममा हेर्दा हर्दै सिलगढी, दार्जीलिङ, कालेबुङ, खरसाङ, सुकेपोखरी, मिरिक, नेपाल, सिक्किमतिरबाट आएका सर्जकहरू बाक्लिँदै गयो।

त्यहाँ राखिएको कुर्सीहरू कम भयो र फेरि बन्दोबस्त मिलाए रोङ्गोका युवाहरूले।

केही कविहरूको कविता वाचनपछि मनोजले मञ्चमा आफ्नी आमा, काकी सुमित्रालाई निम्ताएर उनीहरूको बाहुलीबाट आफ्नो किताबको लोकार्पण गरे। आमा र काकीलाई लिएर आफ्नो कथा लेखनबारे मनोजले केही बताउँदै गर्दा भावुक पनि बने।

मरा संवादमा राजा पुनियानीले मनोजसित कथागफ गरे। अन्तरक्रिया गरे ।

त्यसपछि थियो नेपाली हिट सिङ्गर पुष्पण प्रधानको प्रसतुति। सिम्पल हलो गिटार र मादलमा पुष्पणले सबलाई नचाए।

उनले बाबुको जुङ्गोदेखि डम्पिङ ग्राउन्ड सुनाए। मनोजको गीत ए बुढ़ा बा यो त हाम्रो समय हो गाएर कार्यक्रमको गरिमा माथि पुराइदिए। यस कार्यक्रममा दार्जीलिङको लगभग सबै फ्लेबरको चिया पिलाउने बन्दोबस्त गोम्देन्स टीले मिलाएको थियो।

कार्यक्रम सकेपछि सबै कोठातिर भेला भयौं। कथा कविताको महफिल बन्दै गयो। खानापिनाको राम्रो बन्दोबस्त साथै सुत्ने कोठाहरूको पनि राम्रो चाँजोहरू मिलाइएको थियो। खाना खाए पश्चात फेरि पनि टाढ़ा नजीकका साथी भाइहरू भेला भएर रमाइलो ठट्टा गर्यौं।

त्यसपछि सुत्नलाई आ-आफनो कोठातिर लाग्यौं। बिहान छिटै उठेर घरतिर लाग्ने तर्खरमा थियौं। बिहान उठेर तयार भयौं तर गाड़ीको समस्या भयो। केही अबेर गरी पाइन्छ भने अनिलले। सूरज रोसुरी पनि त्यही गाउँका। उनले हामालाई आफ्नो गाउँ घुमाए। त्यसपछि खाजा खाएर हामी तलतिर चित्रकार रतन लामा र सङ्गीता दिदीकोतिर झऱ्यौं।

त्यहाँ चिया चमेनापछि दिदी सङ्गीताले गाड़ीको बन्दोबस्त मिलाइदिइन्। पानी पर्दै थियो। गाड़ी आइपुग्यो। गाड़ीमा दिदी सङ्गीता, स्याङ्बो जोजो, शरद राई, महेश राई, प्रदिप शेर्पा, पी.लक्की शेर्पा, तारमित लेप्चा, हनोक थापा, ओम खवास, प्रभात राई चिसो , बिनोद रसाइली, बबिता मादेन र रवि रोदन सबै चढ़े। सिलिगुड़ीसम्म गएर त्यहाँबाट गन्त्व्य पुग्ने गाड़ी पक्रनु थियो।

बाटोभरि साहित्यक गफ र रोङ्गोबारे चर्चा गर्दै गयौं। गाड़ीमा जोक्स गोष्ठी समेत नै भयो। रमाइलो यात्रा थियो।

बाटोमा एक ठाउँ झरेर सबैले चिया पियौं। दाजु शरदलाई बिल तिरायौं। यसरी रमाइलो गर्दै बाटो काटिएको थाहा नै भएन।

बाघपूल आयो, म अनि तारमीतलाई जोरथाङतिर लाग्नु थियो। त्यहाँ झरेर सबैबाट खल्लो मान्दै विदा माग्यौ।

सिलगढीबाट आउँदै गरेको एउटा जोरथाङको गाड़ी भेटाएर हामी दाजु बहिनी त्यस गाड़ीमा चढ्यौ। निकै थाकेका थियौं। गाड़ीमा सुत्दै पुग्यौं जोरथाङ। तारमीतलाई तीन बजेसम्म पुग्नु थियो जोरथाङ तर गाड़ीले हामीलाई चार बजे पुरायो।

बहिनीलाई दरामदिनको गाड़ीमा चढ़ाउनु थियो। मैले प्लाजासम्म लगें एउटै गाड़ी थिएन। मलाई पिर पर्दै थियो। बहिनीले कालेबुङ लागेको ज्वाइ सहाबलाई कल गरिन्। घर फर्कँदा त्यसमा जाने भएपछि म ढुक्क भएर जूमको गाड़ीमा चढ़ेँ। झन्डै छोड़ीसकेको त्यो गाड़ीले। बेलुकी छ बजे घरको दैलो टेकें भने तारमीत राती घर पुगिन्।

जोरथाङदेखि रोङ्गोको यात्रा रमाइलो भयो।

अनिल , सुमन, भक्ति, मनोज र रोङ्गोवासीहरूले हामीप्रति देखाएको असीम माया र सत्कारप्रति आभार व्यक्त गर्छु।

फेरि फेरि पनि यस्तै बहानामा रोङ्गो घुम्न आउने रहर पालेको छु।

अनिल र सुमनले मिलेर रोङ्गोमा व्हाइट हाउस होमस्टे चलाइरहेका छन। आफ्नो गाउँलाई प्रमोट गर्ने सुन्दर कुरा गरिरहेका छन्। बटरफ्लाई नाइटको ह्याङवोभर आएर नि कति दिन उत्रेन।

फेसबुकमा फोटा लाएर रोङ्गोसित हामी रमाइ रह्यौ। मनोजको बटरफ्लाई ह्याङवोभर सँधै सम्झना बनेर मनमा बसिरहने छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares