रोहिङ्गा घुसपैठको आरोप लगाउँदै सुमेटीले टाँस्यो पोस्टर : दार्जीलिङमा इनर लाइन पर्मिट शुरू गरिनुपर्ने माग

दार्जीलिङ 13 मई।


दार्जीलिङ पहाड़मा रोहिङ्गा शरणार्थीहरूलाई शरण दिइरहेको आरोप लगाउँदैन सुनकोश-मेची- टिस्टा मुक्ति मोर्चा (सुमेटी)-ले दार्जीलिङको चोकबजारमा पोस्टरिङ गरेको छ भने दार्जीलिङमा 1990 सालसम्म रहिआएको रेस्ट्रिक्टेड एरिया पर्मिट पुनः लागु गरिनुपर्ने माग पनि गरेको छ।

पोस्टरमा उल्लेख इनर लाइन पर्मिटको सन्दर्भमा सोध्दा सुमेटीका अध्यक्ष विकास राईले 1983 सालमा ब्रिटीस सरकारले दार्जीलिङ पहाड़मा रेस्ट्रिक्टेड एरिया  पर्मिट लागु गरेको उल्लेख गर्दै भने- दार्जीलिङ पहाड़मा 1983 सालमा ब्रिटिसले रेस्ट्रिक्टेड एरिया पर्मिट लागु गरेका थिए जसअन्तर्गत 1990 सालसम्म दार्जीलिङ जिल्लाभरिमा बाहिरका मानिसहरू आएर बस्दा दार्जीलिङका जिल्लाशासकले उनीहरूको दस्तावेजहरू जाँच गर्दथ्यो। तर 1990 सालमा पश्चिम बङ्गाल सरकारले उक्त नियम हटाइदिएकोले गर्दा दार्जीलिङ पहाड़मा अहिले
बाहिरबाट धेरै मानिसहरू आएर स्थायीरूपमा बसोबासो गरिरहेका छन्। फलस्वरूप हाम्रो ठाउँ अहिले हामीलाई नै साघुँरो भइरहेको छ। यसको हामी घोर विरोध गर्दछौं र दार्जीलिङ पहाड़मा फेरि इनर लाइन पर्मिट शुरू गरिनुपर्ने हामी माग गर्दछौं।

दार्जीलिङ पहाड़मा इनर लाइन पर्मिट लागु गर्नुपर्ने मागलाई सशक्त बनाउको निम्ति हालमा आफूहरूले पुख्ता दस्तावेजहरू सङ्कलन गरिरहेको जनाउँदै सम्पूर्ण आवश्यक दस्तावेजहरू सङ्कलित भइसकेपछि आफूहरू उक्त मागलाई लिएर व्यवहारिक आन्दोलनमा समेत अघि आउने सुमेटी अध्यक्ष विकास राईले जनाएका छन्।

यसबाहेक राज्य सरकारले रोहिङ्गा शरणार्थीहरूलाई नागरिकताको प्रमाणपत्रहरू हातमा थम्याएर दार्जीलिङ पहाड़मा शरण दिने षड़यन्त्र गरिरहेको पनि आरोप लगाएका छन्। दार्जीलिङ, तराई-डुवर्सक्षेत्रलाई बङ्गलादेश बनाउने कोशिष गरिरहेको आरोप लगाउँदै राईले आफूहरू उक्त षड़यन्त्रको विरोधमा रहेको जनाएका छन्।

दार्जीलिङमा  रोहिङ्गा शरणार्थीहरूको अनुप्रवेशको खबर अफवाहमात्रै हो भनी गत केही दिनअघिमात्रै जीटीए अध्यक्ष विनय तामाङले दिएको बयानको सन्दर्भमा राईले तामाङको उक्त भनाईमाथि आफूहरूलाई भन्नु केही नरहेको जनाउँदै दार्जीलिङका सांसद एसएस आहलुवालियाले समेत केन्द्र सरकारसित यस विषयमा पत्र लेखेको हुनाले यो तामाङको भनाइजस्तो हलुको नरहेको बताए। सासंद आहलुवालियाको यस विषयमा रिपोर्ट रहेको छ भने विभिन्न सामाजिक सञ्जालहरूमा पनि यो खबर अझै पनि भाइरल बनिरहेको छ। यसैले हामी यो विषयमा गम्भीर छौं, राईले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया