नगरपालिका चुनाउसित गोर्खाल्याण्डको सम्बन्ध छैनः गौतम देव

मोहन लामा, दार्जीलिङ, 11 मई।


गोजमुमोले यस चुनाउमा आफ्नो बोर्डले ५ वर्षको कार्यकालमा के-कस्तो विकासका कार्यहरु गर्‍यो, त्यसलाई मुद्दा बनाउन आवश्यक थियो|


एकपल्ट.. एकपल्ट.., तृणमूल काङ्ग्रेसलाई मौका दिनुहोस्, काम गर्न नसके ५ वर्षपछि हामीलाई हटाइ दिनुहोस्| आज राज्यका पर्यटन मन्त्री एवं तृणमूल काङ्ग्रेसका एक शीर्ष नेता गौतम देवले मीडियाअघि दार्जीलिङ पहाड़का जनतालाई यस्तै भाकामा अपील गरे| उनले राज्यको तृणमूल काङ्ग्रेस सरकारले दार्जीलिङ पहाड़मा धेरै विकासका कार्यहरु गरेको अनि अझै कैयौं विकासका योजनाहरु पाइप लाइनमा रहेको बताउँदै तृणमूल काङ्ग्रेसले नगरपालिका चुनाउमा जीत हासिल गरे पहाड़को नगरपालिका क्षेत्रको विकास राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको रूपमा गर्ने योजना बनाएको पनि बताए|

यसैले दार्जीलिङ पहाड़का जनताले एकपल्ट तृणमूल काङ्ग्रेसलाई मौका दिनुपर्छ| उनले दार्जीलिङलाई आफ्नो दोस्रो घर हो भन्ने बताउँदै राज्य सरकारले दार्जीलिङ पहाड़लाई धेरै माया गरेको पनि दावी गरे| यसैकारण तृणमूल काङ्ग्रेस नेत्री ममता व्यानर्जी राज्यकी मुख्यमन्त्री बनेपछि लगभग ७० पल्ट दार्जीलिङ पहाड़ आएको अनि कालेबुङलाई नयाँ जिल्ला, मिरिकलाई महकुमाको दर्जा, १५ वटा विकास बोर्डलाई लगभग ३०० करोड़ रूपियाँ दिएको पनि बताए| उनले दार्जीलिङमा चुनाउ प्रचार गर्दा जनताबाट असल प्रतिक्रिया प्राप्त भएको बताउँदै भने-हामीले होटलहरुका मालिकवर्ग, टूर एण्ड ट्राभल एजेन्सी, गाड़ी चालकहरुदेखि प्रत्येक सङ्घ-संस्था अनि साधारण जनतासित सम्पर्क गर्‍यौं| तर गोजमुमोले गोर्खाल्यान्डलाई जुन चुनावी मुद्दा बनाइरहेको छ, यो दुर्भाग्यपूर्ण हो|

यो चुनाउसित गोर्खाल्यान्ड राज्य गठनको कुनै सम्बन्ध छैन, तर गोजमुमोले गोर्खाल्यान्ड बनाम बङ्गालको नारा दिएर यो चुनाउ लड़िरहेको छ| गोजमुमोले यस चुनाउमा आफ्नो बोर्डले ५ वर्षको कार्यकालमा के-कस्तो विकासका कार्यहरु गर्‍यो, त्यसलाई मुद्दा बनाउन आवश्यक थियो| तर गोजमुमोको कार्यकालमा दार्जीलिङ पहाड़का चारैवटा नगरपालिका क्षेत्रमा कुनै ठोस विकासको कार्य भएन| झोड़ा-नाला, पानी, सड़क आदिको कुनै विकास भएन अनि अहिले चुनाउको समय गोजमुमोले भावनाको राजनीति गरेर फेरि भोट माग्ने कार्य गरिरहेको छ|

यसैबीच, मन्त्री देवले जनआन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले उत्तर बङ्गाल विकास बोर्डका उपाध्यक्ष पदबाट राजीनामा दिएको विषयलाई दुर्भाग्यपूर्ण हो भन्ने बताउँदै उनको डा. छेत्रीसित व्यक्तिगतरूपले असल सम्बन्ध रहेको पनि बताए| तृणमूल कंग्रेस नेता एवं मन्त्री इन्द्रनील सेनले विमल गुरूङहरु विरूद्ध दिएको बयान सम्बन्धमा प्रश्‍न गर्दा उनले भने-यसबारे मलाई भन्नु केही छैन| मैल जुन वक्तव्य दिनुछ, त्यसमाथि मात्रै ध्यान दिन्छु| यसैबीच, उनले भोलि तृणमूल कंग्रेसले यहॉंको चौकबजारको अन्तिम चुनावी जनसभा गर्ने चॉंजो मिलाएको बताउँदै यसमा गोरामुमोलाई पनि निमन्त्रणा गर्ने योजना बनाइएको छ भने|

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन