ध्रुव लोहागणको सम्मोहन

गान्तोक, 13 मई ।


सिक्किमबाट लामो समयदेखि नाटकको क्षेत्रमा काम गरिरहेका नाटककार ध्रुव लोहागणको नयाँ नाट्य कृति आज सार्वजनिक गरिएको छ। सिक्किम, दार्जीलिङ र सिलगढ़ीका साहित्यकारहरूबीच नाटककार ध्रुब लोहागणको नाट्यकृति ‘सम्मोहन’ सार्वजनिक गरियो। डेभलप्मेन्ट क्षेत्रस्थित नेपाली साहित्य परिषद (नेसाप) भवनमा आयोजित लोकार्पण कार्यक्रममा कथाकार सानु लामा मुख्य अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रम नेसाप अध्यक्ष रूद्ध पौड्यालको अध्यक्षतामा भएको थियो। प्रा. कृष्णराज घतानी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। नाटककार लोहागणको यो सातौं नाट्यकृति हो। लोहागणको नाट्यकृति र नाटककारितामाथि प्रा. घतानी र प्रा. सविता तामाङले प्रकाश पारे। यसबीच प्रा. घतानीले भने-नाटककार लोहागण आञ्चलिक विषयवस्तुलाई नाटकमा उतार्न सफल भएका छन्। ससना घटना र विषयलाई नाटकको कथावस्तु बनाएर पाठकसमक्ष पुऱ्याउन लोहागण सफल भएको उल्लेख घतानीले गरे।

भारतीय नाटकहरूका लहरमा सिक्किमबाट लोहागणले निकै राम्रो काम गरिरहेको विचार प्रा. घतानीले राखे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कथाकार सानु लामाले भने-नेपालपछि दार्जीलिङले नाटकको क्षेत्रमा जुन काम गरेको छ त्यो उल्लेखनीय छ। अब भारतीय नाटकको विकास गतिलाई अघि बढाउने दायित्व सिक्किम र असमले लिनुपर्ने समय आएको र लोहागणजस्ता नाटकहरू सक्रिय बन्नुपर्ने सुझाउ राखे।

कथाकार लामाले एकसमय भारतीय नेपाली नाटकको केन्द्रबिन्दु रहने दार्जीलिङको नाटक क्षेत्र आज आएर निकै प्रभावित भएको र पहिलाझै माहोल नभएको बताए। नाटककारहरूले आफ्नो क्षेत्रमा काम गरिरहेको अवस्थामा पाठक तथा दर्शकहरू पनि नाटकप्रति जागृत बन्नुपर्ने आह्वान गरे। कार्यक्रममा गोपाल ढकाल, कालूसिंह रनपहेंली, वीणाश्री खरेल, अर्जुन पियूष, ओम खवास, जीविका अश्रु र कृष्ण प्रधानले कविता वाचन गरेका थिए।

विमोचित नाटक सम्मोहनबारे बोल्दै नाटककार लोहागणले भने-नाटकप्रति दर्शकहरूका चासो घट्दै गए तापनि यस्तो चुनौतिपूर्ण स्थितिमा पाठक र प्रकाशकहरूको प्रेरणाले प्रेरित पारेको छ। कार्यक्रमको अर्को आकर्षण जीवन शर्माको गजल प्रस्तुति रहेको थियो। अध्यक्षीय सम्बोधनमा रूद्र पौड्यालले सिक्किमको नाट्यस्थितिबारे बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares