फर्किए अर्जुन राई

नाम्ची, 13 मई।


सत्तारूढ एसडीएफका एक सशक्त युवा नेता अर्जुन राई केही समयको राजनैतिक प्रवास पछि पुनः आफ्नै राजनैतिक घर फर्किएका छन्। दक्षिण सिक्किममा एक प्रभावशाली युवा नेताको रूपमा चिनिने अर्जुन राई वर्ष 2014 को चुनाउपछि गोर्खा जागरण सङ्गठनमा सामेल भएर सक्रिय रूपमा कार्यरत भएपछि उनलाई एसडीएफले निष्कासन गरेको थियो।

गोर्खा जागरण सङ्गठनदेखि राजनैतिक दल सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) गठन गर्नुमा उनले सक्रिय भूमिका निर्वाह गर्दै कार्यकारी अध्यक्ष बन्न पुगेका थिए। तर पछि उनले एसआरपीसित नाता तोड्दै एसडीएफबाट निष्कासित भएका पूर्व मन्त्री रणबहादुर सुब्बाको नजिकमा र सम्पर्कमा रहेका थिए।

गत पञ्चायत चुनाउमा अर्जुन राई रणबहादुर सुब्बा खेमाको पञ्चायत उम्मेद्वारहरू जिताउने कार्यमा लागिपरेका थिए। तर, उनको पूर्व मन्त्री सुब्बासित पनि लामो सम्बन्ध रहेन। यसैगरि उनी भाइचुङ भोटियाको नेतृत्वमा गठन भएको हाम्रो सिक्किम पार्टी सामेल हुने अडकल राजनैतिक माहोलमा चलिरहेको समय आज उनी अचानक सत्तारूढ एसडीएफमा फर्किएको थाहा लागेको छ।

आज पश्चिम सिक्किमको नयाँ बजार स्थित वन विभागका अतिथि गृहमा उनले वन विभागका मन्त्री छिरिङ वाग्दी लेप्चासित एक बैठक भएको मन्त्री लेप्चाले पुष्टि गरेका छन्। यस बैठकमा एसडीएफका अन्य दुइ बरिष्ठ नेता तथा पूर्व विधायकद्वय विनोद राई र मदन सिञ्चुरीको पनि उपस्थिति रहेको थियो।

मन्त्री लेप्चाबाट थाहा लागे अनुसार अर्जुन राईले आगामी 22 मईको दिन आधिकारीक रूपमा पुनः एसडीएफको झण्डा समाउनेछन्। उल्लेखनीय छ आगामी 22 मईको दिन एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङको नाम्चीमा एउटा सभा रहेको छ । उक्त सभामै अर्जुन राईले एसडीएफको झण्डा समाउने तय भएको पनि थाहा लागेको छ।

नाम्ची सिङ्गीथाङ तथा पोकलोक कामराङ निर्वाचन क्षेत्रमा अर्जुन राईलाई एक जनप्रिय युवा नेताको रूपमा चिनिन्छ भने गत आम चुनाउमा एसडीएफ पार्टीलाई दुवै क्षेत्रबाट विजयी बनाउन उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares