नगरपालिका व्यवस्थापन,सुन्दरीकरणको निम्ति बैठक : कोषको निम्ति मुख्यमन्त्रीसित कुराकानी गर्नेछौं- विनय तामाङ

दार्जीलिङ, 15 मई


जीटीएको सचिवालय लालकोठीमा आज हिल एरिया म्युनिसिपल एण्ड अर्वन कमिटी, जीटीएको एउटा सभा भएको छ। गत 22 मार्च 2018 को दिन कालेबुङको डेलोमा एउटा बैठक बसी जीटीए अधिनस्थ नगरपालिका अथवा शहरीक्षेत्रको व्यवस्थापन,सुन्दरीकरण अनि कुशल प्रशासनको उद्धेश्य लिएर यो कमिटी गठन गरिएको थियो। यसै कमिटीको पहिलो बैठक आज भएको हो। जिटिए बिओए अध्यक्ष विनय तामाङले विज्ञप्ति जारी गर्दै भनेअनुसार उप्रान्त दार्जीलिङ शहरलगायत अन्य नगरपालिकाक्षेत्रहरूमा मैला थुपारिने पुराना ढ्वाङ्गहरू सबै हटाइनेछ। ती मैला ढ्वाङ्गहरूमा थुपारिने मैलाले शहरीक्षेत्रलाई फोहोर बनाउनुको साथसाथै फोहोर- दुर्गन्ध फैलाउने गरेको तथा विभिन्न प्रकारका हैजाहरू फैलिने सम्भावनालाई ध्यानमा राख्दै सबै पुराना मैला थुपार्न बनाइएका ढ्वाङ्गहरूलाई हटाएर यसको साटो डुवर टु डुवर सर्भिसलाई प्रभावशाली बनाइने भएको छ।

डुवर टु डुवर सर्भिसलाई प्रभावशाली बनाउन नगरपालिकाले मेन पावर पनि बढाइनेछ। मैला ढ्वाङ्गहरू हटाएर डुवर टु डुवर सर्भिस स्थापित गर्नको निम्ति नगरपालिकाले समय निर्धारित गर्नेभएको छ। आजको सभामा नगरपालिकाहरूका ज्वलन्त समस्याहरू क्रमैले स्वेरेज सिस्टम, डम्पिङ ग्राउण्ड, पिउने पानी आदिको चाँड़ो व्यवस्थापन गर्ने सल्लाह भएको बताउँदै तामाङले नगरपालिकाहरूलाई यी कार्यहरूको निम्ति जीटीएको तर्फबाट पनि विशेष सहयोग गर्ने बताएका छन्।

‘नगरपालिकाले उक्त विषयहरूमा चाँड़ै डिटेल प्रोजेक्ट रिपोर्ट तयार पारी जीटीएलाई सुम्पिनेछ,’ तामाङले भने,  ‘हामी उक्त परियोजनाहरूको निम्ति कोष आवण्टन गर्नको निम्ति कलकत्ता गएर मुख्यमन्त्रीलगायत सम्बन्धित मन्त्रीहरूसित कुराकानी गर्नेछौं।’

सभामा पुलिस प्रशासनको पक्षबाट पर्यटन उद्योगलाई ध्यानमा राखेर दार्जीलिङ शहरको ट्राफिक व्यवस्था सुधार गरिनुपर्ने प्रस्ताव राखिएको भन्दै  जीटीए अध्यक्ष विनय तामाङले आगामी 19 मईको दिन दार्जीलिङको मारवाड़ी सहायक भवनमा यही विषयलाई लिएर एउटा बैठक गर्ने अनि पुलिस प्रशासनले पक्षबाट पनि उक्त बैठकमा सहभागी बनी ट्राफिक समस्या समाधानको मार्ग खोजी निकाल्नुमा सहयोग पुऱ्याइदिने आह्वान गरेका छन्।

‘जीटीएक्षेत्रभरि नै आगामी 7 जूनको दिन भव्यरूपमा अरण्य दिवस पालन गर्नेछ। अरण्य दिवसको अवसरमा जीटीएक्षेत्रभरिमा 5 लाख बिरूवा रोपन कार्य गरिनेछ,’ तामाङले भने, ‘यस कार्यमा जीटीए, राज्य सरकार, केन्द्र सरकारअधिनस्थ सबै विभागका कर्मचारीहरूले अनिवार्यरूपमा सहभागिता जनाउनुपर्नेछ। जीटीएक्षेत्रभरिका सबै शैक्षिक संस्थानहरूले पनि अरण्य दिवस पालन गर्दै बिरूवा रोपन कार्यमा सहभागी बन्नुपर्नेछ।’

यसबाहेक पनि थुप्रै महत्त्वपूर्ण विषयहरूमा आजको सभामा चर्चा परिचर्चा गरिएको बताइएको छ। सभामा हिल एरिया म्युनिसिपल एण्ड अर्वन कमिटीका शीर्षस्थ अधिकारीहरूले सहभागिता जनाएको बताइएको छ। जीटीए, जिल्ला प्रशासन, पुलिस प्रशासन जीटीएअधिनस्थ चारैवटा नगरपालिकाका शीर्षस्थ प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको बैठकले नगरपालिका वा शहरीक्षेत्रहरूको व्यवस्थापन, सुन्दरीकरण अनि कुशल प्रशासनको दिशामा निकट भविष्यमै सकरात्मक दिशा निर्देश गर्ने बताइएको छ।

हिल एरिया म्युनिसिपल एण्ड अर्वन कमिटी, जीटीएका पदाधिकारीहरूमा क्रमैले अध्यक्षको रूपमा जीटीए अध्यक्ष अनि उपाध्यक्ष रहेका छन् भने मेम्बर सेक्रेटेरीहरूमा क्रमैले जिल्लाशासक दार्जीलिङ, जिल्लाशासक कालेबुङ, सुप्रिन्टेण्डेण्ट अफ पुलिस,दार्जीलिङ, सुप्रिन्टेण्डेण्ट अफ पुलिस, कालेबुङ, सबै नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष, सबै नगरपालिकाका एक्जीक्टुटिभ अफिसरहरू, सुप्रिटेण्डिङ इञ्जीनियर सिभिल जीटीए, सुप्रिटेण्डिङ इञ्जीनियर पीएचई, जीटीए, सुप्रिटेण्डिङ इञ्जीनियर नेशनल हाइवे, सुप्रिटेण्डिङ इञ्जीनियर पीडब्लुडी आदि रहेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares