जनताले चाहे छैटौँ अनुसूचि झट्टै लागू हुने छेत्रीको दावी

मिरिक, १५ मई।


गोरामुमो सौरेनी पानीघट्टा समष्टिको नव चयनित अध्यक्ष नवराज छेत्रीले मङ्गलबार मिरिकमा छैटौँ अनुसूचि  जनताको काखमा रहेको अनि जनताले चाहे आजभोलि नै लागू हुने दावी गरे। उनले सौरेनी पानीघट्टा समष्टिको नेतृत्व सम्हालेपछि सञ्चार माध्यमसँग बोल्दै समष्टिमा पार्टीलाई शसक्त पार्न सक्रिय नेतृत्व गर्ने बताए। उनले जीटीए खारेज जरूरी छ, जीटीए एउटा दलको राजनैतिक अखडा मात्र भइरहेछ भन्दै जीटीएले गोर्खाको सपना पूरा नगर्ने बताए।

उनले गोरामुमोले गोर्खाको राजनैतिक भविष्य सुरक्षित गर्न अनि गोर्खाको भूभागलाई संवैधानिक प्रत्यभूति दिन आजसम्म पनि काम गर्न नछोडेको बताए। समष्टि अध्यक्ष छेत्रीले छैटौँ अनुसूचिको लागि कुनै आन्दोलन जरूरी नरहेको बताउँदै  अघिबाटै सम्झौता भएर राज्य र केन्द्रले पनि सहमति प्रकट गर्दै हस्ताक्षर गरिसकेको अनि स्ट्याण्डिङ कमिटीमा सुनवाईको लागि तयार रहेको छ, भने। अब जनताले चाहे लागू भइहाल्ने पनि उनले बताए।

उनले जनतालाई आह्वान गर्दै अघि भने, जनताले साँचो र झूठो कुरा बुझ्नुपर्छ। आजसम्म झूठको राजनीति भइरहेछ। साँचो र झूठो जनताले खुट्टाउनु पर्छ। चिया श्रमिकहरूको लागि काम गर्ने बताउँदै उनले सरकारी कामदारहरूले आफ्नो अधिकार पाए तर चिया श्रमिकहरूले नपाएको गुनासो गरे। चिया श्रमिकहरूलाई अन्याय गरियो। उनीहरूले तीन महीनाको रोजी पाएनन्। सरकारी नोकरशाहीहरूले तीन महीने आन्दोलनको तलब पाए तर श्रमिकहरूलाई १३२ रुपियाँ पनि दिन सकेन भन्दै  उनले चिया श्रमिकहरूको हक अधिकारको लागि सक्रिय काम गर्ने पनि बताए।

उनले केन्द्रिय अध्यक्ष अनि केन्द्रिय नेतृत्वहरूको मार्ग दर्शनमा चल्ने अनि पार्टीको सिद्धान्तलाई शिरोपर गरेर पार्टीको मुद्धालाई सफल बनाउन आफ्नो बुँताले भ्याएसम्म काम गर्ने पनि बताए। उनले गोरामुमो फेरि आफ्नो लक्ष्यमा पुग्ने र गोर्खाको अस्तित्व रक्षामा सफल हुने ठोकुवा गरे। छैटौँ अनुसूचि लागू हुनेछ भन्दै अध्यक्ष छेत्रीले सबैभन्दा महत्त्वपूर्ण विषय गोर्खाको किपटलाई संवैधानिकरुपले सुरक्षा दिनु रहेको बताए। जसको लागि समष्टिलाई अग्रगामी बनाएर पार्टीको मुद्धाहरूलाई सफल बनाउन सक्रिय भएर सिपाही भएर काम गर्ने उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares