‘रानीचु रिभरफ्रण्ट क्लिनिङ प्रोग्राम’ को शुभारम्भ

गान्तोक, 15 मई।


भारत सरकारको पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालयको निर्देशनमा राज्य वन, पर्यावरण एवं वन्यप्राणी प्रबन्धन विभागले मंगलबार ‘रानीचु रिभरफ्रण्ट क्लिनिङ प्रोग्राम’ को शुभारम्भ गऱ्यो। वन, पर्यावरण एवं वन्यप्राणी प्रबन्धन विभागका अतिरिक्त पीसीसीएफ सीएस राव र गान्तोक नगर निगमकी उप मेयर श्रीमती लासेडोमा भोटियाको विशेष उपस्थितिमा उक्त कार्यक्रमको शुरूवात गरियो।

यस अवसरमा रानीपुलस्थित ट्रक पार्किङ यार्डबाट एउटा ऱ्याली पनि निकालियो जसमा रानीपुल वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरू, वन विभागका अधिकारीहरू र कर्मचारीहरू, रानीपुल थानाका पुलिस कर्मीहरू आदिले भाग लिएका थिए। रानीपुल बजारको परिक्रमापछि ऱ्याली पुन: ट्रक पार्किङ यार्डमा आइपुगेर समाप्त भयो। यसपछि विद्यार्थीहरू र अरू प्रतिभागीहरूले रानी खोलाको बगरमा गएर त्यहॉं एकत्रित प्लास्टिक फोहोर निकाल्ने कार्य गरे।

अतिरिक्त पीसीसीएफ सीएस रावले पत्रकारहरूलाई जानकारी दिए अनुसार भारत सरकारको पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालयको निर्देशनमा राज्य वन, पर्यावरण एवं वन्यप्राणी प्रबन्धन विभागले रानी खोलालाई ग्रहण गरेको हो। यो कार्यक्रम आगामी 2 जूनसम्म चल्नेछ भने 3 जूनको दिन गान्तोकमा म्यारथन प्रतियोगिता आयोजन गरिने छ। यस कार्यक्रम अवधि गान्तोकदेखि रानीपुल र 32 नम्बरसम्म रानी खोलाको बगरमा एकत्रित प्लास्टिकहरू सफा गरेर खोलालाई प्लास्टिक फोहोर मुक्त गरिने छ।

उनले यस कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थीहरू, विभिन्न संघ संस्थाका सदस्यहरू, वन विभागका कर्मचारीहरू आदिले भाग लिने जानकारी दिए। उनले खोलाबाट एकत्रित गरिएका प्लास्टिक फोहोरहरूको प्रबन्धनको निम्ति विभागले अगावै योजना तयार गरिसकेको पनि अवगत गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares