को हुन त तपन?

 

यसपालि साथी विकासले खोजिनिकाले तपन नौवागलाई। मुम्बईमा आएर विभिन्न किसिमका जीविकाका साधनहरू अप्नाउने हाम्रा युवाहरूमा एक तपन नौवाग। उनले अप्नाएको साधन तर बिछट्टै बेग्लो। सानु छँदादेखि नै कागतमा पेन्सिलले नक्सा कोरिरहने बानी भएका तपनलाई यही बानीले एकदिन हातमुख जुराउने उपाय मात्र दिएन तर आफ्नो सुन्दर भविष्यको रचनात्मक यात्रा पनि दियो। यसैले गर्दा उनी मुम्बई आइपुगे अनि आज गेम डेभलपमेन्टजस्तो नितान्त बेग्लो विधामा आफ्नो ख्याति आर्जन गरिरहेका छन्।

एन्टप हिल, मुम्बई – 37

हामीले कैफेतिर, मोबाइलमा र इन्टरनेटमार्फत् अनलाइन अथवा अफलाइनमा नानीहरू, युवाहरू अनि बुढ़ाबुढ़ीहरू सबै वर्गका मानिसहरू गेम खेलिरहेको देख्छौँ। यस्तै गेमहरू तयार गर्ने अनि त्यसलाई नेटमार्फत् सारा संसारमा फैलाउने र त्यसैबाट आफ्नो जीविका चलाउने पेशा पनि हुन्छ। एकपल्ट  त लाग्छ यस्तो हुँदैन होला भन्ने तर जब हामी जाँगरिला युवा तपन नौवागका कुराहरू सुन्छौँ तब विश्वास पलाउन थाल्छ। हुनत उनको घरपरिवारकाहरूले पनि पहिले त पत्याएनन् यस्तो कुरा जब तपनले भने अब म यसलाई करियर बनाउनका लागि मुम्बई जाँदैछु भनेर। पश्चिम बङ्गाल सरकारको पुलिस विभागमा सेवारत् उनका पिताले त छोराको कुरामाथि भर नपरेर आफै खोजीनिती गरी, तपनसँगसँगै मुम्बई आएर आश्वस्त भएपछि मात्रै पत्याएको कुरा तपन बताउँछन्।

गत 10 वर्षदेखि मुम्बई आएर यस पेशामा लागिपरेका तपन नौवागले आफ्नै गाउँ खरसाङमा एरेना मल्टिमिडियामा एनिमेसन सिकेका हुन्। पङ्खाबारी हाई स्कुल र सन्त अल्फन्सस विद्यालयमा अध्ययन गरेका तपनले खरसाङ कलेजबाट स्नातकको डिग्री लिए। खरसाङकै पोलिटेक्निक कलेजबाट कम्प्युटर हार्डवेयर सिध्याएपछि उत्तर बङ्गाल विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तरको शिक्षार्जन गरे। फाइन आर्टको ट्रेनिङ पनि गरेका तपनले सिने सोसाइटीको कर्मशालमा पनि भाग लिए। शिशु अवस्थादेखि नै टिभीमा कार्टुन मात्रै हेरिरहने सोख भएका तपनले यसै कार्टुनको दुनियाँसित मिल्ने विधा एनिमेसनलाई पछि आफ्नो जीविकाको साधन बनाए। परीक्षा लत्याएर पनि कार्टुन हेर्ने गरेका दिनहरूको सम्झना गर्दै तपनले डिस्कोभरी च्यानलबाट यस विधाका सूचनाहरू प्राप्त गरेको स्मरण गर्छन्।

सल्लाहअनुसार विकास दूतराजसित मुम्बईको दादरस्थित वीर कोतवाल उद्यानमा साँझ 7 बजीदेखि बसेर तपन नौवागसित बात गर्दा समय बितेको पत्तै भएन। युवा प्रतिभा तपन नौवागले आफुबारे बताउँदा हामीलाई अझ धेरै सुन्ने मन हुन्थ्यो। सुरूमा उनलाई हतोत्साहित पार्नेहरूको सम्झना पनि उनले गरे। साथीभाइहरूले यस विधामा काम पाउने र यसलाई व्यवसाय बनाउन सक्ने कुरामा सधैँ आफुलाई हाँसोको पात्र बनाएको कुरा झिक्दै उनी उत्तर बङ्गाल विश्वविद्यालयको छात्रावासमा रहँदाका दिनहरू सम्झन्थे। पढ़ाइ सिध्याएपछि जस्तोसुकै होस् तर काम गरेर आफ्नो खुट्टामा उभिने सपना लिएका तपनले तर कसैको वास्ता गरेनन्।

यसैबिच एकदिन उनले थाहा पाए इसी इन्टरएक्टिभ भन्ने कम्पनीलाई चित्रकार चाहिएको सूचना। यसका लागि उनले अनलाइन प्रक्रियामार्फत् अन्तर्वार्ता दिए। लगभग एक महिनाजति उनको प्रतिभाको जाँच गरेपछि कम्पनीले जून 2008 -मा उनलाई नियुक्ति पत्र पठायो। आफुले फाइन आर्टको कोर्स गरेको कारण उनलाई यसरी नियुक्ति पाउनु सजिलो भए तापनि जब मुम्बईमा पाइला टेकेर कम्पनीको दैलोमा पुगे त्यसपछि भने तपनलाई व्यावहारिक कामकाज देखेर डर पनि लाग्यो। खरसाङमा सानु डेस्कटप कम्प्युटर चलाउने ठिटो यता आएर बड़ेबड़े आकारको इलेक्ट्रोनिक ग्याजेटहरूअघि उभिनुपर्दा त एकपल्ट उनको सातो नै गएजस्तो भयो।

यतिन्जेल आफ्नो गाउँमा सिकेको कुनै पनि कुरा काम नलागेको बताउँदै तर तपनले भने बेसिक कुराहरू भने जानेको कारण डर केही कम भयो। यता आएर सिक्नु र हात बसाउनु धेरै समय लागेको सम्झना गर्दै उनी भन्छन्, अहिले भने म केही अनुभवी र पारङ्गत भएको छु अनि काम गरिरहेको छु। हालमा गेम डेभलपमेन्ट प्रोफेसनमा आर्ट टिम लिडको कार्यरत तपनको कम्पनीको एउटा नयाँ गेम आगामी वर्षको फरवरी महिनासम्ममा विश्वबजारमा देखा पर्ने जानकारी उनले दिए। यो खेलको योजनामा लगभग 100 जनाभन्दा धेरै सर्जकहरू लागिपरेको बताउँदै उनले के जानकारी दिए भने, यो गेम रियल टाइम स्ट्रेटेजी अथवा आरटीएस वर्गमा आउँछ।

यसमा मानव विवेकले विभिन्न संसाधनहरूविरुद्ध युद्ध गर्नुपर्दछ। गेम इन्डस्ट्री जुवा होइन तर यो दिमागको खेल हो। मेन्टल गेम हो यो। कम्प्युटरमा धेरै प्रकारका गेमहरू हुन्छन् तर आरटीएस गेम बनाउने साहस सबैले गर्दैनन्। यसका प्रशंसकहरू दुनियाँभरि छन् तर निर्माता भने कम छन्। कम्प्युटर कैफेतिर खेलिने गेमहरू प्रायः एफपीएस अर्थात् फर्स्ट पर्सन सुटर र आरटीजी अर्थात् रोल प्लेयिङ गेम वर्गका हुन्छन्।

तर उनको कम्पनीले हालमा जुन आरटीएस गेम तयार गरिरहेको छ यसमा मान्छेको दिमागी भाग ज्यादा चलाउनुपर्ने हुन्छ। यसमा अडियो, भिडियो, सम्पादन आदि वर्गमा तपनहरू मुख्य गरी 10-12 जनाले काम गरिरहेका बताउँछन्। टिमको लिडरका रुपमा कार्यरत तपन बताउँछन्, यसलाई सेंसर बोर्डले पास गर्नुपर्ने हुँदछ किनभने गेमहरूले हिंसा र अशान्ति फैलाएका उदाहरणहरू आजकल सामने आइरहेका छन्। तर यो गेम भने बौद्धिक क्षमता वृद्धि गर्ने वर्गको हुनेछ। 13 वर्षभन्दा उँभोका युवाहरूले यसलाई खेल्न सक्नेछन्।

एमए-को अध्ययन गरिसकेका तपन भन्छन्, किताबी ज्ञानमा हामी बेसी आकृष्ट बन्नुहुँदैन। व्यावसायिक अध्ययन हुनुपर्छ। हाम्रो पहाड़मा जुन शिक्षा दिइन्छ वास्तवमा त्यो साक्षरता मात्रै हो। किताबदेखि बाहिरको दुनियाँबारे हामीलाई केही सिकाइँदैन। हाम्रा युवाहरूमा प्रतिभा नभएको होइन तर उनीहरू पहाड़ छोड़ेर बाहिर निस्कन रुचाउँदैनन् अनि पहाड़मा भने कुनै प्रकारको स्कोप छैन अनि बाटो देखाउनेहरू छैनन्।

आफुलाई हीन ठान्ने प्रवृत्तिले गर्दा हामीले आफ्ना कलाहरू उजागर गर्ने औसर गुमाइरहेका छौँ। हाम्रा युवाहरूले आफ्नो मनबाट हीनताको भावना हटाउनुपर्छ अनि रिस, आवेग र मूर्खतालाई काबुमा राख्नुपर्छ हामीले। कुनै पनि काम सानो हुँदैन। मन लगाएर, गम्भीरतासित अनि इमान्दारीपूर्वक गरिएको कुनै पनि काममा सफलता हाल लाग्नेछ। हाम्रा युवाहरूलाई जीविकाका स्कोपहरूबारे ज्ञान छैन, सूचना छैन। उनीहरूलाई यस्ता जीविकाका साधनहरूबारे स्कुले उमेरदेखि नै सूचित गराउनु जरुरी छ।

सर्टिफिकेट हातमा हुनुभन्दा आवश्यक छ हातमा प्रतिभा हुनु। हातमुख जोड़्ने साधन सर्टिफिकेट हैन तर आफ्नो सिप र कौशल नै हुन्। आफुलाई पनि सुरूमा मुम्बईमा धेरै कष्ट भए तापनि कामप्रति इमानदार र कटिबद्ध रहेको कारण आफ्ना मालिकहरूले धेरै प्यारो गरेको अनि उनीहरूको धेरै सहयोग पुगेको कारण नै आज आफु निकै माथिल्लो स्तरसम्म पुग्न पाएको उनी बताउँछन्।

ग्राफिक, मोडलिङ, एनिमेसन आदि क्षेत्रमा प्रचुर स्कोप रहेको बताउँदै पहाड़का सिर्जनात्मक युवाहरूले यस्ता पेशामा सफलता पाउनसक्ने लक्षण रहेको विश्वास तपन गर्छन्। खरसारमा पुलिस विभागमा सेवारत पिता मनबहादुर (एमबी) र माता देविकाका सुपुत्र तपन हालमा मुम्बईको बोरीवली पूर्वमा एउटा घर लिएर बस्छन् अनि मुम्बईका सामाजिक सङ्घ-संस्थाहरूसित पनि जोड़िएर कामहरू गरिरहेका छन्।

गीत-सङ्गीत, खेलकुद र साहसी खेलतिर पनि सोख राख्ने तपन नौवागले हाल्फ मेराथन, ट्रेकिङ र पर्वतारोहण पनि गरेका छन्। उत्तराखण्डको पङ्गरचुला हिमाल उक्लिसकेका तपनले कञ्चनजङ्गाको आधार शिविरमा पनि पाइला टेकिसकेका छन्। यसरी आँट र साहसका खेलकुदलाई पछ्याउने तपन भर्चुअल संसारमा पनि यसै पेशालाई आफ्नो जीविकाको साधन बनाउन पाउँदा खुसी त छन् तर सन्तुष्ट भने छैनन्। कामसित खुसी भए पनि पूर्ण रुपले सन्तुष्ट भने छुइनँ किनभने कलाकारले जुन दिन सन्तुष्टि पाउँछ त्यो दिन उसको प्रतिभा मरेर जान्छ भनी उनी बताउँछन्।

साहसिक खेलहरूमा भाग लिन रुची राख्ने तपनले मुम्बईमा यौटा अचम्मको खेलमा भाग लिएको सम्झना गर्छन्। मुम्बईको प्रख्यात आलिशान बिल्डिङ कोहिनुरका 52 -वटा तलाहरूको सिँढ़ी सातसातपल्ट चढ़्ने र झर्ने एभरेस्ट च्यालेन्ज नामक सामूहिक प्रतियोगितामा भाग लिएर जितेको कुरा उनी गर्छन्। सातपल्ट चढ़्दा र झर्दा सगरमाथाको उचाइँको दूरी पुर्ण हुने बताउँदै उनले यस खालका चुनौतीपूर्ण प्रतिस्पर्द्धाहरूले आफुलाई धेरै साहस प्रदान गर्ने जनाए तपनले।

18 मई 1984 -का दिन जन्म लिएका तपन हालमा बोरिबली पूर्वमा यौटा कोठा लिएर रहिरहेका छन् भने उनको दफ्तर गिरगाउँ चौपाटी, चर्नी रोडमा रहेको छ। प्रत्येक दिन एसी रेलमा आउजाउ गरेर व्यस्त जीवन व्यतीत गर्ने तपनमा तर सामाजिक दायित्व पालन गर्नुपर्ने भावना पनि उच्च रहेको छ। मुम्बईमा पेशागत जीवन बिताइरहे तापनि सामाजिक दायित्वहरूदेखि पछाड़ि नपर्ने तपन चाहन्छन् पहाड़का युवाहरूले आफ्नो खुट्टामा आफै उभिनलाई विभिन्न किसिमका पेशाहरू अप्नाऊन्।

उनीहरूमा प्रतिभा छ तर आँट कम छ। सङ्घर्ष गर्ने साहस भएको व्यक्ति मुम्बईमा भोकले मर्दैन भन्दै उनी आफ्नै अघि पनि अझ धेरै सङ्घर्षहरू रहेको बताउँछन्। सुरूमा आफु मुम्बई आउँदा आफुलाई केही थाहा नभएको, बस्ने र खाने ठाउँ पनि नभएको सम्झना गर्दा उनी बताउँछन्, तर कम्पनीको तर्फबाट सबै सहयोग प्राप्त भएको कारण सङ्घर्ष गर्ने साहस आयो। सुरूमा त दुइ सालजस्तो घर जानै नसकेको बताउँदै त्यतिखेर भनेजस्तो सफलता हातमा नलागेको कारण गाउँघरमा साथीभाइले जिस्क्याउने पो हुन् कि भन्ने डर लागेको उनी जनाउँछन्। किनभने गाउँघरका धेरैजना मुम्बई पुगेर रित्तो हात फर्केका उदाहरणहरू धेरै थिए तर केही न केही गर्ने यौटा अठोट लिएर आएको कारण आफुलाई आत्मबल मिलेको उनी भन्छन्।

यो पेशामा पनि सङ्घर्ष भने कठोर रहेको बताउँदै उनी आगामी वर्ष सुरू हुने उनको कम्पनीको नयाँ गेमको तयारीमा दिनरात गरेर लागिपरेका छन् अनि आशा साँचेका छन् यो गेमले सारा दुनियाँमा केही न केही नयाँपन दिनेछ र यसलाई सबैले मन पराउनेछन्।

उनको भावी योजनाप्रति शुभकामना दिँदै रातीको 10 बजी तपन नौवागसित विदा भएर आआफ्नो बाटो लाग्छौँ…..

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares