दार्जीलिङमा पनि एफएम रिले सेन्टर

दार्जीलिङ, 16 मई।


दार्जीलिङमा पनि रिले एफएम स्टेशनको शुरूआत भयो। जसको आज उद्घाटन भए पनि यसले आगामी 3-4 महीनापछि पूर्णरूपले आफ्नो काम सञ्चालन गर्ने भएको जानकारी पाइएको छ। स्थानीय बतासेदेखि ठीकमाथि गान्धी रोडमा अवस्थित यस अल इण्डिया रेडियो एफएम स्टेशनको उद्घाटन आज 100.2 मेघाहर्ज एफएम स्टेशन इस्टर्न जोनका अतिरिक्त निर्देशक आर. घोष दस्तीदारले गरे।

यसबारे दस्तीदारले पत्रकारहरूसित कुराकानी गर्दै भने-आजदेखि अल इण्डिया रेडियो दार्जीलिङ एफएमको शुरूआत भयो। जसमा स्थानीय प्रतिभाहरूले असल मौका पाउन सक्नेछन्। स्मरण गराइन्छ, दार्जीलिङ क्षेत्रका विभिन्न संघ-संस्थाहरूले धेरै समयअघिदेखि दार्जीलिङमा एफएम स्टेशनको स्थापना गर्नुपर्ने माग उठाउँदै आइरहेका थिए। यस स्टेशनले हाल रिले केन्द्रको रूपमा मात्रै काम गर्ने भएको छ, तरै पनि यसलाई आगामी केही समयपछि पूर्ण एफएम केन्द्रको रूपमानै सञ्चालन गर्ने योजना बनाइएको पनि दस्तीदारले बताए।

उनले भने-दार्जीलिङमा धेरै वर्षअघिनै एफएम स्टेशनको स्थापना गर्ने योजना शुरू गरिएको थियो, तर कतिपय असुविधाको कारण यसमा धेरै ढिलाई भयो। तरै पनि आज यसको उद्घाटन भएको छ र यसमा स्टुडियो आदिको पनि सुविधा उपलब्ध छ। यो केन्द्र अल इण्डिया रेडियोको दिशानिर्देशअनुसारनै चल्ने पनि उनले जानकारी गराए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares