200 जनालाई गराउने बीएड : ल कलेज निर्माण गरिने : घुम जोरबङ्गलो कलेजका प्राध्यापक-प्राध्यापिकाहरूलाई सरकारी बेतन दिलाइने

दार्जीलिङ, 16 मई


जीटीएको सचिवालय लोलकोठीमा आज जीटीए अध्यक्ष विनय तामाङ, जीटीए शिक्षा विभाग प्रभारी सदस्य अमरसिंह राई, जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक ज्योतिर्मय टाटीँ अनि इण्डियन इन्स्टिट्यूट अफ लिगल स्टडिजका चेयरम्यान जोयजीत चौधरी अनि उत्तर बङ्गाल विश्व विद्यालय यूजीसी काउन्सिलका सचिवा नुपूर दासमाझ जीटीएक्षेत्रका शैक्षिक व्यवस्थाको व्यवस्थापन गर्ने विषयलाई लिएर एउटा महत्त्वपूर्ण सभा सम्पन्न भयो।

मुख्यरूपले उक्त सभामा हालैमा नियुक्त भएका शिक्षकहरू जसले अहिलेसम्म बीएड प्रशिक्षण गरेका छैनन्। उनीहरूलाई बीएड प्रशिक्षण गराउने विषयमा चर्चा-परिचर्चा गरियो। गत 3 अप्रेलको दिन संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनका प्रतिनिधिहरूले जीटीए अध्यक्ष विनय तामाङ एवं शिक्षा विभाग प्रभारी अमरसिंह राईलाई एउटा ज्ञापन चढाएको थियो।

उक्त ज्ञापनमा तर्फबाट हालैमा नियुक्ति पाएका शिक्षकहरूको भविष्यसितै दार्जीलिङ पहाड़को शैक्षिक-व्यवस्थालाई पनि  ध्यानमा राखेर उनीहरूलाई बीएड प्रशिक्षण गराउने व्यवस्था मिलाइदिने अपील संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनले गरेका थिए।

सङ्गठनको उक्त प्रस्ताव मननयोग्य रहेकोले गर्दा नै जीटीएले यस विषयमा कार्य अघि बढाउने निर्णय लिएको थियो। यसैकारण आजको बैठकमा यस विषयलाई निक्कै प्राधान्यता पनि दिइएको थियो। जसको फलस्वरूप हालैमा नियुक्ति पाएका शिक्षकहरूमध्ये 200 जनालाई यही वर्ष सिलगढ़ीमा पञ्जीकरण गर्ने तय गरिएको छ।

ती शिक्षकहरूलाई दुई बर्षे बीएड तालिम गराइनेछ भने सातामा शनिबार अनि आइतबार अनि कुनै एकदिन गरेर तीन दिन अनिवार्यरूपमा कक्षा गर्नुपर्नेछ। शनिबार अनि आइतबार बाहेक अन्य एकदिन शिक्षकहरूलाई स्टडी लिभको आधार गरेर छुट्टी प्रदान गर्ने प्रावधान मिलाउनेछ। यसबाहेक  अन्य शिक्षकहरूलाई भने दार्जीलिङ पहाड़मै बीएड तालिम दिने व्यवस्था मिलाउने पनि आजको सभामा चर्चा गरिएको छ।

बङ्गालमा यूजीसीद्वारा पञ्जीकृत धेरैवटा बीएड कलेजहरू हालमा बन्दावस्थामा रहेको र ती बन्द कलेजहरूमध्ये कुनै एउटा कलेजलाई दार्जीलिङमा ट्रान्सफर गराएर त्यहाँ अन्य शिक्षक/शिक्षिकाहरूलाई तालिम दिन सकिने इण्डियन इन्स्टिट्यूट अफ लिगल स्टडिजका चेयरम्यान जोयजीत चौधरीले सुझाउ राखे। उक्त कार्यको निम्ति नर्थ बेङ्गल युनिभर्सिटीले एनओसी पनि दिन सक्ने पनि उनले बताए। आजको सभामा यस विषयमा तुरून्तै कार्वाही शुरू गरिने निर्णय लिइएको छ।

यसबाहेक दार्जीलिङ पहाड़का विद्यार्थीहरूको निम्ति इण्डियन इन्स्टिट्यूट अफ लिगल स्टडिजको एउटा शाखाको रूपमा ल कलेज निर्माण गरिने पनि आजको सभामा चर्चा भएको छ। उक्त ल कलेजको निम्ति जीटीएले जमीन प्रदान गरिनुपर्ने भएकोले गर्दा केही दिनमा नै जमीन चिह्नित गरिनेछ।

यसरी नै घूम जोरबङ्गलो कलेजको व्यवस्थापन अनि सञ्चालनको विषयमा पनि सभामा चर्चा गरियो। उक्त कलेजको सन्दर्भमा जोयजीत चौधरीले धेरै अघि नै केन्द्र सरकारद्वारा जारी गरेको अध्यादेशअनुसार कलेजलाई सरकारले पूर्णरूपमा टेक ओभर गर्न नसकेतापनि प्राध्यापक- प्राध्यापिकाहरूको तनाखा भने सरकारबाट हुनसक्ने प्रावधान रहेको बताए। तथापि उक्त प्रावधान प्राप्त गर्नुको निम्ति सबै प्राध्यापक-प्राध्यापिकाहरूले सरकारी औपचारिकता अथवा योग्यता पूर्ण गर्नुपर्ने उनले बताए। आवश्यकता परेको खण्डमा उक्त विषयमा प्रक्रिया अघि बढाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने पनि उनले आश्वासन दिए।

सुके-पोखरीमा सञ्चालन हुन गइरहेको डिग्री कलेजको डीपीआर तयार पार्न पनि इण्डियन इन्स्टिट्यूट अफ लिगल स्टडिजका चेयरम्यान जोयजीत चौधरीले सहयोग गर्ने भएका छन्।

पहाड़को शैक्षिक व्यवस्थालाई व्यवस्थित बनाउने जीटीएको उद्धेश्यमाथि आजको सभाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्ने हामी विश्वस्त छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares