एक साहसिक जीवनयात्रा- स्व. ललिता राई ‘अहमद’

अबिच्युरी


प्रा. कबीर बस्नेत, दार्जीलिङ सरकारी महाविद्यालय


पहाडको एक अव्वल समाजसेवी संस्था मार्ग (MARG)-ले दार्जीलिङ सरकारी महाविद्यालयसित संयुक्त रूपमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरेको थियो, प्रतियोगिता शुरू हुन केही क्षण बाँकी थियो, बिहानको आठ बज्न केही मिनट बाँकी। अचानक परबाट ट्र्याक सुट पहिरेकी ललिता गुरूमा हातमा फ्ल्याग लिएर दौडिँदै आइन्। विद्यार्थीहरू अनि म्याराथन धावकहरूको हर्ष र जोश दोब्बर भयो । ललिता गुरूमाले धावकहरूलाई फ्ल्याग अफ् मात्र गरिनन् तर दौडिन् उनी पनि विद्यार्थीहरू सङ्गसङ्गै। उनी आधा दौड पूरा गरेर मात्र एस्कर्ट भ्यानमा चढिन्। त्यसबखत् उनी लगभग ६० वर्षकी थिइन्।

उपलब्धि, साहसिकता अनि बौद्धिकताको पर्याय बनिसकेकी  ललिता राई अहमदको नाउँ नसुन्ने हाम्रो समाजमा थोरै होलान्।  दार्जीलिङको सिन्कुना बस्तीमा १९५६ मा सैनिक परिवारमा जन्मेकी ललिता राई सानैदेखि आँटी स्वभावकी थिइन्। उनका पिता भाइबीर सिंह राई सेनामा सुबेदार मेजर थिए। आफ्नो विशिष्ट सेवाको निम्ति उनले मिलिट्री पदकसम्म प्राप्त गरेका थिए। छजना दिदीबहिनी अनि एक दाजुमध्ये उनी कान्छी थिइन्। आफ्नो प्रारम्भिक शिक्षा ग्रिफित्स उच्च माध्यमिक विद्यालयबाट प्राप्त गरेकी ललिता राईले स्नातक तहको शिक्षा दार्जीलिङ सरकारी महाविद्यालयबाट प्राप्त गरेकी थिइन्।

स्नातकोत्तर अनि विद्यावारिधि उत्तर बङ्गाल विश्वविद्यालयबाट पूरा गरेपश्चात् दार्जीलिङ सरकारी महाविद्यालयमा प्राध्यापिकाको रूपमा नियुक्ति पाएर आइन् सन् १९८२  सालमा। दार्जीलिङमा उच्च शिक्षा लगायत साहित्य, राजनीति, सङ्गीत, कला क्षेत्रमा नामी हस्तीहरू जन्माउने शिक्षास्थलीको रूपमा सरकारी महाविद्यालयको नाउँ पहिलो श्रेणीमा पर्छ। आफ्नो जीवनको प्रायः तीन दशकजत्तिको समय उनले यसै महाविद्यालयमा अध्यापन कार्यमा लगाइन्। खेलकुदमा औधी चासो राख्ने ललिता गुरूमा शुरूदेखि नै राष्ट्रिय क्याडेट कोर (NCC) मा सङ्लग्न थिइन् अनि महाविद्यालयका छात्राहरूलाई यसमा सामेल गराइन्।

उनको निर्देशनमा छात्राहरूले कलकत्ता अनि देशको राजधानी दिल्लीको राजपथहरूमा समेत आफ्नो उत्कृष्ट प्रदर्शनी दिँदै महाविद्यालय अनि पहाडको नाउँ राखेको दृष्टान्त पाइन्छ। उनी स्वयम् सम्मानजनक मेजरको ओहोदासम्म पुगिन् अनि विभिन्न कार्यशाला अनि प्रशिक्षण शिविरहरूमा सहभागी बनिन्। उत्तर बङ्गालका विभिन्न महाविद्यालयका छात्राहरूले उनीबाट राष्ट्रिय क्याडेट कोर अन्तर्गत विभिन्न तहका प्रशिक्षण लिएका थिए। उनकै निर्देशनमा प्रशिक्षणप्राप्त धेरै क्याडेटहरू हाल पुलिस सेवा लगायत देशको सैन्यबल लगायत अर्द्धसैन्य बलहरूमा सेवारत् छन्। कठोर अनुशासन अनि नियम पालनको निम्ति चिनिएकी प्रोफेसर ललिता राई ‘अहमद’ को व्यक्तित्वको यो एउटा सशक्त पाटो थियो।

तुलसी अपतनको व्यक्तित्व र कृत्तित्व शीर्षकमाथि शोधकार्य सम्पन्न गरेकी अनि विद्यावारिधिले विभूषित भएकी ललिता राई ‘अहमद’ को साहित्यिक व्यक्तित्व पनि असाधारण रहेको हामी पाउँछौं। विभिन्न पत्र-पत्रिका अनि दैनिकहरूमा उनीद्वारा कलमबद्ध भएका सशक्त लेखहरू हामीले पाएका हौं। धेरै साहित्यिक-सामाजिक-शैक्षिक संस्थानहरूका संरक्षक अनि सदस्य रहेकी ललिता गुरूमाले यस्ता संस्थानका कार्यक्रमहरूमा दह्रिलो उपस्थिति दिने गर्थिन्।

गोष्ठी वा सेमिनारहरूलाई सम्बोधन गर्ने क्रममा उनका ओजिला शब्दहरू कुनै पनि व्यक्तिको निम्ति प्रेरक हुने गर्थे। स्वयम् मैले धेरैवटा साहित्यिक सामाजिक कार्यक्रमहरूमा उनको भनेका शब्दहरू मन लाएर टिपेको छु। एउटा कार्यक्रमको स्मरण हुन्छ- साहित्य सम्मेलनको एक साहित्यिक कार्यक्रममा डा. इन्द्रबहादुर राई, डा. जीवन नाम्दुङ, गोपीनारायण प्रधान, गुप्त प्रधान, राजनारायण प्रधान आदि साहित्यका महारथीहरू मञ्चासीन भएको बेला आफ्नो सम्भाषणमा उनले ए.पी.जे.अब्दुल कलामको प्रसिद्ध भनाइलाई कोट गर्दै भनिरहेकी थिइन्- सपना त्यो होइन जो मानिसले निदाएको अवस्थामा देख्ने गर्छन्, तर सपना त त्यो हो जसले तपाईँलाई निदाउनै दिँदैन– यो वाक्य यसकारण पनि मलाई सान्दर्भिक लाग्यो, यो उनकै जीवनसङ्ग पनि गहिरो रूपमा सम्बन्धित थियो।

उनले आफ्नो जीवनमा जुन सङ्घर्ष गरिन्, त्यो हरदर व्यक्तिको निम्ति सम्भव थिएन। भीडमा उभिएर कुनै शक्तिसङ्ग लड्नु कुनै ठूलो साहसको कुरा होइन, तर एक्लै उभिएर त्यो शक्तिलाई लघार्नु अनि त्यसमाथि विजय प्राप्त गर्नु वास्तवमा साँचो साहस हो। उनलाई न्यायसङ्गत लागेका जुनकुनै कुरामा उनी आफ्नो छुट्टै अडान राख्थिन् अनि अन्तसम्म चट्टान जस्तै भएर बाधा विपरीततालाई सहन गर्थिन्। विपरीत राजनैतिक परिस्थितिहरूमा पनि उनले जुन साहस र सुझबुझको परिचय दिन्थिन् त्यो आफैमा अनौठो देखिन्थ्यो।

उनी सरकारी महाविद्यालयको प्राचार्य पदमा आसीन हुँदा दार्जीलिङ सङ्क्रमणकालको राजनैतिक अवस्थामा थियो। त्यस अवधिमा पनि उनले महाविद्यालयको शैक्षिक गतिविधिलाई अक्षुण्ण राख्न सफल भएकी थिइन्। विद्यार्थीहरूको  दैनन्दिनका समस्याहरूलाई गहिरोसित बुझेर तात्कालिक होइन दुरगामी समाधान गर्नतर्फ उनी सदैव अग्रसर रहन्थिन्। उनको यस्तो स्वभावसित परिचित दार्जीलिङको ठूलो विद्यार्थी जमात हाल शोकमा परेको देखिन्छ।

ललिता गुरूमा बित्नुभएको खबरले तपाईँले कस्तो अनुभव गर्नुभो भन्ने प्रश्नको उत्तरमा वर्तमान भारप्राप्त प्राचार्य डा. प्रज्जवल चन्द्र लामा भन्छन्- मलाई त आफूमाथिको छहारी नै खोसिए जस्तो अनुभव भयो। यस्तै प्रश्नको उत्तरमा महाविद्यालयका अशिक्षण कर्मचारी अनि गुरूमाको सहायकको रूपमा काम गर्ने मदन रज्जाक भन्छन्- उनको मृत्युले आफ्नै आमा गुमाएको अनुभव भइरहेको छ। हुनपनि यी दुवैको स्थायीकरणमा ललिता गुरूमाले जुन भूमिका निभाउनुभयो, त्यो अरूको नजरमा साधारण देखिए तापनि यी दुई भिन्दा भिन्दै ओहोदाका व्यक्तिका निम्ति जीवन मरणकै प्रश्न थियो । यो कुरा यहाँ गरिन आवश्यक बोध हुन्छ किनभने, गुरूमाको दृष्टिमा सबै समान थिए, सबै उनका सन्तान थिए अनि सबै समान रूपमा प्रिय थिए ।उनको कार्यशैलीलाई धेरैले आलोचना गरे पनि उनलाई अन्तसम्म पनि भ्रष्टाचारको सानोभन्दा सानो आरोप कसैले लगाएनन् । उनका आलोचक पनि उनको कर्त्तव्यपरायणता अनि अनुशासनप्रियताको खुलेर प्रशंसा गर्छन् । वास्तवमा सिद्धिचरण श्रेष्ठले भने जस्तो मानिस हजारौं गुणले सम्पन्न हुँदाहुँदै पनि केही न केही कमजोरीहरू पनि हुन्छन् नै ।यी कमजोरीहरूमै उसको मानव हुनुको अर्थ निहित रहेको हुन्छ।

ललिता राई जब अहमद भइन् त्यो प्रसङ्ग उल्लेख नगरी यो श्रद्धाञ्जली लेख पुरा हुन सक्दैन।  अङ्ग्रेजीका प्रोफेसर डा. एरशाद अहमद र उनको जोडी अद्भुत अनि बेजोड थियो। किराँतकी छोरी, हिन्दु धर्मावलम्बी परिवारबाट आएकी ललिता राई अनि मुस्लिम धर्मावलम्बी एरशाद अहमदको सुन्दर वैवाहिक जीवन धेरैको निम्ति कौतूहलको विषय थियो। आ- आफ्ना मूल्य र मान्यताहरूलाई समेट्दै एक अर्काप्रति श्रद्धा र विश्वास कायम राखेका यी दम्पत्तिको जीवन साँच्चै उदाहरणीय थियो। एकपल्ट मैले गुरूमालाई उनीहरूको यो वैवाहिक जीवनबारे सोध्ने धृष्टता गरेको थिएँ।

गुरूमाले अति भावुक भएर भनिन्- उनको (एरशाद सरको)  अन्य विशेषता साथसाथै अत्यन्त कमजोर नेत्रशक्तिकै कारण मैले उनलाई जीवनसाथीको रूपमा चुनेकी हुँ। मेरी आमाले पनि यस्तै अन्धत्वमा नै जीवन बिताएकी थिइन्। उनलाई चुन्दा मलाई लाग्यो मैले आफ्नो आमाप्रति न्याय गरिरहेकी छु। साँच्चै एरशाद सरप्रति उनको जुन प्रेम अनि दायित्वको भाव थियो त्यस्तो त्याग र समर्पण पति-पत्नीमा विरलै देखिन्छ। अबको जीवनसाथीविहीन जीवन एरशाद सरले कसरी बिताउलान्, उनका धेरै शुभचिन्तकहरू झैं  यसघरि म पनि यस विषयमा चिन्तित छु।

फोक्सोको क्यान्सरले ग्रस्त भएपछि प्रायः दुई वर्षसम्म उनी यस रोगसित लडिन्। आफ्ना जीवनका अन्तिम दिनहरूमा पनि उनी उज्याली देखिन्थिन्। ९ मईको दिन उपचाराधीन अवस्थामा मुम्बईको सुश्रुत अस्पतालमा ललिता राई अहमदको देहान्त भयो। उनको देहावसानले जन्माएको शुन्यता भरिन असम्भवप्रायः छ। एउटी प्रेममयी जीवनसङ्गिनी, दायित्वशील प्रशासक, साहसी नारी, अनुशासित प्रशिक्षक, दृढसङ्कल्पित शिक्षाविद, विदुषी साहित्य साधिका, हजारौं विद्यार्थीहरूको प्रेरणास्रोत, समाजसेवी असाधारण आदर्श नारीको स्थान अब कसले लिन सक्ला र! यस्ता नमनीय दिवङ्गत गुरूमाप्रति हार्दिक श्रद्धाञ्जली।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन