मुम्बईमा बसिबियाँलो : समाजमुखी भएर काम गर्ने पक्षमा सहमति

मुम्बई, 21 मई


यहाँ सम्पन्न पहिलो प्रकरणसँगै सिक्किमको राजधानी गान्तोकमा जन्म लिएर अन्यत्र मौलिँदै गएको मासिक वैचारिक भेटघाटको कार्यक्रम बसिबियाँलो -ले नेपालीभाषीइतर इलाकामा पहिलोपल्ट आफ्नो बिरुवा रोप्न सफल बनेको छ। आजसम्म नेपालीभाषी बहुल क्षेत्रमा मात्र सीमित रहेको यस वैचारिक भेटघाटको मासिक कार्यक्रमले भारतवर्षको व्यस्ततम महानगरी मुम्बईमा आफ्नो प्रथम प्रकरण सफलतापूर्वक सम्पन्न गरेर आफ्नो यात्राक्रममा एउटा माइलखुट्टी स्थापना गरेको छ।

बृहन्मुम्बईको व्यस्त व्यापारिक उपनगर परेलको दामोदर स्कुलमा यहाँकी सामाजिक कार्यकर्ता अनि कलाकार साकिनाकानिवासी श्रीमती सकुन सिँह राईको घरपटीत्वमा सम्पन्न पहिलो बसिबियाँलो-मा मुम्बई वरिपरिका विभिन्न क्षेत्रहरूका नेपालीभाषीहरूको उपस्थिति रहेको थियो। 34 डिग्रीको गर्मीमा सम्पन्न कार्यक्रमको थालनी श्रीमती राईको स्वागत वक्तव्यबाट सुरू गरिएको थियो।

उक्त स्वागत वक्तव्यमा श्रीमती सिँहले बसिबियाँलो-को संक्षिप्त परिचय राखेर उपस्थित सबैलाई मुम्बईको पहिलो प्रकरणको घरपटीत्वको भार सम्हाल्न पाएकोमा कृतज्ञता प्रकट गरिन्। मुम्बईजस्तो व्यस्त महानगरमा यसरी नेपालीभाषीहरू महिनामा एकचोटि भेटघाट गर्नुपर्ने आवश्यकता दीर्घ दिनदेखि नै बोध भए तापनि बसिबियाँलो-ले सो अभावलाई पूर्ति गरिदिएको उनले मन्तव्य पोखिन्।

बसिबियाँलो-को मासिक भेटघाटमार्फत् मुम्बईमै जन्मेर हुर्केका नेपालीभाषी परिवारका छोराछोरीहरूले आफ्नो मातृभाषामा बोल्न अनि विचारहरू प्रकट गर्न पाउनेछन् भनी उनले आशा साँचिन्। त्यसपछि साकिनाका, एन्टप हिल, मलाढ, गोरेगाउँ, घाटकोपर, नेभीनगर कोलाबा, भिवन्डी, बोरिवली, जुहु, अन्धेरी, नयाँ मुम्बई, वासी, कोल्वा थाने आदि विभिन्न उपनगरहरूबाट आएका नेपालीभाषीहरूले आ-आफ्नो परिचय दिएर बसिबियाँलो-को पहिलो प्रकरणमा आफु सहभागी हुन पाएबापत् हर्ष प्रकट गरे।

यसरी नै बसिबियाँलो-को विस्तृत परिचय प्रदान गर्दै यसलाई समाजमुखी बनाउनुपर्ने वक्तव्यसहित नाइके हीरा छेत्रीले आचार संहिता पाठ गराए। बसिबियाँलो-लाई केवल भेटघाटमा मात्र सीमित नराखेर यसलाई समाजमुखी बनाउनुपर्ने वक्तव्य राख्दै उनले यस मञ्चको माध्यमद्वारा विभिन्न जातीय कार्यक्रमहरू आयोजना गर्नसकिने प्रस्ताव राखे जसमाथि उपस्थित सबैले आआफ्नो विचार पोखे।

सोनी म्युजिकसित सम्बन्धित रहेर दीर्घ दिनदेखि काम गरिआएका अनि हालमा निजी व्यवसायमा लागिपरेका परिचित सामाजिक कार्यकर्ता गोविन्द रामहरि शर्माले कुनै पनि सामाजिक कार्य निष्पादन गर्नअघि त्यसको लक्ष्य स्पष्ट हुनुपर्ने अनि मैदानमा उत्रेर व्यावहारिक काम गरेपछि मात्र मानिसहरूको मन जित्नसकिने विचार पोखे।

उनले बसिबियाँलो-लाई एउटा ब्रान्डको रुपमा प्रस्तुत गर्नसक्नुपर्ने दिशामा काम गर्नुपर्ने बताए। कतिपय ट्रस्टहरूसित सम्बन्धित रहेर सामाजिक कार्य गरी आइरहेका शर्माले कुनै पनि ठुलो परिकल्पना पूर्ण गर्न समय लाग्नसक्ने भए पनि त्यो कठिन हुनसक्ने तर असम्भव चाहिँ नहुने बताए। उनले उपस्थित सबैलाई बसिबियाँलो-को तर्फबाट आयोजना हुने कुनै पनि सामाजिक कार्यमा आफ्नो क्षमता र अनुभवअनुसार सहयोग पुऱ्याउने प्रतिश्रुति दिए।

गेम डेभलपमेन्टको क्षेत्रमा दीर्घ दिनदेखि काम गरेर आइरहेका खरसाङनिवासी युवा प्रतिभा सपन नौवागले बसिबियाँलो-का उद्देश्य र उत्तरदायित्व अनि मुम्बईको बसिबियाँलो अनि कालेबुङको बसिबियाँलो-का भिन्नताहरू स्पष्ट हुनुपर्ने कुरो राखे। उनले आफु अन्य सामाजिक संस्थाहरूसित पनि सम्बन्धित रहेर कतिपय कामकाजहरू गरिआइरहेका बताए।

भारतीय नौसेनामा पनडुब्बी अभियान्त्रिक अथवा सबमेरिन इन्जिनियरका रुपमा कार्य गरिरहेका कोलाबानिवासी युवा प्रतिभा केशव सापकोटाले बसिबियाँलो-ले सामाजिक कार्यहरू निष्पादन गर्ने काममा हत्तार नगरेर हालमा यहाँ पहिलेदेखि नै समानान्तर रुपमा कार्य गरेर आइरहेका अस्तित्वमान् संस्थाका प्रतिनिधिहरूसित पनि अन्तर्क्रिया आयोजना गर्नुपर्ने मनसाय पोखे।

उनले मुम्बईका सम्पूर्ण नेपाली-गोर्खा समाज-संस्थाहरू आ-आफ्नै उद्देश्यमा काम गरिरहे तापनि बसिबियाँलो-ले भने ती सबैलाई एउटै छत्रछायाँमा ल्याउनसक्ने उनले बताए। उनले बसिबियाँलो-को मूलमन्त्र नै निष्पक्ष रुपमा उन्मुक्त विचारहरूको आदान प्रदान रहेको कारण यसमा सबै राष्ट्र, क्षेत्र, सिद्धान्तका मानिसहरू सामाजिक, शैक्षिक, राजनीतिक आदि दिशाबाट भेला हुनसक्ने बताए।

सिनेमाटोग्राफर युवराज नेउपानेले आफ्नो विचार पोख्दै बसिबियाँलो -ले सुरूमा चिकित्सा शिविरहरूको आयोजना जस्ता सामाजिक कार्यहरू गरेर मुम्बईमा आफ्नो परिचय कायम राख्दै जानुपर्ने अनि त्यसकै आधारमा मनमिल्दा सहयात्रीहरू जोड़िँदै जाने सम्भावना रहेको बताए। सामाजिक कार्यमा सहयोग गर्न धेरैजना अघि आउनसक्ने बताउँदै उनले तर सुरूमा कतिपय कल्याणकारी कामहरू गर्नुपर्ने बताए।

इन्टरियर डिजाइनर सुश्री मञ्जुषा श्रेष्ठले बसिबियाँलो जस्तो मञ्चको कारण नेपाली भाषामा पहिलोपल्ट यसरी आफ्ना मानिसहरूसित बातचित गर्न पाइरहेकी बताउँदै यस्ता मञ्चहरूको कारण धेरै प्रकारका जानकारीहरू आदान प्रदान हुनसक्ने जनाइन्। आफु भारतीय हुँदाहुँदै पनि यस देशको नागरिकता प्राप्त गर्नमा झेल्नु परेका समस्याहरूबारे अवगत गराउँदै उनले निकट भविष्यमा यस्ता कठिनाइहरू भावी पिढ़ीले सामना गर्नु नपरोस् जसका लागि बसिबियाँलो- जस्ता बौद्धिक जमातका मानिसहरूले मार्ग दर्शन गरिदिऊन् भन्ने मन्तव्य पोखिन्। उनले बसिबियाँलो-को यात्रामा आफु पनि सरिक भएर अघि आउने बताइन्।

सिने-सम्पादकका रूपमा कार्य गरिसकेका सामाजिक कार्यकर्ता कमल सिँहले मुम्बईबाहिरबाट विभिन्न कारणहरूमा यहाँ आउने नेपालीभाषीहरूलाई अस्थायी रुपमा रहनका लागि एउटा सानो घर सुरू गरेर भविष्यमा यसैलाई ठुलो रुपमा स्थापना गर्ने विषयमा सोचिरहेको बसिबियाँलो-को विचारमा एकमत हुँदै यसका लागि बसिबियाँलो मुम्बईको टोलीले अन्य स्थानहरूको भ्रमण गरेर सबैलाई जागरुक तुल्याउनुपर्ने सुझाउ दिए। उनको सुझाउमाथि सबैले आआफ्ना विचारहरू पोखे। काम गरेर मन जित्न सक्यौँ भने सहयोगी हातहरूको कमी नरहने उनले दाबी गरे।

सामाजिक कार्यकर्ता विकास दूतराजले पनि आफ्नो विचार पोख्दै हालमा एउटा सानो कोठा किराइमा लिएर आश्रमको रुपमा सुरू गर्नुपर्ने अनुभव पोखे अनि यसका लागि आवश्यक तकनिकी कामहरूमा ध्यान दिएर कार्यकारी समिति गठन गरिनुपर्ने मन्तव्य राखे।

आज सम्पन्न पहिलो प्रकरणमा बसिबियाँलो-को पक्षबाट निकट भविष्यमा मुम्बईवासी नेपालीभाषीहरूको टेलिफोन डाइरेक्टरी प्रकाशन गर्ने, स्मारिका प्रकाशन गर्ने, नेपाली जातीय चाड़-पर्वहरू पालन गर्ने, देउसी-भैलो खेल्ने, नेपाली चित्रकारहरूका चित्रहरूको प्रदर्शनी राख्ने, सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने, रोजगार, उच्च शिक्षा तथा करियरबारे कर्मशालाहरूको आयोजना गर्ने, बाहिरबाट उपचारका लागि मुम्बईमा आउने नेपालीभाषीहरूलाई सहयोग पुऱ्याउने, पहाड़का हस्तशिल्पका नमुनाहरूको प्रदर्शनी-बिक्री आदिको आयोजना गर्ने, नेपाली नाटकहरूको मञ्चन गर्ने, जातीय खानपानको मेला आयोजना गर्ने इत्यादि विषयमा चर्चा चलेको थियो।

कार्यक्रमको अन्त्यमा आगामी महिना सम्पन्न हुने बसिबियाँलो-का घरपटी गोविन्द रामहरि शर्माले सबैलाई दोस्रो प्रकरणमा अन्य सहयात्रीहरूलाई साथमा लिएर उपस्थित भइदिने निमन्त्रणा गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares