आउँदो चुनाउ सिक्किमेको हितमा लड्नेछौं अनि विपक्षीहरू सबै हाम्रो विरोधमा लड्नेछन्- पवन चामलिङ

 नाम्ची, 22 मई ।


मुख्यमन्त्री पवन चामलिङले अहिलेबाटै 2019 को चुनाउको एजेण्डालाई जनता अघि राख्दै चुनावी जन सम्वाद तथा जन सम्मान यात्रा मार्फत आफ्नो चुनावी रणनीति शुरु गरेका छन्। 2019को चुनाउमा एसडीएफ पार्टीले मात्र सिक्किमे जनताको हितमा चुनाउ लड़ने अरु सबै विपक्षी पार्टी भने एसडीएफको विरोधमा लड़ने मुख्यमन्त्री पवन चामलिङको भनाइ रहेको छ।

आज यहाँको आसाङथाङ हेलिपेडमा राज्यव्यापी जनसम्पर्क तथा जनसेवा कार्यक्रमअन्तर्गत नाम्ची र पोकलक कामराङ्का जनतालाई सम्बोधन गर्नेक्रममा उनले यस्तो वयान दिएका हुन्। यसको साथै उनले विपक्षी पार्टीहरूले कहिल्यै पनि सक्किम र सिक्किमे जनताको हितमा राजनीति नगरेको तथा जहिल्यै पनि केवल सरकार ढाल्ने लक्ष्य लिएर हँड़ने गरेको आरोप लगाए।

अर्कोतिर राज्यमा धेरैजना बाहिरका एजेन्टहरू सक्रिय रहेको र ती बाहिरका एजेन्टहरुकै इशारामा कतिपय नयाँ राजनीतिक पार्टी अस्तित्वमा आइरहेको पनि उनले थप बताए। राजनीति गर्नु सजिलो काम नरहेको आज मुख्यमन्त्रीले बताए। यसमा आफ्नो सम्पूर्ण जीवन नै समर्पण गरेर आफ्नो सिद्धान्त बनाउनुपर्ने र जनताको हितमा रातदिन एक गरेर काम गर्नुपर्ने जुन कुरा राज्यका विपक्षी पार्टीहरूले नबुझेको उनले बताए। ‘पछिल्लो 24 वर्षदेखि राज्यमा एसडीएफ पार्टीको सरकार छ।

एसडीएफ पार्टीले सिक्किमवासीलाई एउटा स्थिर सरकार दिन सक्षम भएको छ। राज्यमा शान्ति र सुरक्षाको माहौल कायम गरेको छ। सरकारले राज्यवासीको सबै बुनियादी सुविधा पुरा गरेको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत अन्य सबै क्षेत्रमा राज्यवासीको आवश्यक्ता पूरा भएको छ’, उनले भने। बाहिरको शक्ति र उनीहरूको सिक्किमे एजेन्टहरूको सक्रियताले राज्यको राजनीतिक समिकरण बद्लिरहेको मुख्यमन्त्रीले बताए। ती बाहिरका शक्ति र सिक्किमे एजेण्टहरू राज्यको राजनीतिक स्थितरतालाई भङ्ग गर्ने प्रयासमा लागेको छ भन्दै यसबाट सिक्किमे जनता सतर्क रहनुपर्ने उनले बताए।

जेलमा रहेका नेताले नेतृत्व गरेको राज्यको भविष्य कस्तो हुनेछ भन्ने प्रश्न गर्दै मुख्यमन्त्री चामलिङले राज्यका प्रमुख विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चाका कार्यकर्ता र समर्थकहरूलई राज्यको हितमा एसडीएफ पार्टीमा सामेल हुने आह्वान पनि गरे। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री चामलिङले लिम्बू तामाङलाई राज्य विधानसभामा जनजाति आसन आरक्षण र छुटेका 11 वटा नेपाली जात गोष्ठीलाई जनजातिको माग सम्बन्धमा बोल्दै यी दुवै माग चाँड़ुै पूरा हुने विश्वास व्यक्त गरे।

एसडीएफ सरकारले नै यी दुवै विषयलाई केन्द्र सरकारसमक्ष उठाएको पनि उनले थप बताए। एसडीएफ पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अझ सक्रिय भएर पार्टीको नीति र सिद्धान्त साथै सरकारको विकासमुखी कार्यक्रमलाई राज्यका सबै जनजनसम्म पुर्याउने अपील गरे। यसरी नै पञ्चायतहरूले पनि सरकारको विभिन्न कार्यक्रम र योजनालाई प्रत्येक जनतासम्म पुर्याउनुपर्ने उनले थप बताए। शिक्षाको विषयमा बोल्दै राज्यका प्रत्येक वरिष्ट माध्यामिक विद्यालयमा वाणिज्य र विज्ञान विषयको पढ़ाई आरम्भ गर्ने सरकारको योजना रहेको मुख्यमन्त्रीले बताए।

आज मुख्यमन्त्रीले विभिन्न घोषणा पनि गरे जसमा चाँड़ै व्यापारी समुदायका बीपीएल (गरिबी रेखामुनी) हरूको निम्ति मेला लगाइने, लामाहरूको निम्ति पनि गान्तोकमा मेला लगाइने, पेरि ग्यास सिलिण्डर, प्रेसर कुकर, जीसीआई सिट आदि वितरण गरिने आदि प्रमुख रहेको छ। यसै अवसरमा आज मुख्यमन्त्री चामलिङलाई क्षेत्रको विकासको निम्ति नाम्ची र पोकलक कामराङका विद्यार्थी र सर्वसाधरणको पक्षबाट सम्मान पनि जनाइयो। अर्कोतिर मुख्यमन्त्रीले आज क्षेत्रवासीले राखेका सबै मागहरू पूरा गर्ने आश्वासन दिएका छन्।

यस अघि मुख्यमन्त्रीले नाम्ची जिल्ला अस्पतालमा नवनिर्मित आइ डिपार्टमेन्टको विधिवत उद्घाटन गरे भने अस्पतालका बिमारीहरूसित कुराकानी पनि गरे। आजको कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष तथा पोकलक कामराङ निर्वाचन क्षेत्रका विधायक केएन राई, विभिन्न विभागीय मन्त्री, विधायक र विभिन्न विभागका अधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares