सिक्किमका म्याराथन म्यानले हैदरवादमा 12 घण्टा कुदेर नयाँ रेकर्ड बनाउने

 गान्तोक, 22 मई ।


म्यारथन म्यान अफ सिक्किमले परिचित धावक अमर सुब्बा फेरि पनि ’12 आवर स्टेडियम च्यालेञ्ज रन’ मा भाग लिन गइरहेका छन्। एनईबी स्पोर्टसद्वारा आगामी 26 मईको दिन हैदराबादस्थित स्थानीय एउटा स्टेडियममा आयोजन हुने यस प्रतिस्पर्धामा भाग लिन उनी बुधबार हैदराबाद प्रस्थान हुनेछन्। प्रेस क्लब अफ सिक्किममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा धावक सुब्बाले उक्त जानकारी दिए। धावक सुब्बा ’12 आवर स्टेडियम च्यालेञ्ज रन’ मा तेस्रो पटक भाग लिन गइरहेका छन्। सर्वप्रथम उनले वर्ष 2014 मा ब्याङ्गलोरमा आयोजित ’12 आवर स्टेडियम च्यालेञ्ज रन’ मा भाग लिएका थिए।

त्यस समय उनले 12 घण्टाको समयमा 96 किलोमिटरको दूरी तय गरेका थिए। यसरी नै दोस्रोपल्ट मुम्बईमा आयोजित प्रतिस्पर्धामा उनले 12 घण्टामा 95.06 मिलोमिटरको दूरी तय गर्दै पॉंचौं स्थान प्राप्त गरेका थिए। त्यसपछि कतिपय कारणवश आफूले यस प्रतिस्पर्धामा भाग लिने अवसर नपाएको उनले पत्रकार सम्मेलनमा बताए। लगभग तीन वर्षको अन्तरालपछि ’12 आवर स्टेडियम च्यालेञ्ज रन’ मा पुन: सहभागी बन्न गइरहेका धावक सुब्बाले आफ्नो पुरानो रिकर्ड तोड्ने लक्ष्य लिएको बताए।

विगतमा आयोजित उक्त प्रतिस्पर्धाहरू सबै नै दिउॅंसो आयोजन भएको थियो भने यस पाली उक्त प्रतिस्पर्धा राती आयोजन भइरहेको उनले थप जानकारी दिए। उनले राती 7 बजीदेखि दौड़ शुरू हुनेछ र बिहान 7 बजी दौड़ समाप्त हुनेछ भने। उनले स्टेडियम च्यालेञ्ज रन भारतमै पहिलोपल्ट राती आयोजन भइरहेको बताए। यस प्रतिस्पर्धामा भाग लिनको निम्ति आयोजक संस्थाले देशबाट केही धावकहरूलाई मात्र आमन्त्रित गरेको उनले जानकारी दिए। उनले आफ्नो निम्ति पनि यो नौलो अनुभव रहने बताए।

उनले प्रतिस्पर्धाको निम्ति अभ्यास गर्न धेरै समय नपाएको पनि बताए। यद्यपि, आफ्नो राज्य, जाति र आफ्नो नामलाई उच्च राख्न कुनै कसर बांकी नराख्ने धावक सुब्बाले बताए। उनले यतिका वर्षसम्म आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए भने उनीहरूबाट यसरी नै निरन्तर सहयोग प्राप्त भइरहोस भन्ने आग्रह पनि गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares