37 नम्बर समष्टिमा 5 वटा योजनाको शिलान्यास, क्षेत्रवासीको समस्या समाधान हुने पूर्व सभासदको भनाइ

कालेबुङ, 22 मई।

37 नम्बर समष्टि कालेबुङ अन्तर्गत आज 5 वटा योजनाहरूको शिलान्यास गरिएको छ। जीटीए उपाध्यक्ष अनित थापाको उपस्थितिमा उक्त पाँच वटा योजनाहरूको शिलान्यास गरिएको हो।

कार्यक्रममा जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसनका सदस्य सञ्चबीर सुब्बा, क्षेत्रका पूर्व सभासद तथा गोजनामो जिल्ला प्रभारी कल्पना तामाङ, सोनाम याक्खा, अलगडा इञ्जिनियरीङ डिभिजनका एक्जिक्यूटीभ इञ्जिनीयर अनिल छेत्री आदिको उपस्थिति रहेको थियो। 14 माइल दलपचन्दमा सम्पन्न कार्यक्रममा राई गाउँदेखि लोवर विद्याङसम्म जाने 3 किलोमिटर सडक, दलपचन्ददेखि क्याप्टन गाउँसम्म पुग्ने 7 सय मिटर सडक, हिमुल डायरीदेखि दाहाल गाउँसम्म पुग्ने 1.25 किलोमीटर सडक, घिमिरे गोलाइदेखि थापा गाउँसम्म पुग्ने 2.50 किलोमीटर सडक अनि चार माइल लाभा रोड पाकथाङदेखि रेली पीएचई पम्प हाउससम्मको सडक निर्माणको गरिएको छ। उक्त पाँचवटा योजनाको निम्ति कूल 7 करोड 12 लाख 17 हजार 1 सय 77 रूपियाँ प्रदान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कल्पना तामाङले जीटीए अध्यक्ष तथा उपाध्यक्षप्रति योजनाको निम्ति आभार व्यक्त गर्दै उक्त सडकहरूको निर्माण कार्यले स्थानीय कृषकहरूलाई धेरै फाइदा पुग्ने बताइन्। विशेष उक्त क्षेत्रका मानिसहरूले सब्जी खेती गरेर कालेबुङ तथा अन्य स्थानहरूमा बेच-बिखन गर्न लाने गरेको अनि अहिलेसम्म पनि मुख्य सडकसम्म सब्जी बोकेर ल्याउनपर्ने स्थिति रहेकोले कृषकहरूले व्यापक समस्या भोग्न परिरहेको बताइन्। कृषकहरूले सब्जी लगायत दूध साथै अन्य सामाग्रीहरू बजारसम्म बेच्न लैजान लगभग ३ किलोमिटर बोकेर नै सडकसम्म  ल्याउन पर्ने भएकाले धेरै नै असुविधा भोग्न परिरहेको तिनले बताइन्।

लामो समयदेखि भोग्न परिररहेको उक्त समस्या सडक निर्माणपछि समाधान भएर जाने अनि यसले कुनै पनि आपत-विपदको समयमा स्थानीय मानिसहरूलाई धेरै फाइदा पुग्ने तामाङले बताइन्। समष्टिको अन्य विभिन्न क्षेत्रहरूमा पनि धेरैवटा समस्याहरू रहेको जसको समाधान गर्न आफू लागिपरेको पनि तिनले बताइन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares