‘बस अनि चित्र बनाउँ’ प्रतियोगिता सम्पन्न

कालेबुङ, 27 मई


कालेबुङ सचेत मञ्चले आज यहाँको लोवर बोङ बस्तीमा ‘बस अनि चित्र बनाउँ’ प्रतियोगिताको आयोजना गरेको थियो। बोङ बस्तीस्थित गणेश निम्न बुनियादी पाठशालाका विद्यार्थीहरूलाई लिएर मञ्चले उक्त प्रतियोगिताको आयोजना गरेको थियो। मञ्चका अध्यक्ष भरत योगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्कुलका प्रधान शिक्षक एस. बी. तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए भने पर्यावरण चेतना सम्पादक तथा मञ्चका प्रमुख सल्लाहकार भुवन पी. खनाल, स्कुल शिक्षक-शिक्षिकाहरूमा टेकेन्द्र भण्डारी, सुरेखा तामाङ, रिता छेत्री, सोनु दर्नाल आदि अतिथिहरूका रूपमा उपस्थित थिए।

मञ्चका सदस्य रोशन दाहालद्वारा सञ्चालित उक्त प्रतियोगितात्मक कार्यक्रममा दिपेन तामाङ र दुर्गा प्रसाद दाहाल निर्णायकका रूपमा रहेका थिए। विशेष पर्यावरण विषय चेतना फैलाउने उद्देश्य लिएर पर्यावरणसित आधारित उक्त प्रतियोगितात्मक कार्यक्रममा दुर्गा प्रसाद दाहालले पर्यावरणको विशेषता, संरक्षण आदिबारे विद्यार्थीहरूलाई सचेत गराएपछि प्रतियोगिता शुरू गरिएको थियो। प्रतियोगितामा सृष्टि शर्मा पहिलो, बिना छेत्री दोस्त्रो अनि इन्दिरा मगर तेस्त्रो बनेका थिए। प्रतोयोगितामा प्रथम, दोस्त्रो, तेस्त्रो अनि चौथो स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई अतिथिहरूको बाहुलीबाट पुरस्कार वितरण गरिएको थियो।

यसबाहेक स्कुलका सम्पूर्ण विद्यार्थीहरूलाई मञ्चले खाता, पेन्सिल आदि पनि वितरण गरेको थियो। कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै मञ्चका सल्लाहकार भुवन पी. खनालले विद्यार्थीहरूमाझ पर्यावरण सम्बन्धी सचेतना फैलाउन स्कुलका 20 जना विद्यार्थीहरूलाई लिएर उक्त कार्यक्रम गरिएको बताए। स्थापना काल देखिनै राजनैतिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा सचेतनामुलक कार्य गर्दै आइरहेको कालेबुङ सचेत मञ्चले आज विद्यार्थीहरूलाई लिएर यस कार्यक्रम गरिएको हो भने भावी दिनहरूमा पनि मञ्चले यस्तै प्रकारको कार्य गरेर समाजमा सचेतना फैलाउने कार्य गर्ने खनालले थप बताए।

यसरी नै यस प्रकारको सचेतनामूलक कार्य गरेर स्कुलका विद्यार्थीहरूलाई सचेत बनाउने कार्य गरेवापत स्कुलका प्रधान शिक्षकले मञ्चलाई आभार व्यक्त गरे। कार्यक्रममा मञ्चको तर्फबाट उपाध्यक्ष नरेश भण्डारी, सचिव हेमकुमार छेत्री, सहसचिव राजेश छेत्री, सदस्य नवराज अधिकारी, वरूण अधिकारी, हेमकुमार सापकोटा पनि उपस्थित रहेका थिए

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया