रजस्वला दिवसमा कविता : रियाले रुवाइन् श्रोता

कालेबुङ, 27 मई


क्याफिन एन्ड कपिजले मन्सोङ लाइब्रेरीले प्रदान गरेको खास अवसर अनि खबरम्यागजिन र खोजखबरको सहकार्यमा भोलिको ‘रजस्वला दिवस’-लाई कवितीय अभिव्यक्तिमार्फत आज नै पालन गऱ्यो। चिट्ठामा पालो परेका कविहरूले पालैपिलो कविता सुनाए। भिक्टोरियन समयदेखि नारीवादले अहिलेसम्म फेरिरहेको स्वरूप र आजका पुस्ताले समाजमा बनेका कतिपय टाबोसित कसरी ‘डिल’ गर्ने हो, यसका सङ्कटहरूबारे अभिनाश राईले कुरा खोतलेपछि कार्यक्रम अघि बढ्यो।

त्यसैबीच अभिनाशले रजस्वालाजस्ता स्वाभाविक प्रक्रियालाई लाज, हेय र अछुत विषयकोरूपमा स्थापित गर्ने जडसमाजबीच उभिएका पुस्ताका ‘एक्टिभिज्म’ बारे बताउँदै कुराको बीट सरलरूपमा मारेपछि मनोज बोगटी चिट्ठा बोकेर मञ्चमा उभिने पहिलो कवि बनेका थिए।

‘दिदी’ र ‘भीरमा फूलमति’ कवितामार्फत बोगटीले भोकै रहेर राष्ट्रसेवा गर्नु अनुत्पादक अभ्यास रहने बताउँदै केही अङ्गको कारण नारीलाई हेर्ने दृष्टि र नियत खराब राख्ने पितृसत्ताप्रति विमति जनाए। उमेश परिवारले मासिक धर्मको ‘पाँच दिन’-ले नारीलाई अछुत बनाउने संस्कारको कवितीय प्रतिवाद जनाए। यता पुकार राईले ‘लेस्वियन अभ्यास’ सुनाए। यसबीच अङ्ग्रेजीमा प्रियदर्शनाले ‘मिसक्यारेज’-को मनोदशाबारे आमासित संवाद गरिएको कवितीय अभिव्यक्ति राखिन्। यता क्रमैले निशा छेत्री, सुवर्ण सुब्बा र सुदेशना प्रधानले रजस्वालासित जोडिएका सङ्कटहरूबारे लेखिएका कविता सुनाइन्।

जोरथाङका कवि रवि रोदनले आफ्नो कविता त सुनाए नै। रोदनले माउन्ट सेनाई अकादमी जुम (सिक्किम)मा सातौं श्रेणी पढ्दै गरेकी 12 वर्षीय रिया तामाङ पनि लिएर आएका थिए। रिया आफै चाँही कवि होइनन् तर विभिन्न कविहरूका कविता वाचन गरेर अहिले ख्याति कमाइरहेकी फुच्ची पोयट्री पर्फर्मर हुन्।

जतिखेर रियाले आफ्नो वाचन थालिन् दर्शकदिर्घा सुनसान बनेको थियो। कल्याण गुरुङ र रबि रोदनलगायतका कविता सुनाएकी रियाले एउटा अङ्ग्रेजी कवितासमेत सुनाउन भ्याइन्।

जतिखेर रियाले रबि रोदनको सिरिया सुनाइन् मन्सोङ लाइब्रेरीमा कविता सुन्न बसेका कुनै पनि दर्शकको आँखा ओभानो रहेन। कविता आधा पुग्दानपुग्दै श्रोताहरू रुन थालिसकेका थिए।

सिरियाका मसिना नानीहरूको रगतको होली खेल्ने अमेरिका र रुसविरुद्ध ‘सेम अन’ भन्दै कविता सुनाइरहेकी रिया तामाङ आफै पनि रोइरहेकी थिइन्। जब रिया कविता सुनाउँदा सुनाउँदै हिकहिकाइन् श्रोताहरूले आँशु थाम्न सकेनन्। सिरियाको पीडालाई रियाले सानो कोठामा यसरी बल्झाइन् सुन्नेहरूको रोमरोममा प्रतिवादी तरङ फैलिइरहेको थियो।

रियाले सिरिया सुनाइसकेपछि 15 मिनटजस्तो कसैले पनि कविता सुनाउने माहौल बनेन। रियाको वाचनले उत्पन्न गरेको प्रभावलाई श्रोताहरूमा अझ रहन दिन आयोजकले केही क्षण कार्यक्रम रोक्न परेको थियो।

क्यापिन एन्ड कपिजका सदस्य निशा छेत्रीले भनिन्, ‘कविता वाचनको प्रभाव यति पीडाजनक होला भन्ने अनुभव पहिले गरेको थिइन। रियाले वाचनमार्फत जुन प्रभाव दिइन्, त्यो अभूतपूर्व थियो।’ यता रियाका गुरु रवि रोदन हर्षित देखिन्थे। ‘पहिले स्कूलमा नै उकेरा कार्यक्रम गरें, रियाहरूजस्ता प्रतिभा खोज्न। ती मध्ये रियामा यस्तो वाचनकला भेटियो, जो अरूमा विरलै हुन्छ,’ रोदनले भने, रिया कपि कवितामार्फत सबैमा चिनिइन्, यो अत्यन्तै खुशीको कुरा लागेको छ। रिया राम्रो पर्फमरकोरूपमा उदाउने आशा राखेको छु।’

रियासितै उनका आमाबाबा पनि एका थिए। ‘छोरीलाई यस्तो मौका दिनु भो, हामी खुशी छौं। रियामाथि हामीले पनि ठूलो आशा राखेका छौं,’ रियाका बाबा रामबहादुर तामाङले भने। कार्यक्रममा मन्सोङ लाइब्रेरीका विपल रसाइली लगायतले गीत पनि सुनाएका थिए भने खोजखबरले युट्युब कभरेज गरेको थियो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया