‘स्थानीय निर्माणकर्मीहरूलाई मौका दिनुपर्छ’

दार्जीलिङ, 27 मई।


स्थानीय निर्माणकर्मीहरूले काम बिगारे, त्यसको जिम्मा आफ्नो काँधमा लिने निर्णय लिंदै गठन भएको दार्जीलिङ गोर्खा कन्स्ट्रक्शन लेबर वेलफेयर युनियनले आगामी 3 जूनको दिन यहाँको हिमालयन कला मन्दिर भवनमा एक सभाको आयोजना गर्ने निर्णय लिएको छ।

हाल बाहिरबाट आएका निर्माणकर्मीहरूलेनै राम्रो काम गर्छन् अनि स्थानीय निर्माणकर्मीहरूको काममा कुनै गुणस्तर हुँदैन भन्ने सोंच पहाड़का जनताको मनबाट हटाउने साथै स्थानीय निर्माणकर्मीहरूलाई एकजुट बनाउने उद्देश्य लिएर गठन भएको यस नवगठित सङ्गठनमा 3,700 सदस्य बनिसकेको पनि सङ्गठनका पदाधिकारीवर्गले बताएका छन्।

यसैबारे कुराकानी गर्दै सङ्गठनका अध्यक्ष विकास सुनार, सचिव दिपेन्द्र सुब्बा र कार्यकारी सदस्य अनुप राईले भने-दार्जीलिङ पहाड़मा जहिले पनि श्रमिकहरूको कुरा आउँछ, तर यसमा निर्माणकर्मीहरू सधैं वञ्चित बन्ने गरेका छन्। उनीहरूका लागि कहिले कुनै पार्टी वा नेताहरू बोलिदिंदैनन्।

यसैले यी निर्माणकर्मीहरूमाथि राजनैतिक पार्टी वा नेताहरूको पनि नजर परोस् भनेरनै प्रथमपल्ट अराजनैतिक सङ्गठनको रूपमा दार्जीलिङ गोर्खा कन्स्ट्रक्शन लेबर वेलफेयर युनियनको गठन गरिएको हो। उनीहरूले यस सङ्गठनले आफ्नो वेबसाइट पनि शुरू गर्ने योजना बनाएको बताउँदै उक्त वेबसाइटमा काठ मिस्त्री, सिमेन्ट मिस्त्री, ग्रील मिस्त्रीका साथै सबैप्रकारका मिस्त्रीहरूको फोन नम्बरदेखि उनीहरूको रेट पनि उल्लेख गरिने तय गरिएको जानकारी गराए।

उनीहरूले भने-हाल दार्जीलिङ पहाड़मानै धेरै असल निर्माणकर्मीहरू छन्, तर केही निर्माणकर्मीहरूको कारण उनीहरू पनि बद्नाम बनिरहेका छन्। यसैले दार्जीलिङका जनताले प्रथमतः स्थानीय निर्माणकर्मीहरूलाई एकपल्ट मौका दिएको असल हुनेछ। अब सङ्गठनले यहाँका निर्माणकर्मीहरूलाई परिचय पत्र दिनेछ अनि यस सङ्गठनको परिचय पत्र भएका निर्माणकर्मीहरूले कसैको घर आदि निर्माण गर्दा बिगारिदिए, त्यसको जिम्मेवारी सङ्गठनले लिनेछ।

यसरीनै सङ्गठनले अबउसो दार्जीलिङ क्षेत्रका निर्माणकर्मीहरूलाई सरकारबाट उपलब्ध हुने सुविधा-सहुलियत पनि खोजी दिने निर्णय लिएको छ। उनीहरूले भने-असंगठित संस्थाहरूमा कार्यरत श्रमिकहरूलाई पनि सरकारबाट विभिन्न सुविधा प्राप्त हुने गरेको छ, तर यस विषयमा यहाँका निर्माणकर्मीहरू पूर्णरूपले अनभिज्ञ छन्। यसैकारण यस्ता निर्माणकर्मीहरूलाई सरकारबाट प्राप्त हुने सुविधा खोजी दिनको लागि पनि यो सङ्गठनको गठन गरिएको हो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया