साहित्यकारहरु पुरस्कारको पछि कुद्छन् तर पुरस्कार पो साहित्यकारहरुको पछि कुद्नु पर्ने हो-प्रदीप गुरुङ

खरसाङ , २७ मई


खरसाङको गोर्खा जनपुस्ताकालयको  ४० औं प्रकरणका विशेष स्रष्टा आख्यानकार प्रदीप गुरुङ। उनीसित विशेष संवादको कार्यक्रम थियो।  युवा समालोचक,गजलकार एवं पत्रकार शैलेन्द्र समदर्शी थिए संवादकर्ता।  शैलेन्द्रले गुरुङसित विविध प्रश्न तेर्साए। ‘पाठकलाई आकर्षण गर्ने केन्द्रीय विषय वस्तु साहित्य सिर्जनामा हुनुपर्छ,’ उत्तरक्रममा गुरुङले भने, ‘लेखन समय कटनी मात्रै हुनुभएन। सर्जकले सिर्जना धर्मिताको पनि पालन गर्नु पर्छ।’

गुरुङले साहित्य धेर कवितामुखी भएको ठहर पनि गरे। ‘साहित्यिक कार्यक्रमतिर पनि कवितालाई बेसी प्राथमिकता दिने गर्दछ,’ उनले थपे, ‘तर अब आख्यानलाई पनि सिरियस लिनुपर्छ।’ त्यो सिरियसनेस युवाहरुसित हुनुपर्ने बताउँदै साहित्यलाई सामाजिक सञ्जाल फेसबुकमा मात्र सिमित नराख्ने सुझाव पनि दिए। शैलेन्द्रले सोधेका विभिन्न प्रश्नहरुको जवाब दिँदै स्रष्टा  गुरुङले आफु अो हेनरीको लेखनबाट प्रभावित भएको कुरा स्वीकार गरे। ‘सर्जक परम्परागत लेखनमा मात्रै सिमित हुनुभएन।  परम्परादेखि निक्लनुपर्छ,’ उनले भने,  ‘मेरो सुत्र उपन्यास पोष्टर र लात नयाँ प्रयोग थियो, परम्पराबाट निस्किएको।’

उनले आफ्नो शिक्षण पेशाबाट अवकाश भएपछि साहित्यमा सक्रियता दिने पनि बताए।  ‘ एउटा उपन्यास प्रकाशित गर्ने सोच छ,’ उनले भने। आफूलाई साहित्यिक संस्थाहरुबाट र पुरस्कारहरुबाट अोझेलमा पारिएको  कुरामा सहमति जनाउँदै उनले भने,   ‘अहिले साहित्यमा गुटबाजी छ। साहित्यकारहरु पुरस्कारको पछि कुद्छन् तर पुरस्कार पो साहित्यकारहरुको पछि कुद्नु पर्ने हो।’

गुरुङले सुत्र उपन्यास पोष्टर र लातबाट एउटा अनि बिरिमफूलबाट एउटा कथा पठन गरेका थिए। कार्यक्रमलाई कवि बालकृष्ण थामीले सञ्चालन गरेका थिए भने कथाकार प्रदीप गुरुङको परिचय कवि प्रदीप शेर्पाले राखेका थिए। कार्यक्रममा सङ्गीता थापा, बालकृष्ण थामी, पुरुषोत्तम अधिकारी, रचना अनाकर, शरद राई, गणेश गजमेर, सित्तम मोक्तान, देवराज सुन्दास, अरूणकुमार राई, प्रकाश विप्लव, प्रणेश प्रधान, देवप्रकाश शङ्कर, मीना राई, नितेस राई, प्रदीप शेर्पा,द्वारिका छेत्री,उज्वल सेवा, आशा लामा मुखिया, उत्तम थापा, पीएल धमाला , प्रभात राई चिसो लगायत विद्यार्थीहरु ऋतु राई र साक्षी चौधरीले पनि कविताहरू पठन गरेका थिए।

पर्यवेक्षकको रूपमा उपस्थित प्राध्यापक योगेश खातीले प्रत्येक कविले पठन गरेका कवितामाथि पर्यवेक्षीय टिप्पणी राखे। उनले साहित्यकारले साहित्य मार्फत सकरात्मक साहित्य सिर्जना गरेर समाज सुधारको कार्यहरू गरी उन्नतितर्फ लान सकिने बताउँदै गोर्खा जनपुस्ताकालयको तर्फबाट यो पहल एेतिहासिक रहेको पनि बताए। कार्यक्रममा गोर्खा जनपुस्ताकालयको सभापति रबीनकुमार प्रधान, सचिव प्रकाश प्रधान, कोषाध्यक्ष निरङ्कर थापा, आकाशवाणी खरसाङको कार्यक्रम निष्पादक पारसचन्द्र आले लगायत दार्जीलिङ,खरसाङ, सिलगढी, गोरुबथान क्षेत्रका साहित्यिक व्यक्तित्वहरु उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया