उड्यो बरालको छिचिमिरा : कविता झैं कथा किन अधिक चर्चामा छैन?-जय क्याक्टस

गान्तोक, 27 मई ।


सिक्किमेली कथामा चर्चित नाम युवा बरालकृत ‘छिचिमिरा’ कथाहरू लोकार्पण भयो। मेन्युस्क्रिप्ट पब्लिकेशनले बजारमा ल्याएको ‘छिचिमिरा’ आइतबार जीवन थिङ पथ डेभलप्मेन्ट एरियामास्थित नेपाली साहित्य परिषद(नेसाप) भवनमा चिया कविताद्वारा आयोजित कार्यक्रममा दार्जीलिङ, कालेबुङ र सिक्किमका साहित्यकारहरूको बाक्लो सहभागिता थियो। कथाकार बरालको छिचिमिरा चौथो कथाकृति हो।

चिया कविता समूहद्वारा आयोजित कार्यक्रममा कथाकार सानु लामा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम नेसाप अध्यक्ष रूद्र पौड्यालको अध्यक्षतामा भएको थियो। कथाकृति छिचिमिरामा 17 वटा कथा सामेल रहेको छ। कार्यक्रमको अर्को मुख्य आकर्षण कथा संवाद रहेको थियो। जसमा समाचोलक जय क्याक्सटस र कथाकार एवं कवि प्रवीण राई ‘जुमेली’ ले नेपाली कथाको अवस्थामाथि प्रकाश पारे।

‘पहिला कथा भन्ने र सुनाउने गरिन्थ्यो अहिले कथालाई देखाउने भएको छ। भारतीय नेपाली कथाले छोटो पाइला चालेर लामो यात्राको दुरी तय गरिरहेको छ तथापि कविता झैं कथा किन अधिक चर्चामा छैन?,’ वार्ता राख्ने क्रममा समालोचक जय क्याक्टसले भने, ‘त्यसमाथि कथाकारहरूले आत्मालोचना गर्ने समय आएको छ।’ उनले ग्रामीण जनजीवनसरह महानगरीय जीवनको कथाको माग बढेको उल्लेख गरे। साथै तेस्रो लिङ्गी र लेस्बियन संस्कृति विषयलाई पनि कथामा सामेल गर्ने समयको माग भएको विचार उनले राखे।

‘कथा डिजाइन्ड हुन्छ र कथामाथि कथाकारनै हाबी बन्छ,’ कथा संवादमा वरिष्ठ कथाकार प्रवीण राई जुमेलीले भने, ‘ अनुवाद गर्दा मर्दैन त्यो कथा हो, कथा कविताजस्तो अनुवादमा फरक हुँदैन। कुनै पनि कृति तयार भएपछि त्यसको मुख्य लक्ष्य मार्केट हो, त्यसपछि मात्र समाजलाई दिने विषयप्रति गम्भीरता देखाइन्छ। कथाकारको सफलता कथालाई कतिसम्म पाठकोन्मुखी बनाउन सक्छ त्यसमाथि निर्भर बन्छ।’

कार्यक्रममा कथाकार सुरज ‘धड़कन’ ले छिचिमिरा कृतिमाथि समीक्षा राखे। ‘ग्रामीण जीवन र मनोविज्ञानलाई प्रमुख विषय बनाएर कथा लेख्दै आएका युवा बराल एक माझिएका कथाकार मानिन्छन्,’ उनले भने, ‘बरालका प्रत्येक कथाहरूले हाम्रै वरिपरिका जनजीवनको व्याख्या गर्दै आएको छ।’ मुख्यअतिथि कथाकार सानु लामाले आफ्नो सम्बोधनमा -नयाँ परिपाटी र विषयवस्तुहरूमाथि जसरी कथा तयार बन्दैछ त्यसलाई साहित्य विकासका लागि राम्रो संकेत मान्नु पर्ने बताए। उनले भारतीय नेपाली कथामा नयाँ पुस्ताले गर्दै आएको कार्यलाई सराहना गर्नुपर्ने बताए।

अध्यक्षीय सम्बोधनमा नेसाप अध्यक्ष रूद्र पौड्यालले नेपाली कथा लेखनमा नयाँ प्रयोगहरूले विकास गरिरहेको र पुराना लेखनलाई पनि मान्यता दिनुपर्ने सल्लाह राखे। यसअवसरमा सिलगढ़ीबाट आएका कथाकार कालूसिंह रनपहेंली, लङ्कु भ्याल्लीका कथाकार निरज थापा, सिक्किमका एसबी कार्की र अर्जुन यावाले कथा वाचन गरेका थिए। कथा संवादको मध्यस्थता प्रवीण खालिङद्वारा गरिएको थियो। कार्यक्रम सञ्चालन  मणिका शर्माले गरेका थिए समापन आभार  दीपा राईले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया