दागोपापलाई दिएको जमिन लाँदैछ सरकारले फिर्ता : प्रताप खातीले सोधे- बाबुले ल्याएको जमिन छोराले फर्काउनु ठिक हो?

कालेबुङ, 28 मई


सन् 1988 मा भारतको केन्द्र सरकार, पश्चिमबङ्गाल सरकार अनि गोरामुमो पार्टीमाझमा भएको दार्जीलिङ गोर्खा पार्पत्य परिषद (दागोपाप) को सम्झौता पत्र अनुसार सिलगडी नजिकको पिन्टेल भिलेजमा 24 ऐकर 60 डेसिमल अनि दार्जीलिङ मोडमा 2 ऐकर 43 डेसिमल जमीन दागोपापले पाएको थियो।

जमीन दागोपाप गठनपछि सन् 1989 मा अधिग्रहण गरिएको थियो। जमीनको लागि 49 जना रैयत अनि 10 जना वर्गदारलाई 42 लाख 87 हजार 48 रूपिया क्षतिपुर्ति दिइएको थियो।

गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले सोही जमिन अहिले पश्चिम बङ्गाल सरकारले फिर्ता गर्न लागेको आरोप लगाएका छन्।

‘पश्चिम बङ्गाल सरकारले 18 जुन 1990 का दिन ग्याजेट नोटिफिकेसन जारी गरेर जमिन दागोपापलाई दिएको हो,’ खातीले भने,  ‘दागोपापको नाउँमा रेकर्ड नभई बसेको भन्दै जीटीए गठनपछि भने रेकर्ड गरेर जमीन पुन: पश्चिम बङ्गाल सरकारले नै फर्काएर लान लागेको छ।’

खातीले जीटीए गठनपछि कुनै नयाँ जमीन जीटीए भित्र गाभ्न नसकेको आरोप पनि लगाए। ‘अघिबाटै गाभिएका जमीन सरकारलाई फिर्ता दिन नहुने हो। गोरामुमो पार्टी र जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङले यो कुरा बुझ्न अनिवार्य छ’, खातीले भने, ‘जमिन फर्काएर लानु चाहिँ स्व. सुवास घिसिङको आत्माले शान्ति नपाउनु हो। अहिलेका साथीहरूले जोड्न त सकेन तर. जोडेको जमीन पनि फर्काउनु गलत हो।’

यसक्रममा उनले पश्चिम बङ्गाल सरकारले एउटा ऐतिहासिक सम्झौता अनुसार दार्जीलिङ पहाडको शाषण व्यवस्था दागोपाप अनि जीटीएलाई दिइएको जमीन फर्काएर लानु गलत हुने बताए। गोरामुमो अध्यक्ष मन घिसिङले पनि मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष अपिल गरेर दागोपापमा समावेश गरिएको जमीनलाई फिर्ता माग्ने अनुरोध गर्नुपर्ने खातीले सुझाएका छन्।

‘आफ्ना बाबाले दुःख गरेर सम्झौताको आधारमा दागोपापमा हालेको जमीन अहिले छोराको समयमा फर्काएर लगे स्वर्गीय पिताको अपमान गर्नु हो,’ खातीले भने,  ‘मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ भ्रमणमा आउँदा मन घिसिङ बिनय तामाङले कुराकानी गरेर जमिन फिर्ता रोक्नुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares