झोराहाटे माया

स्मृति

विकास आले


रातभरि पानी दर्किरह्यो । पानीको भेल बाटोमा जत्तातत्तै बग्न थाल्यो ।

४ मई २०१८, रिम्बिक । त्यही पानीको धारलाई पछ्याउँदै एक्कबिहानै मेरो यात्रा शुरू भो रिम्बिकबाट । यता वचनमा मनोजको पुतलीसित हार्दै झोराहाटको निम्तोलाई स्वीकार गरिसकेको थिए । गूगलमा पनि झोराहाट घुमिसकेको थिए । आधाघण्टा जत्तिपछि मसँग कवि जीवन लिवाङ सहयात्री बने ।

बिहान पौने पाँचमा शुरू गरेको चिसो यात्रा लगभग एघार बजेतिर सिलगढीमा पुगेपछि अलिकति तात्तियो । वरिष्ट साहित्यकार कालुसिंह रणपहेंलीको दर्शनसँगै उनको घरमा चिया-खाजा अनि आशीर्वादपनि पायौं । सिलगढीमा सिक्किमका कविहरू अम्बर लाछिकाठी, जीविका अश्रु, दीपा राई, शेरबहादुर कार्की, गोपाल ढकाल अनि दार्जीलिङबाट कृतिका दाहालहरू आइसकेका थिए ।

अन्तिम क्षणसम्म पर्खेपनि शरण मुस्कानलाई बुहारीको बिमारीले छेकेर रोक्यो । अम्बरजी अनि लिवाङ भाइ मसित अनि अन्य पाँचजना अर्को गाडीमा काकँरभित्तातर्फ लाग्यौं ।
अब एउटा अपुष्ट समाचारले निकै खुल्दुली मच्चायो ।

नेपाल बन्द ।

धन्न सेण्डीगेटको बन्दमापनि अन्य गाडीहरूलाई छुट रैछ । यताबाट नीजि गाडी लगेको थिएँ त्यसैमा एडजस्ट गरेर आठजना जानुपर्ने । मुस्किलले खाना भेट्याइयो थुप्रै होटेलहरू चहारेपछि, बन्दीजस्तै अवस्थामा । साँझको साँडे चार भइसकेको थियो । तीन दिनको निम्ति भान्सार काटेपछि मैले स्टेरिङ सम्हालें अनि बन्दमा खुलियो हाम्रो नेपाल यात्रा ।

जीविका अश्रुको परिचय कसरी दिने । नेपालमा जन्मेकी अश्रु बीस बर्षको उमेरमा सिक्किममा बिहे भएकी अहिले ब्यालिसकी छिन् । तिनी नेपाली कि सिक्किमे ? जन्मभन्दा कर्म ठूलो भएपनि सम्बन्ध र मायाको चर्चा भो त्यहाँ ।

मसँग दमक, धरान, काठमाण्डौ यात्राको अनुभव भएपनि यो यात्रामा निक्कै चासो थियो। किनभने कसैले झोराहाटको विशेषता सुनाएका थिए । चाराली, बिर्तामोड, दमक, विराटचोक हुँदै पाउने सातमा ठ्याक्क झोराहाट पुग्यौं ।

ठूलो हलोको मुकुट लगाएको द्वारबाट छिरेपछि एउटा सुन्दर भवन देखा पऱ्यो। मन्द रोशनीमा माटोले लिपेको भित्तामा झोराहाट नाट्य केन्द्र लेखेको देखें । अन्य स्थानीय कलाकृति पनि यता-त्यता सजिएको देखिन्थ्यो । हाम्रा स्वगातमा कैयौं हातहरू अघि आए अनि न्यानो मुस्कानहरूसितै हामी केन्द्रमा भित्रियौं ।

सजावट पूर्णरूपमा भव्य थियो । गाउँले पारामा बनिएको जैविक भवन, भान्साघर, भऱ्याङ, विश्राम कक्ष आदिमा हामी सबैको आँखा टाँस्सिएको थियो । आयोजक समितिका सदस्य, स्वयंसेवक अनि स्थानीय साहित्यकारहरूसित हातेमालो गर्दै जिल्लाका वरिष्ट नेतागणहरूपनि उत्साहपूर्वक कक्षमा उपस्थित थिए ।

मन्त्रीपदमा आसिन नेताहरूको यत्तिको साहित्याप्रेम मैले पहिले कहिल्यै देखेको थिइनँ ।
ठीक ७ बजे शुरू भयो गजल उत्सव । बीसभन्दा अधिक गजलकारहरूले उम्दा उम्दा गजलहरू प्रस्तुत गरे । वरिपरिका स्थानीय गाउँलेहरूपनि वाह! वाह! भन्दै ताली मार्दैथिए ।

गजलको खेती यति धेर सप्रेको देखेर हामी यताकाहरू दङ्ग थियौं । वरिष्ट गजलकार देवी पन्थीको अङ्ग्रेजी गजलले पनि श्रोताहरूलाई मक्ख बनाएको थियो । तुरन्तै गजलको साङ्गीतिक कार्यक्रम शुरू गरे दमकमा सुरभी कला केन्द्र स्थापित गरेर सङ्गीत-सेवामा लागिपरेका दार्जीलिङ्गकै सङ्गीतकार, गायक, गजलकार हाम्रा अतिप्रिय भाइ अनिल फागोले ।

उनका गजलहरूले आगो लगाइरहेका थिए । अन्ततिर अनिलले सबैलाई झुम्न अनि नाच्न बाध्य गराए ।  कार्यक्रमको मध्यातिर नै हाम्रो खानपीन भइसकेको थियो । हामी अनिलहरूलाई छाडेर सुट्टुक्कै भाग्यौं जीविका अश्रुको निर्माणाधिन घरतर्फ ।

उनको टोल जाने बाटो मरमत्तिको निम्ति थुपारिएको ढुङ्गामाटोको थुप्रोले भरिएको रहेछ । एकचोटी बीचैमा फँस्यौँ । बढो मुस्किलले गाडी घुमाएर अर्को बाटो लाग्यौं । त्यतापनि त्यस्तै अवस्था । बाटोमा नै गाडी छाडेर अँध्यारोमा हिलोलाई नाघ्दै घर पुग्यौं ।

दुइटा तयारी कोठामा हामी गज्जपले अटायौँ । “घर साँघुरो भएर के हुन्छ, मन पो साँघुरो हुनुहुन्न। ” मैले खुल्ला मनकी जीविकालाई मनमनमै भनें । महिलाहरू भित्री कोठामा सिनिक्क अनि हामी केटाहरू बाहिर भताभुङ्ग । यसरी नै निदायौं ।

बिहानै उठेर गाडी हेर्न गएँ । सुरक्षित नै रहेछ । गाउँ चहारें । गाई अनि बाख्राहरूसित मधेशी जीवनका केही दृश्यहरू क्यामारामा हुलें र फर्कें कोठा । पुग्नेबित्तिकै जागिसकेका कवि गोपाल ढकालले मलाई ‘केशमा लाउने तेल छ दा ?’ पो भने !

जवाबमा मैले दाह्री मुसारेको नै भारी भएछ उनलाई । तेह्रथुमका कवि दिपक कट्टेलपनि हामीसितै थिए अनि बिहानै घरमा एउटा सुन्दर साहित्यिक चर्चा भो । महिला टोलीले भान्सापनि भ्याउँदैथे । खाना नै खाएर हामी घरबाट निस्क्यौं भाञ्जी नतिजालाई बिदा मागिवरी ।
बिहान ९ बजेदेखि शुरू भएको छन्द कविताका केही अंशको रस्वादन गर्नपनि हामीले भ्यायौँ। एउटा छोटो अन्तर्वार्तामा दार्जीलिङ अनि सिक्किमका कुराहरू मसँगै जीविका अश्रुले राखिन् । तुरन्तै हाम्रो कार्यक्रमको घोषणा भो । भवनभित्र भव्य स्वागत भो हामी आठैजनाको ।

“सिमापारीका कविता” भन्ने शीर्षक नै गलत देखियो किनभने हामी त्यहाँ कुनैपनि कोणबाट उनीहरूभन्दा भिन्न थिएनौं । हाम्रो भाषा, रहन-सहन, खानपीन, बानीबेहोरा काट्टीकुटी एउटै त छ भन्ने कुरामा सबै एकमत थिए ।

समस्यापनि उस्ताउस्तै । जात जात अनि विभिन्न प्रदेशहरूमा विभाजित एउटा बृहत नेपाल देश अनि हामी सानो सानो जाति-सङ्गोष्टीमा खुम्चिएको दार्जीलिङ अनि सिक्किम । नाकाबन्दीबाट मुक्त हुन नेपालले भरसक कोशिष गर्छ अनि हामी मुक्तिको युद्धमा आफैलाई नाकाबन्दीभित्र हुल्छौं ।

उ देश बचाउन सङ्घर्षरत छ अनि हामी घर जोगाउन जुझ्दैछौं । सिमानाले रगत र साइनोसँगै सम्वन्धलाई छेक्न नसकेको कथाको एउटा सार कविता “दसैँको घाम” सुनाइदिएँ मैले । “डल्ले खुर्सानी”पनि बाडिँराखे उपस्थित समुहमाझ । मपछि अम्बर लाछिकाठी, जीवन लिवाङ, दीपा राई, शेरबहादुर कार्की, गोपाल ढकाल सप्पैले बेजोड कविताहरू सुनाए ।

फुच्ची कृतिकाले त झनै बबाल मच्च्याइन् । कुशल सञ्चालनपछि कविताले नै कार्यक्रमको बिट मारिन् जीविका अश्रुले । त्यसपछि नेपालका चार वरिष्ट कविहरूका चार-चारवटा कविता सुन्ने अवसर मिल्यो । कार्यक्रमको अन्ततिर धरान कलरब संस्थाका सदस्यहरूले झोराहाटलाई चित्रमा उतारेर केन्द्रलाई नै उपहारस्वरूप प्रदान गरे ।

त्यही क्रममा एक अति नै सरल अनि मृदुभाषी कविलाई लामो अन्तरालमा भेट्न पाए । दगुरिहिड्ँने चौबाटोका मालिक सुदीप पाखरिनसित छुट्न निकै गाह्रो भो मलाई । यात्रामा निस्किँदा बोकेको एउटैमात्र फोटोकविताको कपी उनलाई सुम्पिएर निक्कै हलुङ भो मेरो मन । कार्यक्रमलाई सठीक समयमा शुरू अनि अन्त्यमात्र होइन तर सफल अनि प्रभावकारीपनि बनाएका थिए झोराहाट नाट्य केन्द्रका परिवारले ।

अभिभावक नाट्यकर्मी भरत गुरागाईँको कार्यक्षमता आफैमा मात्र सिमित नभएर सम्पूर्ण स्वयंसेवकहरूको जोशमा पनि प्रष्ट झल्किन्थ्यो । यत्तिको अनुसाशित अनि समयनियोजित साहित्यिक कार्यक्रम मैले पहिले देखेको थिइन । सामान्य परिचय अनि स्वागतमापनि सभासद, मन्त्री, वरिष्ट साहित्यकारहरूलगायत उपस्थित सम्पूर्ण वरिष्ठहरू अति नै हर्षित देखिन्थे भने सम्बोधनको औपचारिकता प्राय: शून्य थियो कार्यक्रमभरि ।

प्रस्तोता कलाकारलाई मात्र सयपत्रीको माला पहिऱ्याउँदा पनि त्यहाँ कसैलाई पोलेको देखेनौं । हामीले सिक्नुपर्ने कुरा यत्तिमात्र पनि कम चाहीँ पक्कै होइन ।
त्यहाँ सप्पैलाई बिदा माग्यौं अनि मिठा सम्झनाहरू मनमा खिलेर झोराहाट नाट्य केन्द्रबाट बाहिरियौं ।

१५ मिनट जत्ति टाडाको यात्रापछि बिराटनगरमा हामीले पुस्तकहरू खोज्यौं तर दुर्भाग्यवस् खुल्ला पसलहरूमा भनेजस्तो केही भेटिएन । बहुतै आश गरेको मैनाली पुस्तक पसलको बन्द सटरले खिन्न बनायो हामीलाई । पाँच पाण्डवहरूमात्र सिलगढी त्यही दिन फिर्ने भयौं । दीपा अनि कृतिका भोलिपल्ट अश्रुसितै फिर्ने भइन् ।

पैंतालिस मिनटजत्तिको यात्रापछि दमकमा हाम्रो यात्रालाई बिचैमा बिराम लगाइदिए भाइ अनिल फागोले । उनको सङ्गीतप्रतिको आस्था, परिश्रम अनि समर्पणको कायल थिएँ। आज उनको घर अनि सङ्गीतकक्षाको प्रत्यक्ष दर्शन गर्न पाए । बुहारीको हातको ग्रीन टीसितै मीट्ठो गफ हुँदाहुँदैपनि हतारोले हामीलाई एकपल्ट फेरि चिमोट्यो अनि पुन: भेट्ने वाचाहरू गर्दै हाइवेमा तीव्र गतिसितै मिठा पलहरूलाई पछिल्तिर छाड्दै गयौं ।

काँकरभित्ता नाघेपछि सिलगढी कहिले पुगेर आराम गर्ने भन्ने सबैको चाहना थियो तर पुगेपछि अर्कै समस्याले हामीलाई घेऱ्यो । निकै चहारेपछि लगभग एघार बजेतिर मात्र बल्ल बल्ल दुइटा कोठा भेट्यौं । अबेर नै भएपनि सुत्नअघि झोराहाटकै यादमा एउटा गफ हाँक्कियो।

सिक्किमका सहयात्रीहरू अम्बर, शेर बहादुर अनि गोपालसित हामी छुट्टियौं । म छेउमा कवि लिवाङ राखेर गाडी हाँक्न थालें। झोराहाटकै गफको धुनमा मिरिक, सुके, भन्ज्याङ, धोत्रे हुँदै लिवाङको लिङसेबुङमा आइपुग्यौं । दिन सुक्खा थियो । अस्तिको भेलले बगाएर छरेका मसिना ढुङ्गाहरूमाथि केहीसमय गाडीको चक्का पटटटटट पढ्कियो ।

म ओर्लेपछि गाडी भने रित्तियो तर पारीबाट ल्याएको माया, सम्मान र सम्झनाले मन र घर दुवै उज्यालो र उत्साहले भरियो । झोराहाट यात्राबाट केही त अवश्यै ल्याइयो !

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया