इन्द्रमणि राई बने महकुमा साङ्गठनिक सचिव

दार्जीलिङ, 28 मई।


गोरामुमो छोडेर गोजमुमोका सामेल भएका इन्द्रमणि राईलाई गोजमुमो दार्जीलिङ महकुमा समितिले आज महकुमा समितिको सांगठनिक सचिवको पद सुम्पियो। जसलाई पूर्ण इमान्दार अनि दक्षतासित पालन गर्ने इन्द्रमणि राईले प्रतिवद्धता जाहेर गरेका छन्।

आज यहाँको गोजमुमो दार्जीलिङ महकुमा समिति कार्यालयमा महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले आजदेखि इन्द्रमणि राईलाई महकुमा समितिका सांगठन सांगठनिक सचिवको पद दिइएको बताउँदै पार्टीलाई दह्रिलो बनाउने दिशामा यो एक कदम हो भन्ने बताए। आलोकले भने-गोजमुमो पार्टीलाई दह्रिलो बनाउने दिशामा उचित पहल भइरहेको छ।

इन्द्रमणि राई राजनीतिमा हामीभन्दा धेरै अनुभवी हुन्। हामी विद्यार्थी संगठनमा हुँदा उनी पार्टीमानै थिए। यसैले उनलाई गोजमुमोले दार्जीलिङ महकुमा समितिको सांगठन सचिव जस्तो दायित्वशील पद सुम्पिएको छ। यसै सम्बन्धमा इन्द्रमणि राईले भने-मेरो राजनीति गोरामुमो पार्टीबाटनै शुरू भएको हो र स्व. सुवास घिसिङ मेरा राजनैतिक आदर्श हुन्।

तर उनको देहान्तपछि गोरामुमो पार्टीमा खुलेर काम गर्न पाइएन। यसैकारणनै म गोरामुमो पार्टीबाट बिस्तारै अलग हुँदै गएको थिएँ। आज गोजमुमोमा आएर स्वतन्त्र वा पार्टीको संविधानअनुसार जनहितमा काम गर्न पाइन्छ भन्ने आशा छ।

किनभने, पार्टीमा सबै मिलनसार छन् अनि यहाँ जनहितमा राजनीति गर्ने माहौल पनि छ। यसैबीच, गोजमुमो दार्जीलिङ महकुमा समितिका प्रवक्ता सञ्जीव छेत्रीले गोरामुमो पार्टीमा धेरै असल नेता अनि जनता छन् भन्ने बताउँदै उनीहरूका लागि पनि गोजमुमोको ढोका खुल्ला रहेको बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया