‘एकनासे रोलले गर्दा विश्राम लिएँ’

साढे चार दशक लामो फिल्मी यात्रामा डेनी डेन्जोंग्पाले भिन्नभिन्न चरित्रलाई पर्दामा उतारेका छन्। एकरसका भूमिकाको अफरको बाढी आउन थालेपछि उनले निकै थोरै फिल्म खेल्ने गरेका छन्। त्यसैले पछिल्लो समय उनी मुम्बईमा कम, जन्मथलो सिक्किममा बढी बस्ने गरेका छन्, जहाँ उनको ब्रुअरी व्यवसाय पनि छ। फिल्ममा काम नगरेका बेला उनी चित्रकारिता, पदयात्रामा रमाउने गर्छन्। प्रस्तुत छ, नेपाली दर्शकश्रोताबीच उत्तिकै प्रिय तर सञ्चारमाध्यममा हत्तपत्त नआउने ७१ वर्षीय अभिनेतासँग एउटा भारतीय अनलाइनले गरेको अन्तर्वार्ताको अनूदित र सम्पादित अंश  कान्तिपुर/कोसेलीले छापेको छ। त्यसैलाई यहाँ साभार गरिएको छ-

निकट विगतमा तपाईं ‘जय हो’ र ‘ब्याङब्याङ’ (सन् २०१४), ‘बेबी’ (२०१५) र ‘नाम शबाना’ (२०१७) मा देखिनुभएको छ । तर, फिल्ममा मुख्य भूमिकामा नदेखिनुभएको धेरै भएन ?
मलाई दमदार भूमिकाहरूमा देखिरहन अभ्यस्त भएकाले तपाईंले यस्तो सोच्नुभएको हुन सक्छ । तर ‘बेब’ मा म धेरै दृश्यमा थिएँ । अनि हामीले सुटिङ पनि स्क्रिप्ट अनुसारै गर्‍यौँ । यसो भन्दाभन्दै पनि, मेरा फिल्महरूबीच ग्याप बढी भएकै हो । तर त्यो समयमा ‘बाइस्कोपवाला’ को सुटिङ गर्दै थिएँ । त्यसपछि म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ मा आबद्ध भएँ । ‘मणिकर्णिका’ ले कथाको भव्यताका कारण समय निकै लियो । त्यो अझै सकिएको छैन ।

राम्रा स्क्रिप्ट, चाखलाग्दा चरित्र नपाएर पनि तपाईं फिल्ममा कम देखिनुभएको सत्यलाई मान्नुहुन्छ ?
विगतमा आएका धेरै अफर उस्तै थिए । त्यस्ता खाले भूमिका मैले अगाडि नै निर्वाह गरिसकेको थिएँ । धेरै नयाँ निर्देशकमा मेरो छवि ८० र ९० को दशककै फिल्ममा मैले निर्वाह गरेका चरित्रहरूको जस्तो छ । त्यो अति पट्टयारलाग्दो थियो र म केही भिन्न काम गर्न चाहन्थेँ । त्यसैले मैले ‘बाइस्कोपवाला’ र ‘मणिकर्णिका’ मा काम गर्न रोजेँ ।

‘बाइस्कोपवाला’ मा खेल्न केले लोभ्यायो ?
यो फिल्म रवीन्द्रनाथ टैगोरको कथा ‘काबुलीवाला’ मा आधारित छ । सानो छँदा मैले विमल राय निर्देशित ‘काबुलीवाला’ हेरेको थिएँ, जसमा बलराज साहनी मुख्य भूमिकामा हुनुहुन्थ्यो । यसको कथा निकै भावुक छ, जुन एउटी सानी केटी र मुख्य पात्रबीचको सम्बन्धको वरिपरि घुम्छ । त्यो फिल्मले ममा साँच्चै हलचल पैदा गरिदिएको थियो । ७० कै दशकमा म ‘काबुलीवाला’ कै कथामा खेल्न चाहन्थेँ र कपीराइटको विषयलाई लिएर विमल रायसँग अनुरोध गरेँ पनि, तर त्यो समय मैले यो कुरालाई टुंगोमा पुर्‍याउन सकिनँ । त्यसैले जब ‘बाइस्कोपवाला’ को अफर आयो, म उत्साहित भइहालेँ ।

‘मेरे अपने’ हुँदै तपाईंले अभिनय सुरु गर्नुभएको ४७ वर्ष भइसकेको छ । यसो पछाडि फर्केर हेर्दा यो यात्रा कस्तो लाग्छ ?
साँच्चिकै रोचक । बलिउडमा प्रवेशताका म एलियन जस्तै थिएँ, (हाँस्दै) किनकि म अरूभन्दा भिन्न देखिन्थेँ । प्राय: निर्माता/निर्देशकले यस्ता विषयमा फिल्म बनाउँथे, जसमा म फिट हुँदिनथेँ । कसोकसो मैले गुलजार साहबको ‘मेरे अपने’ मा अभिनय गर्ने मौका पाएँ । त्यसपछि बीआर इशाराले मलाई ‘जरुरत’ (१९७२) मा लिनुभयो । अन्तत: बीआर चोपडाले ‘धूँद’ (१९७३) मा अनुबन्ध गर्नुभयो, जसले मलाई स्टार बनाइदियो । त्यसपछि मान्छेहरूले मप्रति चासो राख्दै गए । अनि फिल्ममेकरहरूले ‘लस्ट एन्ड फाउन्ड’ कथामा फिल्म बनाउन थाले । त्यस्तो धेरै फिल्म मनमोहन देसाईले बनाउनुभयो, जुन निकै हिट भए । म तिनमा फिट हुन सकिनँ, किनकि म कसैको छोरो अथवा दाजुभाइ जस्तो लाग्दिनथेँ । त्यसैले मैले त्यस्ता धेरै अफर स्वीकार गरिनँ । त्यसपछि एनएन सिप्पीले ‘फकिरा’ (१९७६) अफर गर्नुभयो । रमाइलो कुरा, त्यो फिल्ममा शशि कपुर र म दाजुभाइ बनेका थियौँ । ‘फकिरा’ गोल्डेन जुबिली हिट भयो । अनि मलाई बोध भयो— पब्लिकले तपाईंलाई एक चोटि स्वीकार गरिसकेपछि जुन रोलमा पनि रुचाउन थाल्ने रहेछ । त्यसयता मैले जोसुकैको दाजुभाइ वा बाउ भएर खेलेँ (हाँसो) ।

अभिनेताका रूपमा तपाईंले पाउन बाँकी केही छ जस्तो लाग्छ ?
सफल हुन मैले लेखेरै ल्याएको छु । तैपनि, कहिलेकहीँ आफूले चाहेको रोल पाइनँ भन्ने लाग्छ । २००७ मा ‘फ्रोजन’ खेलेँ, जुन भिन्न खालको सिनेमा थियो र यसले राम्रो विषयको उठान गरेको थियो । यसले (भारतका) दुइटा नेसनल अवार्ड जित्यो, धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा निकै प्रशंसित पनि भयो । तर, व्यावसायिक रूपमा सफल हुन सकेन । म रुचिकर रोलहरूको पर्खाइमै थिएँ, ‘बाइस्कोपवाला’ पाएँ, जुन त्यस्ता फिल्महरूमा पर्छ, जसमा सामान्य तर भिन्न कथा छ र यो राम्ररी बनाइएको पनि छ । यो फिल्म रुचाइनेमा म आशावादी छु ।

१९७१ मा फिल्म यात्रा सुरु गरे पनि तपाईं १९८० मा यो क्षेत्रलाई छोड्न चाहनुहुन्थ्यो । फेरि २००३ मा फेरि विश्राम लिन चाहनुहुन्थ्यो । किन बेलाबेला विश्राम लिन खोज्नुभयो र फेरि केले मानसिकता बदल्नुपर्ने बनायो ?
जब आफ्ना रोलहरूबाट उच्चाट लाग्यो, मैले विश्राम लिएँ । वास्तवमा म अभिनयलाई छोडेरै केही फरक काम गर्न चाहन्थेँ । म धेरै चोटि यो चरणबाट गुज्रिएँ । ७० को दशकमा धेरै फिल्ममा काम गर्दै थिएँ । त्यहीबीच यो रुटिन कामबाट अचानक यति दिक्क लाग्न थाल्यो, नयाँ फिल्म साइन गर्नै छोडिदिएँ । राजेश खन्नालाई लिएर एउटा हरर फिल्म ‘फिर वही रात’ (१९८०) निर्देशन गरेँ । त्यसपछि दुई वर्षका लागि विश्राम लिएँ, फिल्म क्षेत्रदेखि हैरान भएर । ट्रेकिङमा निस्किन थालेँ, पेन्टिङ सुरु गरेँ । यी कामले मलाई अत्यधिक सन्तुष्टि दिए । सिनेमा कलाको महँगो स्वरूप हो, जबकि पेन्टिङका लागि केही रंग र एउटा ब्रस भए पुग्छ । मन नलागे तपाईं यो कामलाई पन्साउन र र लगत्तै फेरि सुरु गर्न पनि सक्नुहुन्छ । मैले आफ्नो आत्मालाई पछ्याएँ । भाग्यवश, जब मैले फेरि फिल्ममा काम गर्न थालेँ, दर्शकश्रोताले पूर्ववत् स्विकारे ।

‘फिर वही रात’ अझै पनि हिन्दीका केही उत्कृष्ट हरर फिल्महरूमा पर्छ । तैपनि तपाईंले अर्को फिल्म किन निर्देशन गर्नुभएन ?
स्थापित निर्माता/निर्देशकहरूबाट अभिनयका लागि धेरै अफर आउँदा मसँग पनि केही स्क्रिप्ट थिए । ती फिल्म सुटिङका क्रममा मैले आफूसँग रहेका विषयहरूबारे पनि निर्माताहरूसँग छलफल गरेँ । तर, उनीहरू ती विषय कि हलिउड फिल्मका लागि उपयुक्त रहेको कि त त्यति व्यावसायिक नरहेको भन्दै पन्सिए । अभिनयका लागि राम्रा अफरहरू पाइराखेकाले मैले यतै मन दिएँ । फेरि, मलाई धेरैजसो मान्छेले झैँ गर्नका लागि मात्रै निर्देशनमा हात हाल्नु थिएन । कुनै दिन निर्देशनबारे त्यस्तै सोचाइ आए म पक्कै फरक फिल्म बनाउँछु ।

तपाईंले पर्दामा केही निकै अविस्मरणीय खलपात्रको रोल खेल्नुभएको छ । अचेल नायकहरू नै नकारात्मक चरित्रमा देखिने गरेको पृष्ठभूमिमा तपाईं यसलाई बलिउडमा भिलेनहरूको अन्त्यका रूपमा हेर्नुहुन्छ ?
म पनि यस्तै सोच्छु । म सम्झन्छु, धेरै वर्षअघि, मैले बलिउड प्रवेश गर्नुअघि नै, धरमजी (धर्मेन्द्र) ले ‘आई मिलन की बेला’ (१९६४) मा ग्रे सेडवाला चरित्र निर्वाह गर्नुभएको थियो । त्यसमा राजेन्द्र कुमार र सायरा बानु पनि हुनुहुन्थ्यो । धरमजी त बेस्ट सपोर्टिङ एक्टरको मनोनयनमा पनि पर्नुभएको थियो । त्यसताका नायकहरूले नकारात्मक भूमिका खेल्दैनथे । ७० र ८० को दशकमा भिलेनहरू नायकहरूपछि निकै महत्त्वपूर्ण चरित्र बने । कथाहरूमा तिनको भूमिकालाई लार्जर द्यान लाइफ बनाइएको हुन्थ्यो । उनीहरू लाउड हुन्थे, चटके जस्ता हुन्थे, उदेकलाग्दा संवाद बोल्थे, तैपनि दर्शकश्रोतामा यसको गहिरो प्रभाव पथ्र्यो । त्यति बेला प्राण साहब हुनुहुन्थ्यो, अनि प्रेम चोपडा । त्यसपछि म आएँ । अनि अमरीश पुरी, अमजद खान, रञ्जित, गुलशन ग्रोभर, शक्ति कपुर … सबैको आफ्नो भूमिका थियो । तर, जब नायकहरूले नै ग्रे क्यारेक्टर खेल्न थाले, भिलेनले गर्ने काम बिस्तारै घट्दै गयो । अहिले, यदि विश्वसनीय र युक्तिसंगत तरिकाले फेरि भिलेनको रोल लेखियो भने हामी अझै त्यस्तो भूमिका गर्न सक्छौँ ।

धेरैजसो कलाकारका सन्तानहरू आफ्नै अभिभावकका पाइला पछ्याउने गर्छन् । तपाईंका छोरा रिन्जिन पनि बलिउडमा डेब्युको तयारी गर्दै छन् कि ?
रिन्जिन आफूलाई प्रशिक्षित गरिरहेको छ । उसले कताकति अफरहरू पनि पाउँदै छ, तर आफ्ना लागि के ठीक वा बेठीक होला भनेर उसैले निश्चय गर्नुपर्नेछ । न्युकमरले एउटा गलत फिल्मबाट अभिनय यात्राको सुरुआत गर्दा त्यसले धेरै वर्षसम्म उसको करिअरमा असर पार्न सक्छ । रिन्जिन लाठे भइसकेको छ र आफ्ना बारे सोच्न सक्छ । उसलाई लन्च गर्न मैले फिल्म बनाइदिनु वा मेरा साथीहरूको गुहार माग्नुको के अर्थ ? उसले आफ्नै योग्यताको बलमा आफ्नो लक्ष्यप्राप्त गर्नुपर्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया