पैसा बाँड्दै मुख्यमन्त्री

कालेबुङ,29 मई


मुख्यमन्त्री ममता व्यानर्जी पाँचदिनको लागि पहाड घुम्न आएकी छन्। यसबीच उनले विभिन्न वोर्ड, जिटिए अनि प्रशासनिक अधिकारीहरूसित बैठक गर्ने कुरा छ।

‘तिमी शान्ति देउ, म विकास दिन्छु,’ छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन स्थगित गरेर विनय तामाङहरू राज्य सरकारसित मिलेपछि व्यानर्जीले भनेकी थिइन्। त्यससपछि विभिन्न निवेशकर्ताहरूसित व्यापारिक बैठक पनि गरेकी थिइन्।

‘विकास गर्नु हो भने मलाई पहाड शान्ति चाहिन्छ,’ उनले भनेकी थिइन्। हिजो उनी कालेबुङ आइसकेकी छन्। पहाडका विभिन्न बोर्ड, गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा अनि तृणमूल काङ्ग्रेसका कार्यकर्ताहरू ममतालाई ‘पहाडमा शान्ति छ’ भन्न सडकमा उभिएका थिए।

मोर्चा तृणमूल भाइ भाइ

उनीहरूको भीडदेखेपछि मुख्यमन्त्री ममता व्यानर्जीको अनुहारमा हिजो मुस्कान छाएको थियो। त्यो मुस्कान आजसम्म नै कायम थियो। होम्समा अल बोर्ड को-अर्डिनेसन कमिटीले ममता व्यानर्जीको निम्ति कार्यक्रम राखेको थियो। त्यहाँ मुख्यमन्त्रीलाई उस्तै हँसिलो देखियो। जुन भीड जमेको थियो, त्यसले जिटिए बिओए विनय तामाङसमेतलाई हँसिलो बनाएको थियो।

तामाङ मुस्कान राखेरै ममता व्यानर्जीसित कुराकानी गरिरहेका थिए।

यही हर्षबीच मुख्यमन्त्री ममता ब्यानर्जीले विभिन्न बोर्डहरूलाई मोठ ९६ करोड दिइन्। विभिन्न बोर्डका अध्यक्षहरूलाई पैसा दिँदै मुख्यमन्त्रीले भनिन्, ‘पहाडको विकास मेरो पहिलो प्राथमिकतामा छ।’

बोर्डहरूले विभिन्न जातगोष्ठीका नागरिकहरूको घर बनाउने काम गरिरहेकै छ। यद्धपि कार्यक्रममा एउटा आइटम थप्दै  66 जना उपभोक्तहरूलाई (बोर्डहरू मार्फत् घर निर्माणको निम्ति) व्यानर्जीले चेक वितरण गरिन्।  विकास गर्ने मुडमा रहेकी व्यानर्जीले मङ्पूमा स्टेट युनिभर्सिटी बनाउने घोषणा गर्न पनि भ्याइन्। ‘केन्द्रले पहाडवासीले बारम्बार माग्दा पनि केन्द्रिय युनिभर्सिटी दिएन, त्यसै कारण म स्टेट युनिभर्सिटी दिन्छु’, उनले भनिन्। उनले युनिभर्सिटीको निम्ति जमिन मिलाउने जिम्मा जिटिएलाई दिएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया