‘ममता, अहलुवालिया, मोदीसमेतले किन बेवास्ता गर्दैछन् तेञ्जिङलाई?’

दार्जीलिङ, 29 मई।


फेरि तेञ्जिङ शेर्पालाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मान जनाउऩुपर्ने माग उठ्यो। प्रत्येक वर्षको 29 मईको दिन यो माग उठ्दै आएको 6 वर्ष लाग्यो, तरै पनि यसमाथि केन्द्र सरकार कानमा तेल हालेर बसेको छ।

चुनाउको समय देश चलाउने नेताहरूका लागि एउटा भावनात्मक मुद्दा बन्ने तेञ्जिङ शेर्पालाई भारत रत्न दिनुपर्ने मागले अन्य दिन मौनब्रत लिने गरेको छ। तर माग पूर्ण नभए के हुन्छ, अझै मागको सूची बढ्दै जान्छ। जसअनुसार, युनाइटेड शेर्पा एसोसिएशनले तेञ्जिङ शेर्पालाई भारत रत्न दिने मागसँगै दार्जीलिङको एचएमआई (हिमालयन पर्वतारोहण संस्थान)-को नाम परिवर्तन गरेर तेञ्जिङ शेर्पा पर्वतारोहण संस्थान राख्नुपर्ने आवाज बुलन्द गरेको छ।

आज यहाँको हिमालयन पर्वतारोहण संस्थान परिसरमानै आयोजना भएको तेञ्जिङ शेर्पाको जन्म जयन्तीको अवसर पारेर युनाइटेड शेर्पा एसोसिएशनका उपाध्यक्ष पीटी शेर्पाले भने-सन् 2012-मा देशको संसदमा खेलाड़ीहरूलाई पनि भारत रत्नले सम्मान जनाउनुपर्ने विधेयक पारित भएको थियो, त्यसअघिसम्म खेलकुदमा जतिनै नाम कमाए पनि वा देशको नाम राखे पनि खेलाडीहरूलाई भारत रत्न दिने प्रावधान थिएन, तर 2012-मा यस्तो विधेयक पारित भएपछि हामीले पनि तेञ्जिङ शेर्पालाई भारत रत्न दिनुपर्छ भन्ने माग उठाएका हौं। किनभने, पर्वतारोहण एक जोखिमपूर्ण खेलनै हो, यसैको लागि तेञ्जिङ शेर्पाले देशको नाम प्रसिद्ध बनाएका थिए। तर यो माग उठाएको 6 वर्ष बितिसक्दा पनि यसमाथि सरकारले कुनै ध्यान दिएको छैन।

2014-मा चुनाउ प्रचार गर्न आउँदा देशका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तेञ्जिङ शेर्पालाई भारत रत्न दिने कुरा उठाएका थिए साथै दार्जीलिङका सांसद वा केन्द्रिय राज्यमन्त्री एसएस आहलुवालियाले पनि यसमाथि निकै गम्भीरता देखाएका थिए। तर आज यतिका वर्ष बितिसक्दा पनि यसमाथि कुनै काम भएको छैन।

यसरीनै उनले हिमालयन पर्वतारोहण संस्थानको नाम परिवर्तन गरेर तेञ्जिङ शेर्पाको नाममा समर्पित गर्ने मागमाथि जोड दिंदै अझै अघि भने-तेञ्जिङ शेर्पाको कारणनै देशका विभिन्न स्थानहरूमा पर्वतारोहण संस्थानहरूको स्थापना भएको छ, तर देशको एउटै पनि पर्वतारोहण संस्थान तेञ्जिङ शेर्पाको नाममा छैन। यसैले दार्जीलिङको यस हिमालयन पर्वतारोहण संस्थानको नाम तेञ्जिङ शेर्पा पर्वतारोहण संस्थान राख्नुपर्छ।

यद्यपि, उनले जीटीएले 29 मई तेञ्जिङ शेर्पाको जन्म जयन्तीको अवसरलाई छुट्टी घोषणा गरेकोमा खुशी व्यक्त गर्दै जीटीएको यो निर्णयले शेर्पा समुदायसँगै सम्पूर्ण गोर्खा समुदायनै सम्मानित बनेको बताए। दार्जीलिङको हिमालयन पर्वतारोहण संस्थानको नाम परिवर्तन गरेर तेञ्जिङ शेर्पाको नाममा राख्ने सम्बन्धमा प्रश्‍न गर्दा संस्थानका प्राचार्य दिव्य दत्त पाण्डाले भने-प्रथमतः यो संस्थान सरकारको हो, यसको नाम के राख्ने, कसको नाममा राख्नेबारे निर्णय सरकारलेनै लिन्छ। तर यो संस्थान तेञ्जिङ शेर्पाकै योगदान हो। हिमालयन पर्वतारोहण संस्थान र तेञ्जिङ शेर्पा एउटै पैसाको दुइ पाटा हुन्, यसैले यसको नाम परिवर्तन गर्दा र यतिकै राख्दा कुनै फरक पर्छ जस्तो लाग्दैन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया