मुम्बइया  दमाई बृजेश पदमसिँह  भन्छन्- मलाई देवैयाले सहयोग नगरेका भए….???

 ……………………………………………………………………………………………………………………………………

एन्टप हिल, मुम्बई – 37

…यसै प्रसङ्गमा हाम्रो पहाड़तिरका यस्ता गतिविधिहरूको उठान गरूँ। हामी देख्छौँ  – धेरै वर्षदेखि महत् उद्देश्य लिएर छात्रवृत्ति प्रदान गरिने काम भइरहेको छ पहाड़मा अब्बल नानीहरूलाई। तर यसरी छात्रवृत्ति पाएका विद्यार्थीहरू आज कुन अवस्थामा छन्? के उनीहरू जुन महत्त्वाकांक्षा लिएर बढ़ेका थिए त्यो पूर्ण भइरहेको छ? जुन उद्देश्य लिएर ती नानीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो के उनीहरू त्यस स्तरमा पुग्न सफल बनिरहेका छन्? यदि छन् भने त्यसको उदाहरण दिएर आउँदा पिढ़ीहरूलाई प्रोत्साहित पार्ने काम गर्नुपर्छ। यदि समाजमा ती विद्यार्थीहरू उपयोगी सिद्ध हुन गइरहेका छैनन् भने यस प्रथामाथि पुनर्विचार गरेर वैकल्पिक मार्गहरू अप्नाउनुपर्छ…

……………………………………………………………………………………………………………………………

 

बृजेश दमाई उनको नाउँ। भन्छन्, मलाई हाम्रो समाजका जातपातबारे थेर केही थाहा छैन। मलाई थाहा छ त केवल मेरो जाति। यस जातिको दमाई सम्प्रदायमा म जन्मिएको हुँ अनि म आफ्नो नाउँ पनि लेख्छु – बृजेश पदमसिँह दमाई।

महाराष्ट्रमै जन्मिएर, हुर्किएर, पढ़ेर-बढ़ेर, यतै घरबार गरेर बस्ने नेपालीभाषीहरू धेरै छन्। यिनीहरूमा मराठाको असर पर्नु कुनै अस्वाभाविकता होइन। उदाहरणका लागि उनको नाउँ सुन्नुहोस् – बृजेश पदमसिँह दमाई। आफ्नो नाउँमा पिताको परिचय झुन्याउने यहाँको चलनले उनी पनि प्रभावित बनेका हुन्।

बृजेश कुनै ठुला व्यक्ति होइनन्। कुनै महान् कलाकार होइनन्। प्रतिभाका धनी होइनन्। तर के हुन् त उनी अनि किन आज यस स्तम्भका पात्र बनेर हामीसामु छन् त भन्ने प्रश्नको सोझो उत्तर उनको यस परिचयले नै दिनसक्ला।

उनलाई हेर्दा कसैले पनि नेपालीभाषी गोर्खा भनेर भन्दैनन्। दक्षिण भारतीय वा उत्तर भारतीय व्यक्तिहरूजस्तै कालो वर्णका छन्। त्यसमाथि बोली सुन्दा त झन् कसैले पनि पत्याउँदैनन्। हेर्दा पनि गोर्खा होइनन्, बोल्दा पनि नेपाली होइनन् – उसो भए उनलाई यो जातिको कुन तत्त्वले चाहिँ नेपालीभाषी गोर्खा भनेर चिनाउँछ त? त्यो हो उनको मन। मनले उनी नेपालीभाषी गोर्खा हुन्।

सन् 1977 -को मई 18 तारिख पिता पदमसिँह नवलसिँह दमाई अनि माता मनसारा सिँहको कोखमा परेलको सरकारी केजेएम अस्पतालमा जन्मग्रहण गर्ने बृजेशको विषयमा चाखलाग्दो कुरो के छ भने उनले प्राप्त गरेको शैक्षिक योग्यता अनि त्यहाँसम्म पुग्नलाई गरेको यात्रा।

हेर्दा जति सुन्दर र धनाढ्य देखिन्छ यो भारतको बेपारनगरी मुम्बई त्योभन्दा बेसी यो अस्वच्छ अनि निर्धन छ वास्तवमा। मुम्बईलाई चिनाउने सुन्दर चित्र मरिन ड्राइभको रानीको गलाको हार (क्विन्स नेकलेस) त हो तर यसको बिपरीत यो महानगरको दुनियाँ बसेको छ झोपड़पट्टी इलाकामा। एसिया महादेशको सबैभन्दा ठुलो झोपड़पट्टी इलाका धारावी यसै मुम्बईको मूल मुटु बान्द्रा र माहिमको छेउमा अवस्थित छ। यस्ता झोपड़पट्टी इलाकामा समाजको सबैभन्दा निम्न तहका आर्थिक रुपले बिपन्न मानिसहरू रहन्छन्। अहिले खायो भरे के खाने भन्ने समस्यासित जुझ्ने आम मानिसहरूको बसोबासो रहेको यस्ता झोपड़पट्टी इलाकामा बुनियादी सुबिधाहरू खुबै कम पुगेका हुन्छन्। हात र मुख जोड़्नु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण काम हो भन्ने बाध्यतामा बाँचिरहेका यस्ता इलाकाका मानिसहरूलाई अरू कुनै विषयसित सरोकार हुँदैन। शिक्षा, समाज, संस्कृति, भाषा, धर्म, कर्म, चाड़बाड़, राजनीतिजस्ता विषयहरूदेखि सुदूर यस्ता इलाकाका मानिसहरूको प्राथमिकता नै हुन्छ पेट भर्नु। यस्तै इलाकामा आफ्नो जन्मदेखि बाल्यकाल बिताएका हुन् आजका हाम्रा पात्रले। अनि उनी यो सत्यलाई स्विकार्न कतै पछि हट्तैनन्।

आर्थिक रुपले कमजोर परिवारमा जन्म लिएका बृजेशले सिउड़ी नामक मुम्बईको एक उपनगरीय क्षेत्रमा स्थित बारदेवी नगरपालिका स्कुलमा आफ्नो विद्यार्जन सुरू गरेका हुन्। पढ़्नमा सानैदेखि अब्बल रहे तापनि निजी स्कुलमा अध्ययन गर्न नपाएका बृजेशले त्यसपछि हाई स्कुलको शिक्षा गुरु तेगबहादुर नगरमा रहेको सनातन धर्म उच्च विद्यालयबाट ग्रहण गरे। त्यसपछि उनले माटुङ्गास्थित एसिया महादेशको एक नम्बर भीजेटीआई कलेजबाट इलेक्ट्रोनिक इन्जिनियरिङ उत्तीर्ण गरे।

सुन्नमा सहज लागे तापनि बृजेशको झोपड़पट्टी इलाका सिउड़ीको प्राथमिक विद्यालयदेखि इलेक्ट्रोनिक इन्जिनियरिङसम्मको यात्रा बढ़ो चाखलाग्दो अनि सङ्घर्षले पूर्ण पाइन्छ। सिउड़ीमा आर्थिक रुपले रहनसहन गर्ने परिवारका मानिसहरू धेर बस्छन् अनि ती बालकबालिकाहरूलाई अक्षरज्ञान सिकाउनका लागि कतिपय गैर-सरकारी सङ्गठनहरू, सामाजिक संस्थाहरूले समयसमयमा भ्रमण गर्छन्। ती संस्थाहरूले पढ़्नमा अब्बल रहेका अथवा रुची राख्ने नानीहरूलाई प्रायोजना गरेर स्कुल जाने लत लगाउँछन्।

घरको आर्थिक बोझले थिचिएका बृजेशको भाग्यमा प्राथमिक स्कुलदेखि माथि उक्लिन सक्ने-नसक्ने केही तय थिएन। तर त्यस झोपड़पट्टी इलाकामा एकदिन एकजना सामाजिक कार्यकर्ता आए दक्षिण भारतीय व्यक्ति – देवैया। बृजेशलाई आजसम्म पनि उनको पुरा नाउँ थाहा छैन। देवैयाले सिउड़ीका यस्ता दीनहीन नानीहरूलाई अध्ययन गराउने काममा आफ्नो गैर-सरकारी सङ्गठनलाई सहयोग गरिरहेका थिए। उनले यस्ता नानीहरूमा एकजनाका रुपमा चुने बृजेश दमाईलाई। उक्त सामाजिक कार्यकर्ता देवैयाको संस्थाले राष्ट्रिय छात्रवृत्ति परिषद्सित मिलेर कार्य गर्थ्यो। बृजेशले पनि देवैयाको सहानुभूति र सहयोग पाएर चौथो श्रेणीदेखि स्कलरसिप पाए। उनीसँगै अन्य साथीहरूले पनि यो सुबिधा पाए तापनि धेरैले बिचबिचमै स्कुल छोड़ेर गए। तर आफ्नो परिवारलाई कुनै न कुनै दिन शिक्षाकै माध्यमद्वारा उजेलो देखाउने अठोट लिएका बृजेशले भने आफ्नो विद्यार्जनको क्रमलाई जारी राखे। मूलतः यस्ता झोपड़पट्टी इलाकाका मसिना नानीहरूलाई जागरुकताको कमी अनि बाध्यताकै कारणवश पनि तिनका मातापिताले स्कुल पढ़ाउने काम गर्दैनन्। स्कुल पढ़ाउँदा उनीहरूलाई धेरै प्रकारको हानी हुन्छ। समय बर्बाद हुन्छ, घरको एउटा मानव संसाधन नष्ट भएर जान्छ, पैसा-रुपियाँ खर्च हुन्छ, नानीहरूले दुर्भाग्यवश राम्रो पढ़िदिएनन् भने खर्च दोब्बर भएर जान्छ, पढ़ेपछि पनि भनेजस्तो काम पाउँदैनन्, काम नपाएपछि विभिन्न थरिका कुलतहरूका सिकार हुन्छन्। यस्तै सोचमा जीविका साधिरहेका अभिभावकहरूका नानीहरू पनि प्रायः यस्तै विचारले ग्रस्त हुन्छन् अनि त्यसैअनुसारको बाटो पैलाएर जाने गर्दछन्। तर बृजेशका मातापितामा त्यो भावना थिएन। उनीहरू आफ्नो छोरालाई पढ़ाउन त चाहन्थे तर आर्थिक रुपले भने असक्षम थिए। बृजेशले भने अध्ययन गरेर केही बन्ने सपनालाई साकार पार्नका लागि खुप मिहिनेत गरेर पढ़िरहेका थिए।

यसैबिच दसौँ श्रेणीको परीक्षा आयो जसलाई बृजेशले सहजै उत्तीर्ण गरे। समस्या त्यसपछि पो सुरू भयो। अब के गर्ने? किनभने उनका प्रायोजकको सामाजिक संस्थाको अधिकार क्षेत्रमा दसौँभन्दा माथिको अध्ययन गराउने क्षमता थिएन। अर्कोतिर बृजेशको परिवारमा छोरालाई उच्च स्कुलमा हुल्ने हबिगत थिएन। दसौँ कक्षापछि उनले त्यो नगरपालिका स्कुल त्यागेर जुनियर कलेजमा भर्ती लिनुपर्ने बाध्यता थियो। कलेजको परिवेशमा खर्चपात अधिक हुने नै हो। यतिखेर देवैया पनि आफ्नो जिम्मेवारी पुरा भइसकेको बताउँदै खुट्टो झिकेर लुप्त भइदिए। भिरको चिन्डोजस्तो बनेका बृजेशले आफ्नो नजरदेखि हराइसकेका देवैयालाई खोज्दैखोज्दै कताकता डुले। एकदिन फेला पारेपछि उनले देवैयालाई उच्च अध्ययन गर्ने आफ्नो इच्छा रहेको बताएर सहयोग मागे। देवैया पनि लाचार थिए। सामाजिक संस्थाहरूको यही हालत हुन्छ। बिरुवा रोप्ने अभियानजस्तै बन्न लाग्यो बृजेशको अवस्था। बिरुवा त रोप्यो तर त्यसको स्याहारसुसार छैन भने त्यो अभियान कहिल्यै सफल हुँदैन। फेरि अर्को साल अर्को बिरुवा रोपेर हुँदैन। एउटा विद्यार्थीलाई उच्च अङ्क ल्याएको भनेर सम्मान जनायो, पढ़्नमा अब्बल भनेर अभिनन्दन र अभ्यर्थनाको प्रमाणपत्र बोकाएर घोड़ामा चढ़ाई गाउँघर घुमायो, प्रायोजना गऱ्यो तर उसको भविष्यको अध्ययनका लागि सही मार्गदर्शन गरिदिएन, उसलाई पढ़्नका लागि आवश्यक वातावरण सृष्टि गरिदिएन, उसलाई आर्थिक सहयोग पुऱ्याइदिएन भने त्यस अभियानको कुनै महत्त्व हुँदैन। दसजनालाई चुबुरचुबुर दिनुभन्दा एकजना अब्बल छानेर उसलाई सशक्त बनाउनसक्नुपर्छ सामाजिक संस्थाहरूले, स्पोंसरहरूले, दाताहरूले। दान गर्नु पुण्य होइन, तर त्यस दानका पात्रलाई सही ठाउँमा पुग्ने मार्ग प्रशस्त गरिदिनु ठुलो काम हो।

यसै प्रसङ्गमा हाम्रो पहाड़तिरका यस्ता गतिविधिहरूको उठान गरूँ। हामी देख्छौँ  – धेरै वर्षदेखि महत् उद्देश्य लिएर छात्रवृत्ति प्रदान गरिने काम भइरहेको छ पहाड़मा अब्बल नानीहरूलाई। तर यसरी छात्रवृत्ति पाएका विद्यार्थीहरू आज कुन अवस्थामा छन्? के उनीहरू जुन महत्त्वाकांक्षा लिएर बढ़ेका थिए त्यो पूर्ण भइरहेको छ? जुन उद्देश्य लिएर ती नानीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो के उनीहरू त्यस स्तरमा पुग्न सफल बनिरहेका छन्? यदि छन् भने त्यसको उदाहरण दिएर आउँदा पिढ़ीहरूलाई प्रोत्साहित पार्ने काम गर्नुपर्छ। यदि समाजमा ती विद्यार्थीहरू उपयोगी सिद्ध हुन गइरहेका छैनन् भने यस प्रथामाथि पुनर्विचार गरेर वैकल्पिक मार्गहरू अप्नाउनुपर्छ।

यस्तै भयो बृजेशको घटनामा पनि। धेरैजना छात्रछात्रालाई आर्थिक सहयोग त गऱ्यो संस्थाले तर सबैले त्यो संस्थाको उद्देश्यलाई साकार पार्ने काम गरिदिएनन्। जबकि बृजेशजस्ता सयमा एकजना अब्बल छात्रले भने त्यस संस्थाको उद्देश्य पुरा गर्न चाहँदा पनि बिच बाटामा उनलाई लत्याउने काम भयो। धन्य बृजेशले समाजमा व्याप्त कुलतहरूलाई पछ्याएनन् अनि आफ्नो ऊर्जा लगाए फेरि यस्तै छात्रवृत्ति प्रदान गर्नसक्ने अन्य संस्थाहरूको खोजीमा।

बिचरा देवैयासित कुनै क्षमता थिएन बृजेशलाई आर्थिक मद्दत गर्ने। तर बृजेशले आफ्नो जिद्दीपन देखाएर देवैयालाई निहुँ खोजिरहे। यदि तपाईँले सक्नुहुँदैन भने मलाई किन स्पोंसर गराउनुभयो? भन्ने प्रश्नहरू तेर्स्याएर उनले देवैयाबाटै सहयोगको अपेक्षा गरे। यस्तोमा देवैयाले यताउति खोजखाज गरेर उच्च अध्ययनका लागि कार्य गरिरहेका अन्य सामाजिक सङ्गठनहरूसित सम्पर्क साँच्न थाले अनि त्यसबारे बृजेशलाई मार्गदर्शन गर्नथाले। यतिन्जेल घरकाहरूले पनि बृजेशको अध्ययन अघि बढ़्ने आशाबाट माया मारिसकेका थिए। आफ्ना पिताजीले चौकीदारी गरेर घर चलाइरहेको कुरालाई सहज रुपमा स्विकार गर्दै बृजेश भन्छन्, घरमा कसैलाई थाहा थिएन यतिखेरसम्म मैले के गर्दैछु भनेर। हिन्दुस्तान मिलमा चौकीदारी गर्ने मेरा पापा त मेरो बिहे गरिदिन तम्सिए। किनभने त्यस्तो सामाजिक परिवेशमा छोराछोरीलाई छिट्टो बिहे गराइदिएर सानोतिनो काममा अल्झाउनु नै प्राथमिकता हुन्छ।

अर्कोतिर आफ्नो अध्ययनलाई जारी राख्ने कटिबद्धता अनि उनको लिँढ़ेढिप्पीका सिकार बनेका अविवाहित युवक देवैयाको सहयोगको परिणाम के निस्क्यो भने बृजेशले एसियाको एक नम्बर इन्जिनियरिङ कलेजमा भर्ना पाए। यो थियो सन् 1996 -को कुरो। भीजेटीई कलेजको भर्तीको परिणाम निस्केपछि देवैया पनि तीनछक परे बृजेशको अध्ययनको तीक्ष्णताको कारण। त्यसपछि देवैया फेरि अघि आए बृजेशलाई सहयोग गर्न। उनले अध्ययनको क्रममा बृजेशलाई प्रेरणा र प्रोत्साहनको मार्ग देखाए। आर्थिक सहयोग गरे। नयाँनयाँ प्रायोजकहरू खोजिदिए। कलेजको शुल्क कसरी तिर्नुपर्ने त्यो बताइदिए। कसरी अन्य प्रायोजकहरूबाट छात्रवृत्ति पाउनसकिन्छ ती बाटाहरू देखाइदिए। देवैया आफै पनि काम गर्थे। उनले बृजेशलाई स्पोंसर गर्ने ब्याङ्कका प्रबन्धकहरूसित भेटाइदिए। ब्याङ्कले दाताहरूसित भेटाइदियो। अनि छात्रवृत्ति परिषदबाट उनले आर्थिक सहयोग पाउनथाले। यसरी इन्जिनियरिङको अध्ययन उनको जारी रह्यो।

सन् 2000 -मा कलेजको अध्ययन सिद्धिँदा-नसिद्धिँदा क्याम्पस इन्टरभ्युमा बस्ने औसर पाए बृजेशले। त्यो अन्तर्वार्तामा सहजै उत्तीर्ण गरेपछि जून महिनामा उनले भोल्टाज कम्पनीमा काम पाएर तनखा पनि पाउनथाले। त्यस कम्पनीमा एक वर्ष उनले प्रशिक्षणार्थीका रुपमा काम गरेपछि अर्को निजी कम्पनी सिमेन्स लिमिटेडमा अझ उच्च कोटीको काम पाए। सन् 2002 -देखि उनले सिमेन्समा पूर्ण रुपले अभियान्त्रिकका रुपमा सात वर्ष काम गरे। त्यस कम्पनीमा सहायक प्रबन्धकको पदमा पुगेपछि उनले त्यो काम त्यागे।

आज इलेक्ट्रोनिक अटोमेसनको बेपारमा जरा गाढ़ेको हनिवेल जस्तो नामुद कम्पनीमा साउथ एसियाका प्रोडक्ट स्पेसियलिस्टको पदमा कार्यरत बृजेश भारतमा खुबै कम बस्छन्। उनको यात्रा सारा एसियातिर भइरहन्छ। फुर्सत भन्ने शब्द आफ्नो शब्दकोशमा नरहे तापनि बृजेश आफुजस्ता गरिबगुर्बा नानीहरूका लागि चिन्ता गर्छन्। घरि चीन, घरि हङकङ, घरि श्रीलङ्का, घरि थाइल्यान्ड, घरि सिँगापुर इत्यादि स्थानहरूतिर उड़िरहने बृजेशलाई तर आज एउटै कुराले सताइरहेको छ। उनी जान्न चाहन्छन् – देवैया को थिए? वर्तमान दिनमा उनको देवैयासित कुनै सम्बन्ध र सम्पर्क छैन। बिस्तारैबिस्तारै आफुले बाल्यकालमा देखेका देवैयाको अनुहार पनि बृजेशले भुल्नथालेका छन्। हरेक दिन उनी देवैयाकै खोजीमा हुन्छन् अनि भन्छन्, कुनै न कुनै दिन, कहीँ न कहीँ त भेट्छु होला

सानै उमेरमा बिहे गरेका बृजेश हालमा आफ्ना मातापिता, धर्मपत्नी र दुइ छोराहरूसित दम्बिवलीमा बस्छन्। मुम्बईका सामाजिक कार्यकर्ताहरू विकास दूतराज, आईबी सिँह, कमल सिँह आदिको सङ्गत पाएर आफ्नो जातिका लागि पनि केही न केही गर्ने उद्देश्यले आफुले भ्याउने कार्यक्रमतिर सरिक बन्दछन्।

जीवनमा कहिल्यै दार्जीलिङ देखेका छैनन् तर त्यस ठाउँको सम्मान गर्छन्। कहिल्यै पनि नेपालीभाषामा क, ख, ग सिक्ने औसर पाएनन् र पनि उनी सबैसित नेपालीमै बात गर्छन्। चाहे जतिसुकै मराठी, हिन्दी र अङ्ग्रेजी मिस्सिएको उनको नेपाली बोली होस् तर बृजेशले त्यसलाई आफ्नो हृदयबाटै बोलिरहेका हुन्छन्। यसैले उनको भाषा नबुझे पनि मनका कुरा हामी सहजै बुझ्छौँ। आफ्नो परिवारमा आमापापाले बोलेको सुनेर नै नेपाली सिक्नसक्ने तीक्ष्ण बुद्धिका धनी बृजेशलाई नेपाली चाड़बाड़हरूबारे पनि धेरै ज्ञान छैन। न त उनले भारतका नेपाली-गोर्खा नेताहरूबारे नै सुनेका छन्। तर पनि भारतमा गोर्खाहरूको राजधानी मानिइने दार्जीलिङ भनेपछि हुरुक्कै हुन्छन्।

म होइन तर हामी बनेर अघि आउनुपर्छ भन्दै उनी सामाजिक उत्थानको काममा सहयोग गर्न चाहन्छन्। आफ्ना आँखाले सदैव देवैयाको खोजी गरिरहेका बृजेश भन्छन्, असक्षमहरूलाई सघाउन हामी सदैव तयार रहनुपर्छ। मलाई पनि देवैयाले सहयोग नगरेका भए सायद आज म मुम्बईको कुनै गल्लीमा सानोतिनो केही काम गरिरहेको हुन्थे अथवा बाटो भट्केर नराम्रा धन्दातिर पो लिप्त हुन्थेँ कि….। तर म आज पनि देवस्वरुप ती देवैयालाई खोजिरहेछु जो यो महानगरको भिड़मा कहीँ न नहीँ अर्को बृजेशको खोजीमा डुलिरहेका होलान्। सायद म देवैयालाई पुनः भेट्नसक्छु वा सक्तिनँ तर म पनि उनले जस्तै आर्थिक रुपले पछौटे नानीहरूलाई सहयोग गरेर देवैयाको ऋणबाट आफैलाई उकास्न चाहन्छु। हुनत म त्यस ऋणबाट मुक्त हुन कहिल्यै सक्तिनँ तर कमसेकम उनले देखाएको मार्गमा हिँड़ेरै भए पनि उनलाई स्मरण गर्न चाहन्छु अनि म पनि एक देवैया बन्न चाहन्छु।।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया