मुख्यमन्त्रीले गरिन् तीनसय बनबस्तीबासीलाई पर्चापट्टा दिने घोषणा : 24 वटा योजनाहरूको शिलान्यास

कालेबुङ, 27 मई।


मुख्यमन्त्री ममता व्यानर्जीले कालेबुङको डा. ग्राहाम्स होम्सस्थित रोनाल्डसे पार्कमा अल बोर्ड को-अर्डिनेसन कमिटीद्वारा आयोजित कार्यक्रममा 24 वटा योजनाहरूको शिलान्यास गरिन्। यसै अवसरमा तिनले मङपुमा स्टेट युनिभर्सिटी निर्माण गर्ने अनि बनबस्तीका 3 सय मानिसहरूलाई पर्चा प्रदान गर्ने घोषणा पनि गरिन्। यता बोर्ड अध्यक्षहरूलाई आफ्नै हातबाट 96 करोड रूपियाँ दिँदै एकाधिक योजनाहरूसमेत थमाइन्।

‘म पहाडको विकास चाहन्छु। यद्यपि यो तबमात्र सम्भव छ जब पहाडमा शान्ति रहनेछ’-मुख्यमन्त्रीले भनिन्, ‘जसले राम्रो काम गर्छ उसैलाई बेसी सहायता गर्नेछु।’ राम्रो काम नगर्नेलाई साङ्केतिक रूपमा थप सहयोग प्रदान नगर्ने चेतावनी पनि दिइन्। ‘चाहे जीटीए होस् अथवा विकास बोर्ड सबैले राम्रो काम गर्नु,’ उनले भनिन्, ‘कार्य अनि हिसाबको राम्रो अडिट गरिएको होस्।’

बनबस्तीका मानिसहरूको लामो समयअघिदेखिको मागमाथि पनि उनी बोलिन्। ‘म बनबस्तीका मानिसहरूलाई फर्किनअघि पर्चापट्टा दिएर जानेछु,’ उनले भनिन्, ‘जानअघि 3 सय जनालाई पर्चापट्टा प्रदान गर्नेछु।’

केन्द्र सरकारले पहाडमा केन्द्रिय विश्वविद्यालय निर्माण गरिनुपर्ने मागलाई पूरा नगरेको कारण नै आफूले मङ्पुमा स्टेट यूनिभर्सिटी निर्माण गर्न जमिन हेरिसकेको बताइन्।

‘विगतमा के भयो म त्यो कुरालाई भुल्न चाहन्छु। कुनै-कुनै नेताले पहाडमा 5-6 महिना बन्द डाके विकास कार्य ठप्प हुन्छ भने बेरोजगारी बढेर जानका साथै खानाको पनि समस्या भएर जान्छ,’ मुख्यमन्त्रीले खै गरिन्, ‘यसर्थ विगतमा भएको त्यो कुरालाई राम्रो कार्य गरेर अघि बढ्न आवश्यक छ।’

यता पहिलो माउण्ट एभरेष्ट आरोही तेञ्जिङ नोर्गे शेर्पालाई पनि सम्झना गरिन्। सम्बोधनको शुरूवातमा नै तिनले तेञ्जिङ नोर्गे शेर्पालाई सम्बोधनमा राखिन्। ‘जब पनि म पहाड आउँछु तब मलाई तेञ्जिङ नोर्गेको कुरा सबभन्दा पहिले दिलमा आउँछ,’ उनले थपिन्, ‘उनी पहाडका गौरव हुन्, बङ्गालका गौरव हुन् अनि देशकै गौरव हुन्।’

कार्यक्रममा राज्यका मन्त्रीहरू गौतम देव, अरूप विश्वास, इन्द्रनील सेन, जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसनका अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा, राज्यसभा सांसद शान्ता छेत्री, मन घिसिङ साथै विभिन्न बोर्डका अध्यक्ष-उपाध्यक्षहरू उपस्थित रहेका थिए।

कार्यक्रम अन्तर्गत विभिन्न जात-गोष्ठीका कलाकारहरूले मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएका थिए भने हजारौं मानिसहरूको उपस्थिति कार्यक्रममा रहेको थियो।

स्मरणरहोस्, मुख्यमन्त्री ममता ब्यानर्जी हिजो बेलुकी लगभग 6 बजी कालेबुङ आइपुगेकी थिइन्। आज उनले बोर्डहरूको कार्यक्रममा उपस्थिति दिएकी हुन्। उनले भोलि अर्थात 30 मईको दिन डा ग्राहाम्स होम्स स्कूलको जार्बी हलमा प्रशासनिक बैठक गर्नेछिन्।

पर्यटन व्यवसाय पहाडको निम्ति लक्ष्मी अर्थात कमाईको मुख्य स्रोत रहेको बताउँदै यसलाई बढावा दिनपर्ने कुरामा आज पनि मुख्यमन्त्रीले जोर दिइन्।  कालेबुङको लाभा, लोलेगाउँ अनि रिसपको पर्यटन विषय लिएर भोलिको प्रशासनिक बैठकमा चर्चा गरिने मुख्यमन्त्रीले आफ्नो सम्बोधनबाट भनिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया