सागादावाको अवसर गुरूदेवद्वारा वाङ् वितरण

गान्तोक , 29 मई।


 लबर बुर्तुकस्थित बौद्ध गुम्पामा चार दिवसीय बुम पुजा र डोल्माको विशेष अनुष्ठान आज सागा दावाको दिन सम्पन्न भयो। यस अवसरमा पावन निमा होसेर रिम्पोछे गुरूदेवद्वारा हजारौंको संख्यामा उपस्थित बौद्ध धर्मावलम्बीलाई आयुको आर्शिवाद (वाङ) वितरण गरे। गुम्पा समितिद्वारा गत 26 मईको दिनदेखि पालन गरिएको बुम पुजा आज सम्पन्न हुनका साथै गुरूदेवले वाङ वितरण गरेका थिए।

मुख्य रूपमा आयुको निम्ति विशेष पुजा अनुष्ठान आयोजन गरिएको ख्याम्पो कर्मा गुरुङले बताए। यसको मुख्य उद्देश्य शान्ति सद्भावना र भक्तहरूमा आयुको आर्शिवाद प्रदान गर्नु रहेको थियो। चार दिने बुम पुजामा लगातार रूपमा 32 जना लामाले पुजा अर्चना गरेका थिए। 1994 देखि सञ्चालित गुम्पामा आज सिक्किमको चारै जिल्लाका भक्तजन तथा कालेबुङ, दार्जीलिङ र खरसाङ-सिलगढीबाट पनि सयौंको संख्यामा सागादावाको पावन अवसरमा गुरूदेवको हातबाट आर्शिवाद लिनेहरूको ताँती रहेको थियो। दिनभरि पुजा अर्चना पछि अपराह्न शुरु भएको वाङ वितरणको क्रममा व्यापक संख्यामा भक्तजनको उपस्थिति रहेको थियो।


सिक्किमभरि सागा दावा भव्यताको साथमा पालन

 गान्तोक: सिक्किमेहरूको पावन पर्व सागा दावा राज्यभरिको बौद्ध गुम्पाहरूमा भव्यताको साथमा पालन गरियो। राजधानी गान्तोकमा राजदरवारको गुम्पा चुकलाखाङबाट बौद्ध लामाहरूको साथमा आम नागरिक तथा विद्यार्थीहरूको उपस्थितिमा विराट शान्ति जुलुस निकालियो। चुक्लाखाङ ट्रस्ट द्वारा आयोजित यो शान्ति जुलुसमा विभिन्न विद्यालयका विद्यार्थीहरूले बौद्ध धर्मका पुस्तक बोकेर दर्शनार्थीहरूलाई पुस्तकको दर्शन गराएका थिए।

चुकलाखाङ गुम्पाबाट भगवान बुद्धको प्रतिमाको साथमा निक्लेको शान्ति जुलुस तिब्बत पथ हुँदै एमजीमार्ग, राष्ट्रिय राजमार्ग भएर मिन्तोगाङ हुँदै पुन चुकलाखाङ रोयल च्यापलमा पुगेर परम्परागत पुजा अर्चना गरिसकेपछि सम्पन्न भयो। भगवान बुद्धको जीवनको तीन महत्वपूर्ण घटनालाई लिएर पालन गरिने सागादावा तिब्बतीय बौद्ध परम्पराको महत्वपूर्ण पर्व हो। यो पर्वलाई भगवान बुद्ध जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणाको दिनको रूपमा मानिन्छ। जुन सिक्किम समेत हिमाली क्षेत्रको अन्य राज्य जम्मु कश्मिरको लद्दाख, अरूणाचल प्रदेश, दार्जीलिङ र अन्य भागहरूमा पनि यो पर्व पालन गरिने गरिन्छ।

यो पर्वको विषयमा बताउँदै विधायक तथा ट्रस्टका पूर्व सदस्य कुङ्गा निमा लेप्चाले भने, भगवान बुद्धको जीवनीमा यो महत्वपूर्ण तीन घटनालाई लिएर पालन गरिने पर्व हो सागा दावा। यो पर्व सिक्किममा छोग्याल (राजा) को पालादेखि नै पालन गरिन्छ। जुन सिक्किमको सबै गुम्पाहरूमा पालन गरिन्छ। पहिलेदेखि यो पर्वको समय बौद्ध भिक्षु र लेप्चा बुङ्थिङहरूको उपस्थितिमा विशेष पुजा अर्चनाको साथमा परम्परागत रूपले पालन गरिन्थ्यो। यो सिक्किमेहरूको निम्ति महत्वपूर्ण र अध्यात्मिक दृष्टिले पनि ठूलो महत्वको पर्व हो। उनले सिक्किमे जन समुदायलाई यो पर्व र भगवान बुद्धको आर्शिवाद सधैँ रहीरहोस भन्ने कामना पनि गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया