‘हाम्रो आन्दोलन कोही व्यक्तिविरुद्ध होइन’

प्रकाश गुरागाईं

त्यो वास्तविक दार्जीलिङ हो, जुन ठाउँ ग्लोबल म्यापमा देखिँदैन । नक्सा हराएकै ठाउँको मान्छेको मुद्दा हो, गोर्खाल्यान्ड । तर, जो नेता आए, ती मध्यम वा उच्च वर्गका थिए । तिनीहरूले सम्झौतावादी चरित्र देखाइरहे । सुवास घिसिङ, पूर्वसेना । विमल गुरुङ, ठेकेदार । उनीहरू न गरिब, न धनी । त्यसैले आन्दोलन मध्यमवर्गीय अवसरवादमा फसेको  छ ।


दार्जीलिङको चौरस्तामा उभिएर इन्द्रबहादुर राईको साहित्य र दर्शनमाथि कसले गर्ला प्रश्न ? भारतीय नेपाली साहित्यका खम्बा हुन्, इन्द्रबहादुर राई अर्थात् इबरा । दार्जीलिङमा ‘आइबी सर’ भनेर सम्मान गरिने इबराले झन्डै ३५ वर्षअघि एउटा पुस्तक लेखे– ‘साहित्यको अपहरण, मार्क्सवादी प्रतिबद्धता’ । प्रगतिशील र वामपन्थी लेखकलाई खिल्ली उडाइएको यो पुस्तकविरुद्ध दार्जीलिङमा धेरैले प्रश्न उठाए, तर प्रश्नहरू उस्तो सतहमा आएनन्।

तर, समय सधैँ एकनासले बहँदैन । पछिल्लो पुस्ता दार्जीलिङमा प्रगतिशील साहित्यको उठानका लागि जुर्मुरायो । उनीहरूले ती नै प्रश्न फेरि सतहमा ल्याए। अनि सुरु भयो, हस्तक्षेप आन्दोलनमाथि आक्रणण ।

आन्दोलनकारी कविहरूले इबरामाथि प्रश्न उठाउनु प्रतिनिधि घटना मात्र थियो । हस्तक्षेप आन्दोलन त भारतीय सत्ताले अल्पसंख्यकमाथि गरेको अन्याय र शोषणविरुद्धको प्रतिहस्तक्षेप थियो ।

नगरपालिकाका जागिरे राई भारतीय सत्तासँग नजिक थिए । कङ्ग्रेस आईका समर्थक । त्यसैले उनीमाथि प्रश्न गर्न तम्सिए, राजा पुनियानी, मनोज बोगटी, टीका भाइ, निमा शेर्पालगायत युवाकविहरू ।

त्यो भिडमा राजा पुनियानीको पहिचान छुट्टै थियो ।

पन्जाबी बाबु र नेपाली मूलकी लिम्बुनी आमाका सन्तान हुन्, राजा । नेपालीहरू पढ्ने स्कुलमा पढे । नेपाली समुदायसँगै हुर्किए । उनीहरूसँगै खेले । त्यो दार्जीलिङको सुन्दर गाउँ लाटपन्चर, कुलैनबारी थियो ।

उनले पहिलो कविता कक्षा ४ पढ्दापढ्दै लेखेका थिए । त्यो कविता अहिले उनीसँगै छैन । दोस्रो कविता कक्षा ६ मा लेखे । शीर्षक थियो– आमा । जिन्दगीको पहिलो कमाइ पनि त्यही कविताले दियो ।

सन् १९८७ मा लेखेको सो कविता त्यही वर्ष हिमालचुली दैनिकमा छापियो । सम्पादक थिए, साहित्यकार शिवकुमार राई । उनले ६० रुपियाँ पारिश्रमिक दिए । पछि, उनी अखबारमै काम गर्न थाले । त्यही सन्दर्भमा कवि मनोज बोगटीसँग सम्पर्क भयो ।

भेटघाट र छलफल बढ्दै जाँदा विचार मिल्यो । अनि सुरु भयो, प्रश्नको सिलसिला। त्यही सिलसिलामा इबरातिर पनि प्रश्नहरू सोझिए ।

तर, इबरा भारतीय नेपाली साहित्यका धरोहर भएको भने स्विकार्छन्, राजा पुनियानी। इबराका कृतिको विषयवस्तु जीवित रहेसम्म उनी पनि जीवितै रहने पुनियानी बताउँछन् ।

समय परिवर्तनशील छ भन्ने कुरालाई इबराले पनि स्विकारेका हुन् । उनी तेस्रो आयाम हुँदै लीलालेखनमा आए । त्यसपछि पनि ‘बुटस्टप थ्यौरी’मा काम गरिरहेका थिए । तर, पूरा हुन सकेन । ‘तर, उनलाई मार्क्सवादसँग एलर्जी थियो, त्यो नयाँ सिद्धान्त पनि पूरा भएको भए थप पुष्टि हुन्थ्यो,’  पुनियानी भन्छन् ।

धोका खाएको दार्जीलिङ
प्रसङ्ग फेरि इबरामै जोडिन्छ । जबसम्म ‘विपना कतिपय’ लेख्दै थिए । ‘कथास्था’ र ‘आज रमिता छ’ लेख्दै थिए, इन्द्रबहादुर राई यथार्थवादी थिए । समाजका मुद्दासँग सरोकार राखिरहेका थिए । उनले सन् १९८७ मा लीलालेखन सुरु गर्दा सुवास घिसिङको नेतृत्वमा गोर्खाल्यान्ड आन्दोलन सुरु भएको थियो ।

यो गोर्खाहरूको पहिलो ‘रेजिस्टर्ड’ आन्दोलन थियो । त्यही समय इबराको ‘कठपुतलीको मन’ कथा सङ्ग्रह प्रकाशन भयो । तर, पुस्तकमा कतै पनि गोर्खाल्यान्ड शब्दसमेत उल्लेख गरेनन् । गोर्खाको मुद्दाबारे एउटै पनि कथा लेखेनन्। राजा पुनियानी भन्छन्, ‘समुद्रको भेल बग्दै गर्दा एउटा लेखक कसरी टापु बनेर बस्न सक्छ ? इबरामाथि यहीँबाट प्रश्न उठ्न थालेको हो ।’

दार्जीलिङको मुद्दा नेताको नभई जनताको हो । दार्जीलिङको चौरस्ता र टाइगर हिल जानेलाई थाहा छैन, वास्तविक दार्जीलिङ । कवि पुनियानी पर्यटकलाई चौरस्ताबाट केही पर निस्किएर १० मिनेट चियाकमानतिर ओरालो झर्न आग्रह गर्छन् ।

त्यो वास्तविक दार्जीलिङ हो, जुन ठाउँ ग्लोबल म्यापमा देखिँदैन । नक्सा हराएकै ठाउँको मान्छेको मुद्दा हो, गोर्खाल्यान्ड । तर, जो नेता आए, ती मध्यम वा उच्च वर्गका थिए । तिनीहरूले सम्झौतावादी चरित्र देखाइरहे । सुवास घिसिङ, पूर्वसेना । विमल गुरुङ, ठेकेदार । उनीहरू न गरिब, न धनी । त्यसैले आन्दोलन मध्यमवर्गीय अवसरवादमा फसेको पुनियानीको ठहर छ । सुवास घिसिङ राम्रो कलाकार, चित्रकार र लेखक थिए । उनी बेजोड कविता लेख्थे । राजा पुनियानीले त कण्ठै बनाएका छन्–

बरु म त जङ्गली बाघकै मुटु
एकैछिन भए पनि पैँचो मागेर
मूल सडकबीच मेरा पैतालाका डामहरू 
छाडिराख्न मन लाग्छ 
ता कि हिटलरको हातबाट पेस्तोल खसोस्
ता कि नेपोलियनको घोडा तर्सियोस्
चियानभित्र सुतेको बलभद्रलाई 
फेरि तिर्खा लागोस् ।
सुवास असल नेता भने थिएनन् । त्यसैले आन्दोलनकारी कवि राजा पुनियानीहरूले विमति राखे । त्यसो त विमल गुरुङसँग पनि असहमति छन्, उनका । आन्दोलनलाई ठेकेदारी शैलीमा लगेपछि लडखडाएको उनीहरूको ठहर छ ।

दार्जीलिङमा नेतालाई साथ दिने गतिला लेखक र संस्कृतिकर्मी नहुँदा पनि जनता जागरुक हुन नसकेको पुनियानी बताउँछन् । उनी भन्छन्, ‘तेलङ्गनामा बर्बरा रावजस्ता कवि थिए, गदरजस्ता संस्कृतिकर्मी थिए । हामीले सांस्कृतिक रूपमा जनतालाई सचेत बनाउन सकेनौँ ।’

त्यसैले आन्दोलन चल्दै गर्दा ‘किन दार्जीलिङ बन्द गरेको ?’ भनेर प्रश्न उठाइन्छ । परिवर्तनप्रति मजदुरलाई शङ्का छ । जस्तो, उनीहरूले सिक्किम देखेका छन् ।

सय वर्षपछिको भारत
राजा पुनियानी भन्छन्, ‘भारत अर्धपुँजीवादी देश हो ।’ उनका अनुसार एउटै भारतभित्र धेरै भारत छन् । कास्मिर भारतको नक्साको शिरमा छ । ‘तर, बाँकी विश्वले कास्मिरविनाको भारत देखिरहेका छन् । किनभने त्यो कास्मिरलाई भारतले लुकाउन चाहेको छ।’

दक्षिण भारतका जनता हिन्दीमा कुरा गर्न मन पराउँदैनन् मात्र होइन, हिन्दीलाई घृणा नै गर्छन् । हिन्दी भनेको हिन्दुस्तान, हिन्दुस्तान भनेको राम । उनीहरूको भगवान् रावण । १० वटा टाउका हुनु भनेको १० गुणा बढी सोच्ने क्षमता हुनु हो । साँच्चिकै टाउका होइनन् । यसकारण दक्षिण भारतका जनताको संस्कृतिको सम्मान नहुँदाको परिणाम हो, हिन्दी भाषामाथिको घृणा । र, अझै सांस्कृतिक विविधतालाई सम्मान गर्दैन, भारत ।

राजा पुनियानीले ‘कास्मिर’ र ‘गान्धीगिरी’जस्ता कविता लेखेर भारतीय सत्तालाई सचेत गराए । तर, सत्ताको अर्धपुँजीवादी चेतना झनै कठोर बनिरहेको उनले महसुस गरेका छन् । उनी बिस्तारै भारतको अवस्था नाजुक देखिरहेका छन् ।

‘आउँदो सय वर्षमा ‘भारत टुक्रिने’ सम्भावना बलियो छ । हुन त देशहरू यसरी नै बन्छन्, तर भारत विभिन्न देशहरूको देश हो । म भारतबाहिर आएर मात्र भनेको छैन, भित्रै पनि भनिरहेको छु, भारतलाई गाह्रो छ,’ राजा पुनियानीले भने ।

कवि पुनियानीलाई लाग्छ, भारत मझधारमा छ । र, मझधारमा पारेको नेहरूले हो । जस्तो, उनले मिश्रित अर्थव्यवस्था ल्याए । एकैपटक पुँजीवाद र समाजवाद चलाउने काम भयो । जसले लठिबद्र मात्र गऱ्यो । भारत अहिले पनि कृषिप्रधान देश हो । तर, किसानका लागि कुनै योजना देख्दैनन्, पुनियानी ।

बर्सेनि ठूलो संख्यामा कपास किसानले सामूहिक आत्महत्या गर्छन् । भारतमा जन्मिने बच्चाको टाउकोमा लगभग ५० हजार ऋण छ । ऋण चुक्ताका लागि लगाइने करको मारमा पिल्सिएका छन्, गरिब । तर, बिचौलियाले कमिसनको खेल चलाएका छन् । ‘भारतीय सत्ताले बिचौलियामार्फत गरिबका टाउकामा घन ठोकिरहन्छ,’ उनी भन्छन् । अनि ‘गान्धीगिरी’ कवितामार्फत भारतीय सत्ताको हस्तक्षेपविरुद्ध बोल्छन्, राजा पुनियानीहरू 
जताजता बिक्छ गोरुको मासु 
त्यतैत्यतै मात्र किन चल्छ देश नाप्ने फित्ता ?
(गान्धीगिरी)

भारत सरकारले घोकाइदिएको छ कि गोरुको मासु खानु पाप हो । अनि गोरु घिसार्दै गरेको मान्छेलाई जनताकै नाममा आक्रमण गराउँछ, सरकार । उनी भन्छन्, ‘भारतीय सत्ता फासिस्ट छ, हामीसँग भारतीय सरकारसँग भिड्ने भौतिक हतियार छैन, त्यसैले भारतीय सत्ताले हाम्रो मानसिकतामा गरेको हस्तक्षेपविरुद्धको आन्दोलन हो, प्रतिहस्तक्षेप ।’

यहाँ उनी पुनः इबरा सम्झिन्छन् । भन्छन्, ‘हाम्रो आन्दोलन कोही व्यक्तिविरुद्ध होइन, सत्ताका प्रतिनिधि भएर आउनेसँग भने विचारको लडाइँ हुने निश्चित छ ।’

भारतीय कम्युनिस्ट पार्टीहरूको चरित्र भाजपाको भन्दा पतीत भएको पुनियानीको दाबी छ । भारतीय कम्युनिस्ट पार्टीहरूलाई उनी कम्युनिस्ट नामका सबैभन्दा ठूलो कलङ्क देख्छन् ।

तर, माओइस्ट सेन्टर पिपल्स वार ग्रुप एकीकृत भएपछि तिनीहरूमा भने सकारात्मक चरित्र देखिएको उनको मूल्याङ्कन छ । भारतमा संसदीय धारका कम्युनिस्ट पार्टीको पतनको शृङ्खला भने सुरु भइसकेको छ । बङ्गाल, केरला र त्रिपुरामा कम्युनिस्ट पार्टी कमजोर भइसकेका छन् ।

अहिले केरलामा मात्र कम्युनिस्ट सरकार छ । जब सन् २००२ मा पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टचार्य चीन भ्रमणमा गए, त्यहीँदेखि पतनको शृङ्खला सुरु भयो ।

पुनियानी भन्छन्, ‘भट्टाचार्यले चाइना क्यापिटालिजममा गएको भन्दै आफूहरू पनि जाने घोषणा गरे । त्यसपछि भाकपा मार्क्सवादीले पश्चिम बङ्गालमा भाजपाको भन्दा घिनलाग्दो राजनीति गऱ्यो । त्यसको परिणाम रातारात आएको तृणमूलले ३४ वर्षको शासन ढालिदियो।’

कवि पुनियानीको ज्योति बसुप्रति भने सम्मान छ । उनले कार्यकर्तालाई अनुशासनमा राखेका थिए । ‘कम्युनिस्ट कल्चर’ थियो । पार्टी सदस्य बन्न तल्लो तहमा ८–१० वर्ष काम गरेको हुनुपर्ने नियम थियो । कार्यकर्तालाई अध्ययनमा जोड दिन लगाइन्थ्यो । अब ती सबै कुरा इतिहास भइसकेका छन् ।

के गर्दै छन् पुनियानी ?
कवि पुनियानी तराई बस्छन्, सिलगढी । आँखा उचालेर दार्जीलिङतिर हेर्छन् । निधार खुम्च्याउँछन् । भारतबारे सोच्छन्, भारतीय कम्युनिस्ट आन्दोलन, कास्मिर, दार्जीलिङ, तेलङ्गानाबारे सोच्छन् । कविता लेख्छन् । निबन्ध लेख्छन् । कवितालाई प्रविधिमा जोड्छन् र पर्फमेन्सका भिडियो युट्युबमा हाल्छन् ।

मनोज बोगटी, टीका भाइ, भूपेन्द्र सुब्बाहरूसँग मिलेर हस्तक्षेप आन्दोलन गर्छन् । बेला–बेलामा दौडिएर नेपाल आउँछन् । तर, पुस्तक प्रकाशन गर्न भने उनलाई अरूले सम्झाइदिनुपर्छ ।

उनको पहिलो कविताको पुस्तक ‘अर्को लस्कर’ उनका साथी कवि टीका भाइको जबरजस्तीले छापियो ।

उनी भन्छन्, ‘मलाई पर्फेक्सिनिजमको रोग छ, आफ्नो सिर्जनाबाट खुसी हुन सक्दिनँ। पुस्तक प्रकाशन गर्न रुचि लाग्दैन ।’ उनका आठ वटा जति पाण्डुलिपी तयार छन् । अहिले अङ्ग्रेजी कविताको सङ्ग्रह प्रकाशन गर्ने तयारीमा छन् । निबन्धका दुईवटा कृति तयार छन् । फुटकर कविता र शृङ्खला कविताका कृति पनि तयार छन् ।


नयाँ पत्रिका-बाट साभार

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया