‘हाम्रो सिक्किम पार्टी’ लिएर भोलिदेखि राजनैतिक मैदानमा भाइचुङ : शुरुमा नै एसडिएफलाई भ्रष्टाचारी पार्टीको संज्ञा

गान्तोक, 30 मई


आफू सिक्किमे तर राजनीतिमा खुट्टा हाले बङ्गालमा। त्यसको परिणाम स्वाभाविक थियो- भारी गोलले हार। फुटबलमा त नाम कमाएकै हुन्, भारतीय कप्तानसम्म बनेका हुन् तर राजनीतिमा शुरुमा नै निल भेटेका भाइचुङ भोटियालाई फुटबल छोड्ने बित्तिकै राजनीतिको लत लाग्यो।

शुरुमा नै बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीको ‘बल’ बनेर राजनैतिक मैदानमा ओर्लिनु सुसाइट गोल गरेर हार्नु हो भनेर बुझ्न भाइचुङमा निक्कै वर्ष लाग्यो। फुटबलको निश्चित एउटा भूगोल र इतिहास हुँदैन, हुन्छ भने प्रतिभा र क्षमताको हुन्छ। जोसित प्रतिभा र क्षमता छ उ कुनै पनि भूगोलमा ‘अच्छा खेलाडी’ बन्न सक्छन्।

राजनीतिको निश्चित भूगोल र इतिहास हुन्छ। सिक्किममा बसेर दार्जीलिङमा राजनीति गर्नु आफ्नै पोष्टमा सुसाइट गोल गर्नु त हुँदै हो, शुरुमा नै आफ्नो छबि धुलिसात गर्नु पनि हो। चोट परेरै चेत खुलिने हो। भाइचुङ  भोटिया पनि अहिले त्यही खुलिएको चेत बोकेर सिक्किमै राजनैतिक मैदानमा भोलिदेखि आधिकारिकरूपले आउने भएका छन्।

31 मईको दिन उनी ‘हाम्रो सिक्किम पार्टी’-बोकेर मैदानमा आउन लागेका हुन्।

‘भोलि दराम्दिनमा पार्टीको झण्डा सार्वजनिक हुनेछ,’ भाइचुङका पार्टीका प्रवक्ता एमएन दाहालले भने, ‘यसै दिन पार्टीको सिद्धान्त र नीति उल्लेख गरिएको पुस्तक पनि सार्वजनिक गरेर हामी आफ्नो पक्ष स्पष्ट पार्नेछौँ।’

एक महिना अघि नै भाइचुङ अनि पार्टीका सदस्यहरूले दिल्लीमा पार्टीको नाम सार्वजनिक गरेका थिए। दिल्लीबाट पार्टीको नाम सार्वजनिक भएयता सिक्किमको राजनीतिमा केन्द्रिय राजनैतिक सरोकारवालाहरूले परिवर्तन खोजिरहेको अनुमान लगाइन थालिएको छ।

हाम्रो सिक्किम पार्टीले शुरुदेखि नै पवनकुमार चामलिङ र उनको पार्टी एसडीएफलाई ‘भ्रष्ट्राचारी पार्टी’-को संज्ञा दिएको छ। ‘एसडिएफले अहिलेसम्म जनतालाई जुन भ्रममा राखेर राजनैतिक रोटी सेकिरहेको छ, पहिले त हामी त्यसैमाथि काम गर्नेछौँ,’ प्रवक्ता दाहालले पनि भने, ‘हामी परिवर्तनको निम्ति काम गरिरहेका छौँ। सिक्किमका युवावर्ग परिवर्तनको पक्षमा छन्।’

भोलि पार्टीको धिकारिक घोषणा हुने कार्यक्रमलाई भाइचुङ भोटियालगायत एसडीएफबाट निष्कासित पूर्व मन्त्री आरबी सुब्बाले सम्बोधन गर्नेछन्।

‘हाम्रो पार्टीको डिजाइन अलिक फरक हुनेछ,’ दाहालले भने, ‘पार्टीमा कुनै अध्यक्ष हुने छैनन्। 12  देखि 13 सदस्यहरूको ‘पार्टी कार्यकारी समिति’ बनिनेछ। पार्टीमा अन्य सदस्यहरू जति नै हुन् भाइचुङ पनि। किन भने यो पार्टी भाइचुङ एक्लैको पार्टी होइन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया