अपमानित गर्ने सम्मान भत्ता :  उठ्यो प्रश्न- सादा पन्नामा हातले लेखेर बनाइएको फारम कसले बनाएको हो?

दार्जीलिङ, 30 मई।


1 जुलाई 2017-देखि 31 अगस्त 2017-सम्म म कुनै राजनैतिक हिंसामा लिप्त थिइनँ अनि भविष्यमा पनि हुनै छुइनँ भन्ने प्रण गरेपछि मात्रै आईसीडीएसका कर्मी-सहकर्मीले पहाड़ बन्दावधि दुइ महीनाको वेतन वा सम्मान भत्ता पाउने प्रशासनले शर्त राखेपछि एकीकृत शिशु विकास कर्मी-सहकर्मी सङ्गठन क्षुब्ध बनेको छ।

यसैले जिल्ला प्रशासनले यस्तो शर्त राखेर जारी गरेको फारम नभर्ने सङ्गठनले आईसीडीएस कर्मी-सहकर्मीहरूलाई आह्वान गरेको छ। यसबारे सङ्गठनका अध्यक्ष मणिकुमार राईले यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी भने-जीटीए क्षेत्रमा दार्जीलिङ र कालेबुङ जिल्ला छन्, जसमध्ये दार्जीलिङमा आईसीडीएसका 6 वटा प्रोजेक्ट छन् भने कालेबुङ जिल्लामा 3 वटा प्रोजेक्ट सञ्चालित छन्।

गत वर्ष भएको आन्दोलनमा सबैले भाग लिएका थिए अनि पहाड़ शान्त बनेपछि सरकारी कर्मचारीहरूले वेतन पाए। यसरीनै कालेबुङ जिल्लाका आईसीडीएस कर्मी-सहकर्मीहरूले पनि गत वर्षको जुलाई र अगस्त महीनाको सम्मान भत्ता कुनै शर्तबिनानै पाए। तर दार्जीलिङ जिल्लाका आईसीडीएस कर्मी-सहकर्मीहरूमाथि मात्रै यस बन्दावधिको सम्मान भत्ता दिनमा यसप्रकारको शर्त राख्ने काम भइरहेको छ।

यदि राज्य सरकारले यस्तो अधिसूचना वा निर्देश जारी गरेको छ भने त्यसको मेमो नम्बर पनि देखाउनपर्छ। यसैले यो सरकारी आदेश नभएको कारण कुनै पनि आईसीडीएस कर्मी-सहकर्मीहरूले यसप्रकारले जारी गरिएको फारम भर्न हुँदैन।

जसमध्ये एउटामा 1 जुलाई 2017-देखि 31 अगस्त 2017-सम्म म कुनै राजनैतिक हिंसामा लिप्त थिइनँ अनि भविष्यमा पनि हुनै छुइनँ भन्ने प्रण गर्दछु भनी लेखिएको छ। यसरीनै दोस्रो फारममा आईसीडीएस केन्द्रको नाम, केन्द्र संख्या, आँगनबाड़ी कर्मीको नाम, सहायिकाको नाम उल्लेख गरेर यस्तो लेख्नु भनिएको छ-म यो घोषणा गर्दछु कि उपर्युक्त केन्द्र 1.7.2017-देखि 31.8.2017-सम्म सुचारूरूपले सञ्चालित भएको हो।

यी दिनहरूमा शिशुहरूले पौष्टिक आहार ग्रहण गरे। उक्त मन्तव्य सत्य हो भनी म सूचित गर्दछु अनि यी कुरा असत्य सावित भए कुनै पनि कार्वाही को निम्ति तयार छु। जसको फेदमा शिशुको नाम, शिशुका आमा-बाबाको नाम, हस्ताक्षर, भोटर कार्डको नम्बर पनि लेख्ने निर्देश दिइएको छ। एकीकृत शिशु विकास कर्मी-सहकर्मी सङ्गठनका अध्यक्ष राईले भने-यो सादा पन्नामा हातले लेखेर बनाइएको फारम कसले बनाएको हो, त्यो स्पष्ट छैन।

यसैले 2 महीनाको सम्मान भत्ता पाउनको लागि अपमान सहनुपर्ने अवस्थालाई कुनै पनि स्थितिमा स्वीकार गर्न हुँदैन। उनले भने-दार्जीलिङ पहाड़का आईसीडीएस कर्मी-सहकर्मीहरूको सम्मान भत्ता भुक्तान गर्नको लागि राज्यकी मुख्यमन्त्रीले पनि अघिबाटै निर्देश दिइसकेकी छन्, तर अझैसम्म पनि आईसीडीएस कर्मी-सहकर्मीहरूले यो सम्मान भत्ता पाउन सकेका छैनन्।

यसैले दार्जीलिङ जिल्लाका कर्मी-सहकर्मीहरूले पनि कुनै शर्तबिनानै यो भत्ता पाउनुपर्छ। स्मरण गराइन्छ, गत केही सप्ताहअघि मात्रै आईसीडीएस कर्मी-सहकर्मीहरूले दुइ महीनाको बाँकी वेतन नपाए प्रथम जुलूस, त्यसपछि पेन डाउन हड्ताल गर्ने चेताउनी दिएका थिए। हाल दार्जीलिङ पहाड़का आईसीडीएस कर्मी-सहकर्मीहरूले मासिक सम्मान भत्ताको रूपमा केवल 4,800 र 3,300 रूपियाँ मात्रै पाइरहेका छन्। जसमा राज्यले भर्खरै 1,000 1,000 रूपियाँको दरले वृद्धि गरिदिएको छ।

यसमा सङ्गठनले राज्यकी मुख्यमन्त्रीप्रति आभार व्यक्त गरेको छ। यसैबीच, सङ्गठनले केन्द्र र राज्य सरकारका कर्मचारीहरूलाई जस्तै कर्मी-सहकर्मीलाई पनि शीतकालीन र पार्वत्य भत्ता दिनुपर्ने, कर्मी-सहकर्मीहरूलाई अवकाशपछि र कार्यावधिको समय मृत्यु भएको खण्डमा भविष्यनिधि कोषस्वरूप 4 लाख र 2 लाख आर्थिक सहयोग प्रदान गर्नुपर्ने, कर्मीहरूलाई योग्यता र अनुभवको आधारमा निरीक्षक (सुपर भाइजर)-मा पदोन्नति गर्नुपर्ने साथै सहकर्मीहरूलाई कर्मीमा पदोन्नति गर्नको लागि चाँड़ो अन्तरवार्ता गर्नुपर्ने माग गरेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया