मुख्यमन्त्रीले विभागीय अधिकारीहरूसित गरिन् बैठक: पहाडको परिस्थिति राम्रो भयो भने सबै ठिक हुन्छ-ममता ब्यानर्जी

प्रज्ज्वल छेत्री,  कालेबुङ, 30 मई


‘पहाडको परिस्थिति राम्रो भयो भने सब ठिक हुन्छ, व्यापारीहरू आउँछन्, होटल चल्छ, स्कूल कलेज आउँछ, सब आउँछ। पहाड प्राकृतिक रूपमा सुन्दर छ। यसलाई स्वच्छ राख्नुपर्छ। यसको निम्ति सबैले मिलेर निष्ठा अनि सङ्कल्पको साथ काम गर्नपर्छ।’

उपरोक्त कुरा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी हुन्। पश्चिम बङ्गाल सरकारद्वारा आज कालेबुङको डा. ग्राह्म्म होम्स जार्भी हलमा दार्जीलिङ अनि कालेबुङ जिल्ला, जीटीए अनि सबै विकास अनि सांस्कृतिक बोर्डका प्रतिनिधिहरूलाई लिएर प्रशासनिक समीक्षा सभा सम्पन्न भयो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा सम्पन्न सभामा मुख्यमन्त्रीले दुईवटै जिल्लाका जिल्लापाल, जीटीए चियरमेन विनय तामाङ, चारवटै नगरपालिका अध्यक्ष, तीन विधायक, विभागीय अधिकारीहरू साथै विकास बोर्डका प्रतिनिधिहरूबाट विकास कार्य साथै समस्याहरू सम्बन्धी जानकारी लिइन्।

उनले शुरूमा कालेबुङ जिल्लापालबाट नवगठित कालेबुङ जिल्लामा भइरहेका प्रशासनिक कार्यहरूको विवरण मागिन्। जिल्लापालले कन्याश्री, सयदिने रोजगार योजना, गिताञ्जली आवास योजना, प्रशासनिक भवनहरूको निर्माण आदि सम्बन्धमा जानकारी गराए। मुख्यमन्त्रीले सयदिने रोजगार योजना अन्तर्गत कालेबुङमा 57.2 प्रतिशत मात्र काम भइरहेको भन्दै जिल्लापाललाई हपारिन् अनि अन्य प्रशासनिक कामहरूको पनि जानकारी मागिन्।

मुख्यमन्त्रीले अनुसूचित जाति अनि जनजाति विभागका अधिकारीहरूलाई पनि हपार्दै भने अनुसार लाभार्थीहरूले घर निर्माणका निम्ति आएको पैसा सोझै उनीहरूक खातामा नगएको गुनासो मुख्यमन्त्रीसमक्ष पुगेको छ। यसैले लाभार्थीहरूको पैसा उनीहरूकै खातामा पसेको हुनपर्ने मुख्यमन्त्रीले निर्देश दिइन्।

यसरी नै खरसाङलाई एडुकेसन हब बनाउने दिशामा भइरहेका कामबारे पनि उनले जानकारी लिइन्। यसै क्रममा उनले पर्यटन मन्त्री गौतम देवबाट पहाडको पर्यटन विकासबारे जानकारी लिँदै विभागले सुस्त गतिमा काम गरिरहेको भन्दै उनलाई पनि हपारिन्। टाइगर हिलको काममा ढिलाइ भइरहेको साथै अन्य कामहरूको जानकारी लिँदै पहाडमा पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्न अह्राइन्।

यसरी नै मिरिक नगरगपालिका अध्यक्षबाट पनि विकास कार्यबारे जानकारी लिइन्। यस क्रममा नगरपालिका अध्यक्ष एलबी राईले मिरिकमा काम भइरहको अनि मिरिक झिलको काम र 100 बेडेड अस्पतालका निम्ति डीपीआर तयार भइरहेको बताए।

मुख्यमन्त्री कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधानलाई कालेबुङमा पिउने पानीको समस्याबारे जानकारी माग्दा नगरपालिका अध्यक्षले पिउने पानीको निम्ति डीपीआर तयार भइसकेको भए पनि फाइनेन्सबाट क्लियरेन्स नपाएको बताए।

मुख्यमन्त्रीले खरसाङ अनि दार्जीलिङ नगरपालिकाबाट पनि समस्याहरू सुनेपछि प्रत्येक नगरपालिकाले पिउने पानी, स्विरेज, सडक अनि मैलालाई प्रमुखता दिएर काम गरे अरू केही गर्न नपर्ने मुख्यमन्त्रीले सुझाइन्। यद्यपि उनले राज्यमा पनि पर्याप्त कोश रहेको आशय पोख्दै वामफ्रन्टको समयमा केन्द्रबाट लिएको 2 लाख 24 हजार करोडको ऋण राज्यले तिरेको पनि उनले बताइन्।

यसै सभाअवधि खरसाङका विधायक रोहित शर्माले डब्ल्यूबीसीएस परिक्षा नेपाली भाषामा हाल्न पाउनुपर्ने, खरासङको मेडिकल कलेजको कार्यमा ढिलाइ भइरहेको, सिन्कोना बगानमा 4 सय अधिक श्रमिकहरूले ग्रुप सी अनि ग्रुप डी बराबारको काम गरिरहेको भए पनि उनीहरूको पद्दोनत्ती हुन नसकिरहेको जस्ता विषय उठान गरे। यसरी नै दार्जीलिङका विधायक अमरसिंह राईले उच्च शिक्षा विषय समस्याहरू राखेका थिए भने कालेबुङकी विधायिका सरिता राईले पेदोङमा बीएड कलेज निर्माण हुनपर्ने विषय उठान गरेकी थिइन्। यसरी नै लेप्चा विकास बोर्डका अध्यक्ष एलएस ताम्साङले अहिलेसम्म लेप्चा विकास बोर्ड मार्फत 5 हजार 2 सय घरहरूको निर्माण, पिउने पानी योजना, स्कूल होस्टेलको निर्माण, स्कल बढोत्तरि, अडिरोयिम सेन्टर आदि विकास कार्यको विवरण दिँदै मुख्यमन्त्रीप्रति आभार प्रकट गरे। यसरी नै मुख्यमन्त्रीले पुलिस अधिकारी साथै अन्य विभागीय अधिकारीहरूबाट विभिन्न क्षेत्रका विकासको कामबारे जानकारी लिइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares