एसडीएफले जनतालाई पैसा बाँडेर फकाउँदैछः आरएन चामलिङ

 गान्तोक, 30 मई।


बासिलाखामा एसआरएमको सभा 150 परिवार पार्टीमा सामेल एसडीएफले 4 वर्ष मस्ती गरेर चुनाउको मुखमा जनतालाई पैसा बाढेर फकाउँदैछः आरएन चामलिङ गान्तोक, 30 मई। सिक्किम राज्य मञ्च पार्टी (एसआरएम) को साङ्गठनिक विस्तारको क्रममा पूर्व जिल्लाको नाम्चुबुङ निर्वाचन क्षेत्रको बासिलाखा गाउँमा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। स्थानीय मङ्गलसिंह लिम्बू र हरिलाल शर्माको संयुक्त अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष आरएन चामलिङले भने, ‘सिक्किमे गरीब सिधा-साधा जनतालाई सामाजिक, आर्थिक र साहुलियत वितरणमा सरकारको कोल्टे नीति छ। गलत योजनाको कारणले जनता शोषित, दमित हुनुपरेको छ। जनताको भविष्य अन्धकारमय भइरहेको छ। जनताको हक-अधिकारको निम्ति हामी राजैतिक मैदानमा उत्रिएका छौं’

उनले आफू राजनैतिक मैदानमा उत्रिएपछि विभिन्न प्रकारको लाञ्छना लगाउन थालिएको बताए। ‘म न्ययावादी, न्यायसङ्गत,समानरूपमा आफ्नो हक र अधिकार उपभोग गर्न सबैजनाले पाउनुपर्छ बन्ने विचारको पक्षधर हुँ। धर्म, जाति र पार्टीको आधारमा मात्र सत्तारूढ सरकारले काम गरेको छ,’ उनले भने,  ‘प्रशासनिक व्यवस्था ठीक छैन। यसैले म राजनीतिक मैदानमा उत्रेको हुँ।’

उनले कहिले पनि राजनीतिमा आउने सोच नराखेको तर अधिकांश सिक्किमे जनताको बारम्बारको हौसला, मनोबल, सल्लाह, सुझाउ रहेकै कारण सिक्किम र सिक्किमे जनताको भविष्य सोचेर आफू पनि एक सिक्किमे हुन खातिर सिक्किम र सिक्कमेको कल्याण हुनुपर्छ, गर्नुपर्छ भनी मैदानमा आउने आँट गरेको बताए।

‘म विगतमा कुनै राजनैतिक पार्टीको सदस्य समेत थिइनँ तर सचेत नागरिकको हैसियतमा सिक्किमको राजनैतकि परिवेशलाई नजिकबाट अवलोकन गरिरेहको थिएँ,’ उनले भने, ‘सत्तारूढ एसडीएफ सरकारको पाँचौ कार्यकाल पुरा हुनलाग्दा पनि खाली खुट्टेको नारा दिएर, गाई बाँध्नेको पार्टीको नारा दिएर सत्तामा पुगेको एसडीएफ सरकारमा सिक्किमे गरीब सिधा साधा जनता अझै गरीब नै बने। गलत नीति सिद्धान्त, गलत योजनाको कारण यस्तो भएको हो।’

पवन चामलिङ सिक्किम र सिक्किमे जनताप्रति इमान्दार नरहेको भन्दै चामलिङले चुनाउ अघि मात्र जनताको सम्झना गर्ने गरेको बताए।

‘गरीब सिधा साधा जनतालाई विभिन्न लोभ लालच दिएर जनताको भावनासँग, भविष्यसित खेलाइँची गरेरहेको छ। त्यसको प्रमाण 2014 मा चुनाउ जितेर सरकार गठन गरेपछि चारवर्ष मस्ती गरेर अब फेरि चुनाउ आउने बेलामा सरकारी कोषमा पैसा रूपियाँ (खजाना) नहुँदा पनि विभिन्न काम र योजना मञ्जुर गर्दै, विभिन्न सहुलियत दिने बचन मात्र दिँदै गाउँ घुम्दैछन्,’ उनले भने,  ‘अब यस्तो नीति भएको पार्टी र नेतासित जनता होसियार हुनुपर्छ।’

एसडीएफले जनता भेला पार्न पश्चिम सिक्किममा पैसा वितरण गरेर जनता फकाएको आरोप पनि उनले लगाए। पैसा वितरणको क्रममा राति 12 बजी केही जनताको हात खुट्टा भाँचिएको पनि गम्भीर आरोप लगाए।

‘यसैले सङ्केत गर्छ, अब एसडीएफको सरकार पतन हुन लागेको छ। अध्यक्ष चामलिङले आफू सिक्किम भ्रमणको अवधिमा जनता परिवर्तनको पक्षमा रहेको थाहा पाइसकेका छन्,’ उनले अझ भने, ‘जनताले अब असल र कुशल नेतृत्व रहेको एसआरएम पार्टीलाई मेरूदण्ड भइदिनुपर्ने चाहना राखेको हुनाले हाम्रो पार्टी जन्मिएको हो।  जनताको आशा भरोसा तुहिन नदिन हामी कम्मर कसेर मैदानमा उत्रिएका छौं।’

उनले सिक्किमे जनताले साथ दिएको खण्डमा सिक्कमे जनताको भविष्य उज्यालो पार्न सक्ने कार्यक्रम र योजना एसआरएम पार्टीमा रहेको पनि उनले बताए। सभामा स्थानीय फिपहाङ लिम्बू, लोकनाथ शर्मा, बुद्धसिंह लिम्बूसमेत 150 घर परिवारले एसआरएम पार्टीको नीति र सिद्धान्तलाई आत्मसात गर्दै अध्यक्ष आरएन चामलिङको हातबाट खादा थापेर पार्टीमा सामेल भएको जानकारी पूर्व जिल्लाको प्रचार सचिव जय प्रकाश सिन्हाले प्रेस बयान जारी गरेर दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया