बादशाहको जुत्तामा मिडिया

रवीश कुमार 


राजनीतिक चेतना जब तमासामा परिणत हुन्छ, तब मानिसहरू प्रदर्शन गर्न छाडेर हवन गर्न थाल्छन् । पत्रिकालाई मेचबाट उठाएर फाल्दै गर्दा आम्रपाली र जेपी ग्रुपबाट सताइएका फ्ल्याट क्रेताहरूको प्रदर्शनको तस्बिरमाथि दृष्टि पर्नासाथ धेरै बेरसम्म असहज भैरह्यो । जनताले नेतालाई दाता र आफूलाई भिखारी बनाइसकेका छन् । जबकी लोकतन्त्रमा उनीहरूको कल्पना भाग्यविधाताको रूपमा गरिन्छ ।

झण्डै दश दिनदेखि फ्ल्याट क्रेताहरूसँगको कुराकानीलाई लिएर प्राइमटाइममा लगातार पाँचपटक टिभी कार्यक्रम गर्नुपर्यो भनेर सोचिरहेको थिएँ । तर, थाहा छैन खोइ कुन चिजले हो भित्रैदेखि त्यो कुरालाई नदेखेझै गर्न उक्साइरह्यो । यसबीच पत्रिकाहरूमा आम्रपाली र जेपी समूहद्वारा सताइएका सत्तरी हजार फ्ल्याटका क्रेताहरूको निकै विस्तारकासाथ कभर भैरह्यो । कुल ७० हजार फ्ल्याट छन् भने तीनका क्रेताहरू पनि ७० हजार नै होलान् भनेर त्यति नै लेखिरहेको छु ।

यी ती पत्रिकाहरू हुन्, जसको बिक्री वितरणको संख्या दाज्ने हो भने दिल्ली र त्यसवरपरको जनसंख्याको ठूलो संख्या समेटिन्छ । यी पत्रिकाहरू मन्त्रीदेखि थरीथरीका अधिकारीहरूको मेचमा पनि पुग्दा हुन् । ती सताइएका क्रेताहरूमा कयौँ अधिकारी पनि छन् । यदि मिडियामा शक्ति बाँकी छ भने दिल्ली र यूपीका सबै ठूला पत्रिकाहरूको पहिलो र भित्रको पानामा भैरहने लगातारको कभरेजले केही त असर हुनुपर्ने हो । प्राइमटाइमको कुनै आवश्यकता छैन । दुई–तीन वर्षदेखि फ्ल्याट ओनरको पीडा, आन्दोलन र भेटघाटको कभरेज भै नै रहेको छ।

यसैबीच केन्द्रले बनाएको कानून पनि आयो तर, त्यसले मानिसहरूको अप्ठेरो कति समाधान भयो, त्यसको दावा सरकारको कुनै पनि विज्ञापनमा देखिँदैन । कुनै मन्त्रीले ट्वीट पनि गरेका छैनन् कि हामीले कानून बनाएपछि मध्यमवर्गका भारतका पीडितनागरिकहरूले यति फ्ल्याट बनाए भनेर । आम्रपाली र जेपी घटनाक्रममा न्यूज च्यानलहरूले पनि रिपोर्टिङ गरेका होलान् । राष्ट्र प्रहरी एंकरले कराई–कराई प्रश्न सोधिरहेको होला ।

पत्रकारिताको नैतिकता वर्तमान समयको सबैभन्दा जर्जर लोकतान्त्रिक सम्पत्ति हो । मिडिया बादशाहको जुत्ता भइसक्यो । फेरि पनि मानिसहरू यसलाई ताजाझै ठानेर सलाम गर्छन् । जे होस्, च्यानलहरूले छिट्टै नै आफ्नो गियर तिनै ठाउँहरूमा सारिसकेका होलान्, जहाँ त्यो मध्यमवर्गीय फ्ल्याटमालिकको साँझ बित्छ होला । जसलाई म हिन्दु–मुस्लिम मुद्दा भन्छु ।

यी पीडितहरू टिभी हेर्ने वेलामा आफ्नो अंह र पूर्वाग्रहलाई लिएर उम्लिँदा हुन् । उनीहरूलाई के लागिरहेको होला भने उनीहरू विराट हिन्दुशक्तिको अंग बनिरहेका छन् । जसको सपना टिभीका माध्यमबाट हरेक दिन जनतालाई देखाइँदै छ । तर पनि उनीहरूले प्रदर्शन किन गरिरहेका छन् ? मिडियाको शक्ति क्षीण भएको हो कि जनताको ?

७० हजार फ्ल्याटका क्रेताहरूको पहिचान उनीहरूका अन्य कयौँ पहिचानमध्येको एक हो । यसको अघिल्तिर न त मिश्रा हुनुको अर्थ छ, न त अग्रवाल हुनुको । न यादव भएको काम लाग्छ, न मोदी भएको । ‘फ्ल्याट ओनर रियालिटी सेक्टर’को ‘बाइप्रोडक्ट’ हुन् । जसलाई नेता, अधिकारी र विल्डरहरूको धुर्त गिरोहले पैदा गरेको हो । गत वर्ष हामीले प्राइमटाइममा लगातार फ्ल्याट ओनरहरूको व्यथामाथि चर्चा परिचर्चा ग¥यौँ । अन्य च्यानलहरूले पनि निकै चर्चा गरे ।

महान् भारतको सन्ध्याकालीन राष्ट्र प्रहरी न्युज एंकरले आफ्नो प्रतिबद्धता प्रमाणित गरेर देखायो । किनभने त्यसबीच उसलाई आफ्नो मध्यमवर्गीय दर्शकहरूलाई पनि सम्बोधन गर्नुपर्ने थियो । त्यसपछि फेरि त्यही हिन्दू–मुस्लिमको विषय प्रवेश भयो । फ्ल्याटक्रेताहरू कयौँ महिनादेखि हरेक आइतबार नोएडाको ग्रेटर नोएडामा विल्डरहरूको कार्यालयका अघिल्तिर आन्दोलन गरिरहेका थिए । तर, केही पनि पहिलेभन्दा फेरिएन ।

मध्यमवर्गलाई के थाहै भएन भने हरेक साँझ ऊ टिभीका अघिल्तिर बसेर आफू जनताको भएको पहिचानको हवन गर्दैछ । एंकर राष्ट्रवादको नयाँ पुरोहित हो । ऊ राष्ट्रवादको नाममा सबैलाई आफ्नो पहिचान हवन गर्न लगाउँदै छ । लोकतन्त्रमा जनतासँग जति शक्ति हुन्छ, लोकतन्त्र त्यति नै शक्तिशाली हुन्छ । जनता भएको पहिचानै गुमाउने हो भने तपाईं सिस्टमको विराट शक्ति समूहका अघिल्तिर अल्पसंख्यकमा परिणत हुनुहुनेछ ।

तिनै अल्पसंख्यक जो मारिँदासमेत तपाईं हाँस्दै हुनुहुन्थ्यो, थपडी पिट्दै हुनुहुन्थ्यो । तपाईंले के भुल्नुभयो भने त्यति नै वेला स्वयं तपाईं पनि सत्ताका अघिल्तिर अल्पसंख्यक बनाइँदै हुनुहुन्थ्यो । मलाई स्पष्ट रूपमा ७० हजार फ्ल्याटका क्रेता, बीएडको डिग्री लिएका बेरोजगार, यताउता भौँतारी रहेका शिक्षक, सुरतका लाखौँ कपडा व्यापारी, करोडौं किसान, अल्पसंख्यक झै प्रतित भैरहेका थिए । यी सबै बहुसंख्यक समाजमै छन् र सत्ताका अघिल्तिर अल्पसंख्यक भैसकेका छन् ।

यहि कारण हो कि बारम्बार भइरहने प्रदर्शन र नाराहरूका बिचमा पनि यी कुराहरूको सुनवाइ भइरहेको छैन । आम्रपाली र जेपी समूहका फ्ल्याटक्रेताहरू जतिवेला अब त भगवानकै आश छ भन्दै हवन–भजन गरिरहेका हुन्छन्, त्यतिवेला उनीहरूले के स्विकारिरहेका छन् भने महान् भारतको लोकतन्त्रमा अब जनता भन्ने छैनन् । जनता हुन्थे भने नेताको नाम लिएर नारा लगाउँथे कि भगवानको ? मिडिया निर्वाचन हुनुअघि नै निर्वाचन परिणाम कस्को पक्षमा छ भनेर बहस चलाइरहेको छ । भक्तमा परिणत भैसकेका जनता पनि यसै खेलमा सामेल छन् ।

उनीहरूलाई के थाहा छैन भने यस्तो गर्दै गर्दा ऊ जनता भएको शक्तिलाई सत्ताको अग्निकुण्डमा हवन गरिरहेको छ । ऊ लेनदेनको अधिकार गुमाउँदै गइरहेको छ । नेताको ठाउँमा भगवानलाई बिउँझाउन गरिने हवन–भजन गर्नु भनेको लोकतन्त्रको सबैभन्दा लज्जास्पद अवस्था हो । के अब नेताको नाम लिएर प्रदर्शन गर्ने, नारा लगाउने शक्ति बाँकी रहेन ? जनताले आफूलाई नेतामा बिलय गराई सकेका छन् । जब जनता नेताको प्रतिछायाँ बन्नेछ त जनता मदारीको इशारामा नाच्ने बाँदरमा परिणत हुनेछ ।

म यी दिनहरूमा यस्तै द्विविधाहरूमा रहने गर्छु । सधै अनेकौँ फोन आउने गर्छन् । जति वेला सुरतका कपडाका व्यापारी फोन गरेर झण्डै–झण्डै रुन थाल्छन्, त्यति बेला ठूलो द्विविधामा पर्छु । हरेक आन्दोलन अथवा समस्यालाई कभर गर्ने अपराधबोध लिएर हिड्न सक्दिनँ । नत मसँग त्यति संशाधन र क्षमता छ । हरेक दिन १०–१२ वटा फोन आउँदा यो जनताको फोन होइन भन्ने लाग्छ । निर्वाचनभन्दा पहिले राजनीतिक दललाई विजेता घोषित गरिदिन्छन् भने फेरि उनीहरूलाई यी कुरासँग के सरोकार ?

म त जिरो टिआरपी एंकर हुँ । अब त सबै ठाउँमा मेरो शो कयौँ कारणहरूले गर्दा हेर्न पनि मिल्दैन । यदि मलाई यति फोन आउँछन् भने ती च्यानलका एंकरहरूलाई कति फोन आउँदा हुन्, जसलाई ४० देखि ७० प्रतिशत भारतीयले हेर्छन् । झारखण्डको चतरादेखि लिएर गुजरातको आशा वर्कर, भारतभरीका कैजुअल रेडियो प्रस्तोताहरूको यति फोन आउँछ कि कयौँपटक रुन मन लाग्छ ।

पटकपटक व्हाट्स एपमा मेसेज आउँछ– ‘हामी विगत ८ दिनदेखि राजस्थानका ६० हजार कर्मचारी हडतारमा छौँ, तपाईं नै हाम्रो आवाज हो यसलाई कभर गर्नुप¥यो ।’ कतिपटक त झिझ्एिर हुँदैन पनि भनिदिन्छु । तर, त्यसपछि किन यस्तो भने हुँला भन्ने लाग्छ । म न्युज च्यानलहरू हेर्दिन । हुन सक्छ कि ती च्यानलहरूमा पनि यी मुद्दाहरू उठाइएका हुन् । तर, समाधान किन हुँदैन त ?

के म सही छु ? कि सरकारका अघिल्तिर जनता जनता रहेनन् ? ती मात्र एउटा झुण्डमा परिणत भैसके । तिनीहरू हिन्दुझुण्ड हुन् कि मुस्लिमझुण्ड ? झुण्डभित्र अघिल्लोपंक्तिको झुण्ड, त कहीँ पछिल्लोपंक्तिको झुण्ड । दलितको झुण्ड त कहीँ बाहुनको झुण्ड । मुस्लिमभित्र शियाझुण्ड, सुन्नीझुण्ड ।

के यस्तो पनि हुन सक्छ र जनता नै जनता प्रति उदासिन छन् ? के आम्रपाली र जेपी समूहद्वारा सताइएका क्रेताहरू पुलिसको गोलीबाट मारिएका किसानलाई लिएर व्यथित भए ? के उनीहरू आत्महत्या गर्दैगरेका किसानहरूको संख्याले व्यथित भए ? के उनीहरू बेरोजगारी र जन्तरमन्तरमा हुने प्रदर्शनहरूप्रति सहानभूति राख्छन् ? के यो तप्काले नर्मदाबाट विस्तापितहरूका लागि अनसन बसेकी मेधा पाटकरका लागि कहिल्यै केही सोच्यो ? यी प्रश्नहरूले नै स्पष्ट पार्ने छ कि जन्तर–मन्तरमा गएर हवन गर्नुको अर्थ छ कि छैन ।

‘डाउन टु अर्थ’को जुलाई अंक पढ्दै थिएँ । यो पत्रिका हिन्दीमा आउन थालेको छ । पेज नम्बर १९ मा नवगान्धीवादी पिबी राजगोपालको अन्तरवार्ता पढिरहेको थिएँ । अनिल अश्विनी शर्मा राजगोपालसँग गएको दशकमा तपाईंले आदिवासीहरूसँग मिलेर कयौँपटक ‘दिल्ली मार्च’ निकाल्नु भयो के यी आन्दोलनहरूका माध्यमबाट सत्तालाई केही सन्देश दिन सफल हुनुभयो भनेर सोध्छन् ।

प्रतिउत्तरमा राजगोपाल भन्छन्– सत्याग्रहमा एउटा सत्य हुने गर्छ । सन् २००६ मा चेतावनी यात्रा भयो । सन् २००७ मा हामीसँग २५ हजार आदिवासी किसानले यात्रा गरे । यो यात्राले गर्दा नै ‘फरेस्ट एक्ट’ लागू भयो र हामीले के भन्न सक्छौँ भने यो लागू भएपछि ६० लाख मानिसहरूले जग्गा पाए ।

त्यसपछि पाँच वर्षसम्म केही पनि हुन सकेन भनेर हामीले एक लाख नागरिकको यात्राको तयारी गर्याैं । जयराम रमेशलाई के थाहा थियो भने एक लाख मान्छेहरू दिल्ली पुगे भने उनको सरकारका लागि निकै नराम्रो सन्देश जानेछ । त्यसैले उनले प्रधानमन्त्रीसँग सल्लाह गरेर यात्रा आगरा पुगेपछि आफैँ त्यहाँ आए र दस सुत्रीय सम्झौतामा हस्ताक्षर गरे । सत्याग्राहीहरूसँगको यो सम्झौता ऐतिहासिक थियो । यसभन्दाअघि केन्द्र सरकारले कहिल्यै पनि एक लाख मान्छेहरूका अघिल्तिर कुनै सम्झौतामा हस्ताक्षर गरेको थिएन ।

अब आम्रपाली, जेपी ग्रुपद्वारा सताइएका ७० हजार फ्ल्याट ओनर, सुरतका लाखौँ कपडा व्यापारी, हजारौँ रेलवे अप्रेटर्स, आशा वर्कर, बेरोजगार शिक्षकहरूले आफ्नो आन्दोलनको समीक्षा गरुन् । के उनीहरूको आन्दोलनमा सत्याग्रहको सत्य छैन ? जब आदिवासीहरूले आफ्नो लडाइँमा विजय हासिल गर्न सक्छन् भने शक्तिशाली मध्यमवर्ग किन पराजित भैरहेछ ? उनीहरूको आन्दोलन मिडिया कभरेजसँग किन समाप्त अथवा काम नलाग्ने भैहाल्छ ?

आम्रपाली र जेपी समूहद्वारा सताइएका मान्छेहरूलाई जबसम्म यो कुराको कारण थाहा हुँदैन, एउटा सल्लाई दिन्छु– नांगो खुट्टा ७० हजारको संख्यामा नोयडाबाट हिँडेर जन्तर–मन्तर जानुस् । एकपटक होइन हजारपटक ।

आफ्नो माग पूरा गराउन होइन जनता बन्नका लागि जानुस् । आफ्नो आन्दोलनमा सत्याग्रहको सत्य पैदा हुन दिनुस् । जुन मिडियाबाट तपाईंले आशा गर्नु हुन्छ, त्यसलाई बिगार्नमा तपाईंको पनि हात छ । त्यसैले बादशाहको जुत्ता तपाईंलाई बेकार भैसकेको छ । तपाईं त्यो जुत्ता निकालेर फाल्नुस् अनि नांगो खुट्टा हिड्नुस् ।


अनुवादः नरेश ज्ञवाली/ नयाँ पत्रिका-बाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया