वाह! वाह! दार्जीलिङ : छिः छिः दार्जीलिङ

चौरास्तामा आउनै लाग्यो वर्ल्डकप : मैलाले छोप्नै लाग्यो चौरास्ता

दार्जीलिङ, 31 मई।


एकतर्फ चौरास्तामा आउनै लाग्यो वर्ल्ड कप फूटबल, अर्कोतर्फ मैलाले छोप्नै लाग्यो चौरास्ता। आज नेहरू रोड भएर चौरास्ता जाने अधिकांश स्थानीय नागरिक अनि पर्यटकहरूको मुखबाट वाह! दार्जीलिङ वा चौरास्ता-को आवाज निस्किरहेको थियो भने चौरास्ता पुगेर टीन रोड लाग्नसाथ उनीहरूकै मुखबाट छिः दार्जीलिङ शब्द निस्किरहेको थियो।

हो, दार्जीलिङको मुटुनै मानिने अनि पर्यटकहरूका लागि एक मुख्य आकर्षणको केन्द्र मानिएको चौरास्ताको अवस्था आज यस्तै थियो। दार्जीलिङका सचेत युवाहरूको एक समूह साथै नर्थ पोइन्ट एलुम्नाई एसोसिएशनको संयुक्त पहलमानै आजदेखि यहाँको नेहरू रोडदेखि चौरास्तालाई वर्ल्ड कप फूटबल प्रतियोगितामा भाग लिने फूटबल टीम वा देशहरूका झण्डाले रङ्गाउने काम चलिरहेको छ।

जुन झण्डाहरूले अधिकांश स्थानीय नागरिक अनि पर्यटकहरूलाई पनि मोबाइल वा क्यामेरामा फोटो लिन बाध्य बनाइरहेका छन् अर्थात एकप्रकारले नेहरू रोडदेखि चौरास्तासम्मनै यी झण्डाहरूको कारण आकर्षक अनि रङ्गीन बनिरहेको छ। तर चौरास्तादेखि आलुबारीतर्फ जाने टीन रोडमा कदम बढ्नसाथ मानिसहरू नाक थुनेर अघि बढ्न बाध्य बनिरहेका छन्।

किनभने, चौरास्ताको घोडा अस्तवलदेखि केही अघिको डस्टबीन मैलाको थुप्रोले भरिएर मैला डस्टबीनदेखि पनि बाहिर पोखिन थालेको छ। जसको कारण यस बाटो भएर हिँड्नेहरूले गतिलै असुविधाको सामना गर्न परिरहेका छन्। यसबारे दार्जीलिङ नगरपालिका अध्यक्षा प्रतिभा राईसित सोध्दा उनले एउटा हुटिट्याउँले स्वर्ग थाम्दैन भन्ने बताउँदै यसको लागि स्थानीय नागरिकहरू पनि सचेत हुनपर्छ भन्ने आह्वान गरिन्।

यसका साथै उनले दार्जीलिङ नगरपालिकाले घर-घरबाट मैला उठाउने अभियान शुरू गरेको बताउँदै चौरास्ता छेउछाउका घर अनि होटलहरूले पनि मैला उठाउन आएको नगरपालिकाको गाड़ीमानै मैला हालिदिने अपील गरिन्। उनले भनिन्-स्थानीय जनतासा साथै होटलहरूले बाटो, डस्टबीनमा मैला फ्याँक्नको साटो मैला उठाउन आएको गाड़ीमा सोझै मैला ल्याइदिए दार्जीलिङ सफा हुनमा धेरै सहयोग पुग्नेछ।

यसका साथै दार्जीलिङ नगरपालिकाले दार्जीलिङ शहरी क्षेत्रलाई डस्टबीन वा भ्याटमुक्त बनाउने योजना बनाएको पनि बताइन्। यसरीनै यसै डस्टबीनको छेवैमा दोकान चलाएर बस्ने नोर्साङसित सोध्दा उनले भने-नगरपालिकाको मैला उठाउने गाड़ी दैनिकरूपमानै यहाँ आउँछ, तर यहाँ आइपुग्दा गाडी मैलाला आधासरोनै भरिसकेको हुन्छ। यसैले उक्त नगरपालिकाको गाड़ीले कहिले पनि यहाँको मैला सम्पूर्णरूपले उठाएर लान सक्तैन। यसपछि फेरि यस इलाकाका होटल तथा अन्य स्थानहरूबाट आएको मैला थुप्रिएपछि अवस्था जस्ताको त्यस्तै हुने गरेको छ।

यहाँ प्रत्येक पर्यटन मौसमको समयनै यस्तै अवस्था हुने गरेको छ। यसरीनै यसै डस्टबीनको छेवैमा अवस्थित दवाई दोकानदार विनोद गुप्तसित सोध्दा उनले यसबारे नगरपालिकालाई धेरैपल्ट भनिसकेको बताउँदै यसमाथि उति ध्यान नदिइएको बताए। यसै अवधि यो डस्टबीनबाट बाहिर निस्किसकेको मैलाको थाक खिँचिरहेका खड़गपुरबाट आएका पर्यटक सुमितसित सोध्दा उनले चौरास्ता जस्तो असल ठाउँको छेवैमा यस्तो मैलाको थाक हुनु राम्रो नभएको बताए।

उनले भने-दार्जीलिङ नामलेनै स्वच्छ र शीतल छ जस्तो लाग्छ. तर यहाँ यस्तो मैला देख्नु राम्रो लागेन। यसपछि नेहरू रोडमा विभिन्न देशका फूटबल दलहरूको झण्डा लगाइरहेका नर्थ पोइन्ट एलुम्नाई एसोसिएशनका उपाध्यक्ष अजय एड्वर्डसित सोध्दा उनले भने-गत वर्षको जून महीनामा दार्जीलिङ सर्वत्र बद्नाम भयो।

104 दिन बन्दको बन्दले दार्जीलिङ पहाड़का जनता उत्तेजित छन् भन्ने सन्देश विश्‍वभरि गएको थियो, तर यस वर्षको जून महीनामा दार्जीलिङलाई त्यसको ठीक उल्टा देखाउने अनि विश्‍वमा दार्जीलिङको सकारात्मक चित्र देखाउने प्रयास भइरहेको छ।

विश्‍वका विभिन्न देशका यी झण्डाहरू वर्ल्ड कप फूटबल खेल समाप्त नभएसम्म लागिरहनेछन्। उनले भने-दार्जीलिङ आन्दोलनमा मात्रै उत्तेजित हुँदैन, राम्रो कामको लागि पनि दार्जीलिङ अघि छ भन्ने सन्देश दिनको लागिनै यहाँका आम युवाहरूको पहलमा यी झण्डाहरू लगाएर नेहरू रोडदेखि चौरास्तालाई रङ्गाउने काम गरिन्दैछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया