256 भूमिहिन 11 बनवासीलाई पट्टा : मुख्यमन्त्रीले पहाड विकासको निम्ति ज्यानको बाजी लगाएर काम गरिरहेकी छन्-अरूप विश्वास

कालेबुङ, 31 मई

विनय तामाङले भने- ‘यहाँ कतिपय दाजु-भाइहरूले विभ्रान्तिमूलक वक्तव्य दिएर तपाईँहरूले पाउँदैगरेको हकमा बाधा स़ष्टि गर्ने कोशिश गर्दैछन्, वहाँहरूले स्वार्थपूर्तिको लागि जनमानसलाई लिएर नहिँड्दियोस्।’


राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आज राष्ट्रिय राजमार्ग-10 अन्तर्गत हनुमानझोडामा एउटा कार्यक्रमको आयोजना गरेर 265 भूमिहिन परिवार र 11 जना बनबासीलाई पट्टा प्रदान गरियो।

राज्यका पीडब्ल्यूडी साथै युवा अनि खेलकुद मन्त्रालयका मन्त्री अरूप विश्वासको बाहुलीबाट पट्टा  प्रदान गरिएको हो। यद्यपि मन्त्री अरूप विश्वास अनि जीटीए प्रमुख विनय तामाङले सबैलाई पट्टा दिएको दावी गरे पनि 11 वनबासीलाई भने टाइटल फर् फरेस्ट ल्याण्ड अण्डर अकोपेसन  प्रदान गरिएको हो।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मङ्गलबार डेलोबाट नै भूमिहिन अनि बनबासीलाई पट्टा दिने घोषणा गरेकी थिइन्। यसै घोषणा अनुरूप आज कालेबुङ खण्ड-1 का 84 अनि खण्ड-2 का 172 परिवारलाई ल्याण एण्ड ल्याण्ड रिफर्म्स एण्ड रिफ्यूजी रिलिफ एण्ड रिहेबिलिटेसन विभाग अन्तर्गत ‘निजो घर निजो भूमि’-योजनाको अनुसार घर-घरेडीको पट्टा प्रदान गरिएको हो।

यस पट्टा वितरण कार्यक्रममा मन्त्री अरूप विश्वास, जीटीए चियरमेन विनय तामाङ, उपाध्यक्ष अनित थापा, कालेबुङ जिल्लापाल डा. विश्वनाथ, राज्यसभा सांसद शान्ता छेत्री, कालेबुङकी विधायिका सरिता राई, नगरपालिका अध्यक्ष रवि प्रधान आदि उपस्थित थिए।

यस क्रममा मन्त्री अरूप विश्वासले कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडको विकासको निम्ति ज्यानको बाजी लगाएर काम गरिरहेको बताए।

‘मुख्यमन्त्री ममता ब्यानर्जीले ज्यानको बाजी लगाएर भए पनि पहाड विकासको निम्ति काम गरिरहेकी छन्’,-मन्त्री विश्वासले भने, ‘हामी शान्तिको निम्ति काम गर्दैछौँ, विकासको निम्ति कम गर्दैछौँ। हामीसित विनय-अनित पनि छन्।’

उनले भारतमा भाषण मात्र दिने नेता धेरै भए पनि ममता ब्यानर्जी काम गरेर देखाउने नेतृ रहेको दावी गरे।

‘कालेबुङ जिल्ला कसले बनाएको हो? कसले दियो पट्टा? कसले गर्दैछ विकास? कसले बनाएको हो एडुकेसन हब्’-सबको श्रेय ममतालाई दिँदै विश्वासले भने, ‘ममताको पूरा क्याबिनेट, पूरा सेक्रेटेरिएट, पूरा नवान्न कालेबुङमा आएर बैठक गऱ्यो।’

ममताले पहाडको धेरै समस्यालाई चिह्नित गरेको अनि जीटीए, नगरपालिका र राज्य सरकार साथ रहेर दुई वर्षभित्र पानी, सडक, मैला एवं स्वेरेजको समस्या समाधान गर्ने तय गरेको अवगत गराए। उनले पहाडमा विकास अनि शान्तिको निम्ति सबैलाई हात मिलाएर अघि बढ्ने आह्वान गरे।

कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै बनवासीहरूको पट्टाको सन्दर्भमा उनले सरकारको धेरैवटा योजना रहेको अनि त्यसै योजना अनुसार वनबासीहरूलाई पट्टा दिएको भने पनि कुनै योजनाको नाम भने लिएनन्। उनले सबै कुरा सरकारले कानुन अनुसार नै गर्ने गरेको बताए।

अर्कोतिर जीटीए चियरमेन विनय तामाङले आफ्नो सम्बोधनमा आजको दिनलाई ऐतिहासिक रहेको बताए।

‘पहाडमा धेरैजना हाम्रो सन्तान बसोबासो गर्छन् तर उनीहरू बसेको मालिकाना हक थिएन, यस विषयलाई पटक-पटक उठाउँदा पनि यहाँको राजनैतिक उताडचढाउले गर्दा वञ्चित हुनपऱ्यो’-तामाङले भने, ‘जीटीए अनि पश्चिम बङ्गाल सरकारको कारण आजदेखि जसको मालिकाना हक छैन उनीहरूलाई मालिकाना हक दिने कामको श्रीगणेश भएको छ।’

उनले यसका निम्ति सबै पहाडवासीको पक्षमा मुख्यमन्त्रीप्रति आभार प्रकट गरे। तामाङले भने अनुसार मुख्यमन्त्रीकै निर्देशमा 25 मईका दिन दार्जीलिङमा पट्टा वितरण सम्बन्धी उच्चस्तरीय बैठक भएको थियो। यसै बैठकको फलस्वरूप पट्टा वितरण गर्न सकिएको तामाङले बताए।

यसै क्रममा उनले सबै कुरालाई राजनैतिक आँखाले हेर्नु नहुने बताउँदै केही सङ्गठनहरूलाई चेताउनी समेत दिए।

‘यहाँ कतिपय दाजु-भाइहरूले विभ्रान्तिमूलक वक्तव्य दिएर तपाईँहरूले पाउँदैगरेको हकमा बाधा स़ष्टि गर्ने कोशिश गर्दैछन्’-तामाङले भने,‘वहाँहरूले स्वार्थपूर्तिको लागि जनमानसलाई लिएर नहिँड्दियोस्।’

कालेबुङ अनि दार्जीलिङ जिल्लाका सबैले यसै वर्षभित्र पट्टा पाउनुपर्छ भन्ने आफूहरूको माग रहेको अनि यसको निम्ति राज्य सरकार पनि आग्रही रहेको उनले बताए।

कार्यक्रमलाई राज्यसभा सासंद शान्ता छेत्रीले पनि सम्बोधन गर्दै मुख्यमन्त्रीको सदिच्छाको कारण बङ्गालभरि विभिन्न विकासमूलक योजनाहरू सफलतापूर्वक लागु हुन सकिरहेको भन्दै मुख्यमन्त्रीप्रति आभार प्रकट गरिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया