बाइस्कोपवाला : सिक्किमे प्रतिभाहरूको अनुपम एक्टिङ

Girl in a jacket

 

हीरा छेत्री, मुम्बई – 37


लामो प्रतीक्षापछि हिन्दी सिने जगतका ‘कुख्यात’ खलनायक डेनी डेन्जोङपाले अभिनय कलाको अतुलनीय क्षमता प्रदर्शन गरेर दर्शकहरूको मन जित्ने काम गरेका छन् आफ्नो नवीनतम फिल्म बाइस्कोपवाला-मा। उनीसँगै देखापरेकी छिन् सिक्किमकै अभिनेत्री अनि राष्ट्रिय पुरस्कारले सम्मानित कलाकार गीताञ्जली थापा।

बलिउडमा यसरी भारतको उत्तरपूर्वी इलाकाको सानु राज्य सिक्किमबाट दुइदुइजना कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेको यो फिल्मले क्षेत्रीय कलाकारहरूमाझ हौसला अनि प्रोत्साहन प्रदान गरिरहेको छ।

फिल्मले राष्ट्रिय मात्रै होइन तर अन्तर्राष्ट्रिय स्तरमै पञ्जीकरण प्राप्त गर्नसक्ने सङ्केत पाइएको छ भने अर्कोतिर यसले सिक्किम अनि वरिपरिका प्रतिभावान् कलाकारहरूलाई भने बलिउडतिर आकर्षित गरिरहेको पनि बुझिन्छ।

महान् कथाकार रवीन्द्रनाथ ठाकुरको कालजयी कथा काबुलीवाला-लाई आधारित गरेर तयार गरिएको बाइस्कोपवाला-का निर्देशक देब मेधेकरले जति कौशलपूर्वक यस चलचित्रमा परिश्रम गरेका छन् त्यसलाई भरपुर न्याय गर्न सफल बनेका छन् दुइ सिक्किमे कलाकार डेनी डेन्जोङपा अनि गीताञ्जली थापा।

चलचित्रमा ठाकुरको सन् 1892-को लघुकथालाई आधार गरेर आजको सन्दर्भमा मिलाएर जुन कथानक बुनिएको छ त्यसलाई फिल्म आचोलकहरूले खुब प्रशंसा गरिरहेका छन्। यो चलचित्रलाई फिल्म समीक्षकहरूले ठाकुरको कहानीको अल्ट्रा मोडर्न एडाप्टेसन भनेका छन्।

धेरै दिनपछि ठुलो पर्दामा देखा परेका सुप्रसिद्ध अभिनेता डेनीले यस फिल्ममा अफगानी सुकुमवासी रेहमत खान अथवा बाइस्कोपवालाको भूमिका निर्वाह गरेका छन् भने गीताञ्जलीले कलकत्ताको एक बङ्गाली परिवारकी छोरी मिनी बासू भएर आफ्नो अभिनय कलाको दक्षता प्रदर्शन गरेकी छिन्। उनको अभिनय कलाले प्रमाणित गरेको छ कि राष्ट्रिय पुरस्कार उनले उसै प्राप्त गरेकी होइनन् भन्ने सत्यता।

यद्यपि चलचित्रमा तीनचारवटा भाषाको प्रयोग गरिएको छ। हिन्दी, अङ्ग्रेजी, बङ्गाली अनि समयसमयमा पख्तुन भाषाहरूको प्रयोग गरिएको यस चलचित्रलाई बुझ्न तर दर्शकलाई हम्मे भने पर्दैन। केवल 1 घन्टा 35 मिनटको कलात्मक ढाँचामा तयार गरिएको यस चलचित्रले विदेशी सिनेमाको वर्गमा अन्तर्राष्ट्रिय स्तरमा प्रवेश पाउने स्पष्ट सङ्केत पाइन्छ। यति मात्रै होइन सिनेमाको निर्माणलाई सूक्ष्म रुपले हेर्दा वास्तवमा यसको तयारी नै अन्तर्राष्ट्रिय प्रदर्शनीलाई ध्यानमा राखेर गरिएको बुझिन्छ।

फिल्मको कथानकमा सन् 1990-को अफगानिस्तान अनि त्यहाँ सुरू भएको तालिबानी आतङ्कवादलाई पृष्ठभूमिको रुपमा दर्शाइएको छ। आफ्नो देशको सानु गाउँमा रेहमत खानले टोलटोल घुमी गाउँले अनि नानीहरूलाई डब्बामा सिनेमा देखाउने काम गरी पेटपाला गर्दछन्। उनको उद्देश्य तर सिनेमाको माध्यमबाट आम मानिसहरूलाई सचेत गराउनु रहेको हुन्छ।

तालिबानीहरूले सदैव यस्तो सोचको विरोध गरेका छन्। यसरी नै रेहमत खानको पनि विरोध गरेर उसलाई धम्की दिँदै आफ्नो देश छोड़्न बाध्य बनाइन्छ। रेहमतले सुरू गरेको सिनेमा हल ध्वस्त पारिन्छ, स्कुलहरू सबै तोड़िइन्छन्। परिवारका सदस्यहरू सबैलाई त्यागेर पाकिस्तानको सिमाना हुँदै भारत भित्रिएका रेहमतलाई तर थाहा हुँदैन यो देशमा आफु कता पुग्नुपर्ने हो भन्ने। यद्यपि बाटामा आफुजस्तै भागेर भारत भित्रिरहेका अन्य अफगानी नागरिक महिलाहरूसित रेहमतको भेट हुन्छ। उनीहरूकै सङ्गतमा लागेर रेहमत कलकत्ता आई अफगानीहरूको बस्तीमा रहन थाल्छ।

कलकत्ता आएर स्कुले केटाकेटीहरूलाई फेरि बाइस्कोप देखाउँदै मनोरञ्जन गराउने काम जारी राख्ने रेहमत खानको परिचय बासू परिवारसित हुनजान्छ जहाँ पुराना क्यामेराहरूमा चासो राख्ने फोटोग्राफर रवि बासूकी पाँच वर्षीया छोरी मिनी बासूसित उसको गहिरो माया बस्छ किनभने मिनीजस्तै पाँच सालकी छोरीलाई उसले काबुलमा छोड़ेर आएको हुन्छ।

यसरी मिनीमा आफ्नी छोरीको रुप देख्ने रेहमत खानको हातबाट एकदिन एउटा हत्या हुन्छ जसको परिणामस्वरुप उसलाई आजीवन काराबासको दण्ड सुनाइएको हुन्छ। कारावासको समयमा नक्सलवादीहरूले जेल तोड़ेर भाग्ने प्रयास गर्दा रेहमत खान पनि आफ्नी छोरीको रुप अथवा मिनीलाई भेट्न भागेर कलकत्ता पुग्छ। यतिन्जेल ठुली भइसकेकी मिनीसित उसको भेट भएर पनि चिन्न सक्तैन। मिनीका पिता रवि बासूले पुलिसलाई सूचित गरेर रेहमतलाई फेरि जेलतिर पठाइन्छ।

यद्यपि रवि बासूले यस कर्मको प्रायश्चित गर्दै अफगानिस्तान पुगेर रेहमतको परिवारसित भेट गरी, उसकी छोरी र रेहमतको मिलन गराइदिने सोच लिन्छ। तर सो अभागी दिन कलकत्ताबाट काबुलका लागि उड़ान भरेको हवाजहाज दुर्घटनामा पर्दा रवि बासूको प्राण जान्छ। आफ्ना पिताको आकस्मिक निधनको समाचार सुनेर पेरिसमा फिल्म स्टडी गरिरहेकी मिनी बासू भारत आउँछे।

यसैबिच रवि बासूले लड़िरहेको कानुनी लड़ाइँको फलस्वरुप रेहमत खानको दण्डको अवधि घटाएर अदालतले उसलाई मुक्त गरिदिन्छ। आफ्नो कुनै आश्रय नभएको रेहमत खान रवि बासूकै घरमा बास माग्न आइपुग्छ तर अपरिचित अनुहारलाई मिनीले आफ्नो घरबाट निकाल्ने प्रयास गर्छे।

घरका पुराना अनि इमानदार नोकर भोलाले सम्झाउने प्रयास गरे तापनि सुरूमा मिनीले रेहमत खानलाई खेद्ने नै प्रयास गर्छे। तर जसैजसै उसलाई आफ्नो बाल्यकालका सम्झनाहरू आउनथाल्छ अनि बाइस्कोपवाला रेहमत खानले खेलाएको, हुर्काएको दिनहरू मानसपटमा खेल्न थाल्छन् तब मिनीलाई उमाथि दया जाग्न थाल्छ र उसले गरेको हत्याको कारण पत्तो लगाउने प्रयास गर्छे।

यसरी उसले थाहा पाउँछे रेहमत खानले महिलाहरूको प्राण जोगाउने कोसिस गर्दा अन्जानमा कसैको हत्या भएको थियो कुनै समय। यति मात्रै होइन कलकत्तामा साम्प्रदायिक हिंसा भड़्केको बेला उसैले मिनीको प्राण जोगाएको थियो। यसरी रेहमत खानमाथि दया जागेकी मिनी बासू आफ्नो प्रेमिकासित मिलेर काबुलको यात्रा गर्न जान्छे जुन यात्रा उसको स्वर्गीय पिता रवि बासूले अधुरो छोड़ेको थियो। यो यात्रा मिनीले आफ्ना प्रिय बाइस्कोपवाला अथवा रेहमत खानकी छोरी रेबेयालाई भेट्नका लागि गर्दछे।

के मिनीको भेट रेहमतकी छोरी रेबेयासित हुन्छ त? अनि कलकत्ता फर्केर आएपछि उसले रेहमत खानलाई कसरी आफ्नो यात्राबारे बताउँछे त? सिनेमाको चरमोत्कर्षको रुपमा यही दृश्य दर्शाइएको छ बाइस्कोपवालामा।

यो चलचित्रको माध्यमद्वारा एक अशिक्षित व्यक्तिले कसरी समाजमा जागरुकता फिँजाउने काम गर्दछ भन्ने बताउन खोजेका छन् निर्देशकले जसलाई बलिउडको दुनियाँका स्थापित कलाकार डेनी डेन्जोङपाले आफ्नो अभिनय कौशलमा देखा परिरहेको अनुभवसा साथ खुबै सहजतासित पालन गरेका छन्। सिनेमाको अधिकाधिक सुटिङ लद्दाखमा गरिएको छ भने यस चलचित्रमा धेरैभन्दा धेरै लद्दाखी प्रतिभाहरूले आफ्नो कलाकारिता प्रस्तुत गर्ने मौका पाएका छन्।

बाइस्कोपवाला आया नामक शिर्षक गीतलाई गीतकार गुलजारले खुबै सान्दर्भिक रुपमा लेखेका छन् भने युवा गायक के. मोहनको स्वरले दर्शकहरूको मन जित्न सफल बनेको छ। साथै सन्देश साण्डिल्यको सङ्गीत पनि उत्तिकै मिठो र सुरिलो पाइन्छ।

माधेकर अनि राधिका आनन्दले स्क्रिनप्ले गरेको चलचित्रको मूल कहानी रवीन्द्रनाथ ठाकुरको काबुलीवाला-माथि आधारित छ जसलाई नवीनीकरण गर्ने काम गरेका छन् देब मेधेकर अनि सुनील दोषीले।

गुलजारको गीत रहेको चलचित्रका निर्माता हुन् सुनील दोषी अनि लाइन प्रोड्युसर रिन्छेन नामग्याल। सन्देश साण्डिल्यको सङ्गीतले आबद्ध फिल्ममा रेफे महमुदको सिनेमाटोग्राफी रहेको छ। फुन्चोक अङचुक र दोर्जे नाम्ग्यालको कास्टिङ रहेको यस चलचित्रमा अन्य धेरै लद्दाखी तकनिकी कलाकारहरू रहेका छन् जसमा मुख्य छन् – आर्ट डाइरेक्टर दावा छिरिङ, प्रोडक्सन मेनेजर रिन्छेन टुन्डुप, सहायक कला निर्देशक स्टान्जिन छोक्पेल आदि।

प्रमुख कलाकारहरू यस प्रकार छन् – डेनी डेन्जोङपा – रेहमत खान उर्फ बाइस्कोपवाला, गीताञ्जली थापा – मिनी बासू, बृजेन्द्र काला – भोला, आदिल हुसेन – रवि बासू, टिस्का चोपड़ा – वाहिदा, माया साराओ – गजला आदि।

समग्रमा यो फिल्मले हालमा फिल्म समीक्षकहरूबाट वाहवाही नै पाइरहेको छ। यसरी नै भारतको यौटा सानु राज्य सिक्किमका दुइदुइजना कलाकारहरूले यसरी एकसाथ मुख्य अभिनय गरेको चलचित्रलाई क्षेत्रीय कलाकारहरूले प्रतिभाको दुनियाँमा यौटा महत्त्वपूर्ण घटना मानिरहेका छन्।

यस दृष्टिकोणमा पनि सिक्किम सरकारले यो फिल्मलाई गाउ-समाजसम्म पुग्नका लागि टिकट दरमा छूट प्रदान गरेर कलाकारहरूलाई अझ प्रोत्साहन प्रदान गर्नुपर्ने देखिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया