बाटो राम्रो नबनाएको भन्दै कालो झण्डा

सञ्जीव मोहोरा, दार्जीलिङ 2 जून।


सोनादाको ग्यारेज लाइनदेखि इन्टेकसम्मको बाटोको निर्माण कार्यको गुणस्तरीयतालाई लिएर असन्तुष्ट व्यक्त गर्दै गोरामुमो सोनादा-टुंग समष्टिले आज सड़क निर्माणकार्य गुणस्तरीयरूपमा गरिनुपर्ने तथा सड़कको दुरावस्थाको कारण कुनै दुर्घटना भइहाले त्यसको जिम्मेवार ठेकेदार अनि सम्बन्धित विभाग हुनुपर्ने चेतावनी दिँदै पोस्टरिङ गरेको छ भने विरोधमा सड़कैभरि कालो झण्डा लगाएको छ। ग्यारेज लाइनदेखि इन्टेकसम्म नै गोरामुमोले व्यापक पोस्टरिङ तथा कालो झण्डा लगाउने काम गरेको छ।

 गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले उक्त सड़क रङमूक, सिडर्स, ओक्स, मुण्डालगायत अन्य थुप्रै चियाकमानका जीवन रेखा रहेको जनाउँदै सड़कको निर्माणकार्य एकदमै गुणस्तरहीन रहेकोले गर्दा उक्त क्षेत्रका जनताले धेरै समस्या भोग्नुपरिरहेको आरोप लगाउँदै आफूहरू जनताको पक्ष गुणस्तरीय सड़क निर्माणको माग लिएर अघि आएको बताए।

अर्कोतिर सोनादा ग्यारेज लाइनदेखि इन्टेकसम्म कूल 14 किमी सड़कमध्ये हालैमा निर्माण गरिएको 3 किमी सड़कको निर्माणकार्यलाई लिएर राजनीतिकरण नगरिदिने अपील हिजोमात्र गोर्खा जनमुक्ति मोर्चा सोनादा-पचेङ समष्टिले गरेका थिए। उक्त सड़कलाई राजनैतिक अखड़ा नबनाइदिने अनुरोध गर्दै हिजो दार्जीलिङमा एउटा पत्रकार भेला गरी गोजमुमो सोनादा-पचेङ समष्टिका अध्यक्ष विनञ्जय गुरूङ अनि सचिव सोनाम लामाले संयुक्तरूपमा गरेका थिए भने जनताको हितमा भइरहेको कार्यलाई राजनीतिकरण नगरेर कसरी राम्रो हुन्छ त्यसबारे ध्यान दिनुपर्ने सुझाउ पनि दिएका थिए।

सड़क निर्माण भएकोमा हाम्रो कुनै विरोध छैन तर निर्माणकार्यमा भएको लापारवाही अनि गुणस्तहीन कामको हामी घोर विरोध गर्दछौं। स्थानीय मानिसहरूले धेरै असुविधा अनि समस्याहरू भोगिरहेको भएतापनि आजसम्म यस विषयमा कुनै संघ-संस्था अथवा सचेत नागरिक बोल्न अघि आएन।यसैले जनताको पक्षमा गोरामुमोले आवाज उठाएको हो, गोरामुमो ब्राञ्च प्रचार-प्रसार सचिव भूपेन गुरूङले यसो भने। निर्माण भएको महीना दिन पनि नपुगी बाटो जीर्ण अवस्थामा पुगेकोले नै गोरामुमोले असन्तुष्टि व्यक्त गरेको पनि उनले बताए।

उक्त सड़कसम्बन्धि गोजमुमोलाई समेत राजनैतिक आक्षेप लगाइरहेको उल्लेख गर्दै दुवैले हिजो पत्रकारहरूलाई बताएअनुसार, 105 दिनको पहाड़ बन्दपछि जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सद्वारा पहिलो विकास कार्यको रूपमा उक्त 3 किमी सड़क निर्माणकार्य भएको थियो। तर उक्त निर्माणकार्य जीटीए उपाध्यक्ष अनित थापाको सुझाउमा ठेकेदारले वर्क डनमा सड़क निर्माणकार्य शुरू गरेका थिए भने ठेकेदारले अहिलेसम्म वर्क अडर पनि पाएको छैन।

यसबाहेक उक्त निर्माणकार्य चलिरहेको समय सड़कमा सबै चालकहरूलाई निर्माणकार्य नसिद्धिञ्जेल उक्त सड़कमा गाड़ी नकुदाइदिने अपील ठेकेदारले गरेका थिए।धेरैजना चालकहरूले उक्त अपीललाई मानेको भएतापनि कतिपय चालकहरूले भने अवमान्य गरी निर्माणाधीन सड़कमा नै जबरजस्ती गाड़ी कुदाइदिएकोले गर्दा सड़क निर्माणकार्य राम्रो हुन सकेन र भत्किएर गयो। यसबाहेक निर्माणकार्यकै समय धेरै पानी परेको  कारणले गर्दा पनि उक्त सड़कलाई झनै जीर्ण अवस्थामा पुगेको पनि दुवैको भनाइ थियो।

उक्त विषयलाई लिएर कतिपय राजनैतिक दलहरूले राजनीति गर्ने काम भइरहेको छ। जन सुविधाको निम्ति गरिएको काममा राजनैतिक रोटी सेक्ने काम गरिरहेको छ। यो कार्य बन्द गरिनुपर्छ। उक्त सड़कलाई राजनीति गर्ने ठाउँ नबनाउने हाम्रो अपील छ,अध्यक्ष विनञ्जय गुरूङ अनि सोनाम लामाले सयुंक्तरूपमा हिजो यसो भनेका थिए।

स्मरण रहोस् १०५ दिनको पहाड बन्दपछि लगत्तै मरम्मती गर्न थालिएको सोनादाको ग्यारेज लाइनदेखि इन्टेकसम्मको सड़क मरम्मत गरिएतापनि महीना दिन पनि नपुगी सड़कको अवस्था पुनः खराब बनेको थियो। महीना दिन पनि नपुगी उक्त सड़क भत्किएपछि निर्माणकार्यको गुणस्तरीयतामाथि औला उठाउँदै हिल तृणमूलले पनि केही दिनअघिमात्र विरोध गरेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares