कालेबुङ जिल्ला अस्पतालमा सीटी स्क्यान अनि एमआरआई सेवा

कालेबुङ, 2 जून।


कालेबुङ जिल्ला अस्पतालमा सीटी स्क्यान अनि एमआरआई सेवा शुरू गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमन अवधि गत 30 अप्रेलको दिन तिनले होम्सको जार्बी हलबाट उक्त सेवाहरूको उद्घाटन गरेकी थिइन्। सोही दिनदेखि नै कालेबुङ जिल्ला अस्पतालमा सीटी स्क्यान अनि एमआरआई सेवा शुरू गरिएको छ। यसबारे अस्पतालका सुप्रिन्टेन्डेन्ट अङ्कन सिमलाङदीसित जान्न चाहँदा हालमा ट्रायल बेसिसमा उक्त सेवा शुरू गरिएको बताएका छन्।

अहिले रोगीहरूको असुविधालाई ध्याना राख्दै प्रशिक्षण लिएर आएका दुईजना कर्मचारीहरू राखेर मसिन चलाउन शुरू गरिएको यद्यपि अहिलेलाई भने अस्पतालको ओपीडीको समयावधि भरि मात्र उक्त सुविधा उपलब्ध रहने उनले बताएका छन्। उक्त मसिनलाई एजेन्सी मार्फत् चलाइने भए तापनि हालमा अस्पतालपक्षले नै केही समयको निम्ति बिरामीहरूको सुविधार्थ उक्त सेवाहरू सञ्चालन गरेको उनले थप बताएका छन्। आगामी जुलाई महिनाभित्रमा एजेन्सी मार्फत् पूर्णरूपमा उक्त सेवाहरू सञ्चालन हुने जानकारी उनले दिएका छन्।

यता आज आफ्नो पिताको सीटी स्क्यान गराउन आइपुगेका सोनु बसुरले सीटी स्क्यान सेवा शुरू गरिएकोमा हर्ष प्रकट गर्दै यदि कालेबुङ अस्पतालमा उक्त सेवा शुरू नगरिएको भए आफू नसिलगडी जानपर्ने स्थिति भोग्नपर्नेथियो भन्ने बताए। सीटी स्क्यान अनि एमआरआई सेवा पूर्ण रूपमा सञ्चालन भए यसले अझ धेरै सुविधा प्राप्त हुने विश्वास पनि उनले प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया