विपक्षी गठबन्धनमाथि निर्भर 2019-को चुनाउ

आकार पटेल


जनता दल (एस) र कङ्ग्रेसबीच भएको गठबन्धनको उत्सव मनाउनका लागि विपक्षी दलहरू बेङ्ग्लुरुमा एकत्रित हुनुले के दर्शाउँछ? यो एकजुटताको के कारण छ? के यो विपक्षी एकजुटता आगामी लोकसभा चुनाउसम्म यथावत रहनेछ? अहिलेघरी यस्तै प्रश्नहरूको चर्चा देशभरि भइरहेको छ। आउनुहोस्, यसबारे जाँच पड़ताल गरौं।

सबैभन्दा पहिला ती नेताहरूमाथि दृष्टि लगाऔं, जो यो उत्सवमा सामेल थिएनन्। नवीन पटनायकसँग ओड़िशामा उनको आफ्नो जनता दल हो। वर्ष 2014 को विधानसभा चुनाउमा उनको पार्टीले 43 प्रतिशत मत प्राप्त गरेको थियो। भाजपाले 18 र कङ्ग्रेसले 25 प्रतिशत मत प्राप्त गरेका थिए। आंकड़ा बताउँछ, किन पटनायक यो उत्सवमा सामेल भएनन्।

उनका लागि कङ्ग्रेस ठूलो खतरा हो अथवा कङ्ग्रेसलाई भाजपा बराबर खतरा मान्छन्। भविष्यमा यो समीकरण परिवर्तन हुन पनि सक्छ। आगामी वर्ष भाजपा पटनायकको नजिक हुनेछ, यसैले यो समीकरण परिवर्तन हुने सम्भावना सहज छ। तर त्यसबेलासम्म आफ्ना विकल्पहरूलाई निमिट्यान्न पार्ने कुनै आवश्यकता छैन।

यो मानिलामा पटनायकले ‘वेट एन्ड वाच’ -जस्तो बुद्धिमता देखाइरहेका छन्। पटनायक यसभन्दा अघि भाजपासँग गठबन्धनमा बसिसकेका छन्। यसैले 2019 -को मुद्दा तय भएपछि राहुल गान्धीसँग गठबन्धन गर्ने कुनै अर्थ छैन। तेलङ्गानामा कङ्ग्रेसकै विपक्षी नेता छ। आम चुनाउमा पनि यस्तै स्थिति यथावत रहने सम्भावना छ।

यो राज्यमा कङ्ग्रेसजस्तो भाजपा बलियो छैन। केही हदसम्म यस्तै आगामी दिनमा जारी रहनसक्छ। यसै कारण राज्यका मुख्यमन्त्री के चन्द्रशेखर राव, गौड़ालाई भेट्न बेङ्ग्लुरु त आए, तर एकता र्‍यालीमा सामेल भएनन्। आउनुहोस्, अब ती नेताहरूलाई परख गरौं, जो यो उत्सवमा सामेल भएका थिए। बिहारका मतदाता धेरै बाँड़िएका छन्। वर्ष 2015 मा भाजपाको हार भएको थियो। लालु यादव, नीतीश कुमार र कङ्ग्रेसको महागठबन्धनले 40 प्रतिशतभन्दा अधिक मत प्राप्त गरेको थियो।

यो गठबन्धनका दुई प्रमुख दल, दुई जनता दलले समान मत प्राप्त गरेका थिए। नीतीश कुमारको जनता दल (यू) पछि भाजपासँग मिल्यो। लालुको जनता दलले अहिले पनि कङ्ग्रेससँगको गठबन्धनमा छ। कुनै पनि पार्टी बिहारमा आफ्नो दममा प्रभावी हुनसक्दैन, यो पछिल्लो चुनाउले देखाएको छ। यसैले यहाँ दुवै जनता दलका लागि गठबन्धनको भाग बनिरहनु आवश्यक छ।

कागजमा नीतीश-भाजपा गठबन्धन बलियो छ। यसै कारण लालु परिवारसँग मद्दतका लागि अन्यतिरै हेर्नबाहेक अर्को विकल्प छैन। भाजपाविरुद्ध राष्ट्रव्यापी एकतालाई लिएर देखिँदै गरेको उत्साहले यस्तै बताउँछ। पछिल्लो विधानसभा चुनाउमा उत्तर प्रदेशमा मत विभाजन यस्तो थियो, भाजपा 41 प्रतिशत, सपा 28 प्रतिशत, बसपा 22 प्रतिशत।

मुलायम सिंहको समाजवादी पार्टीले 2012 -मा 29 प्रतिशत मत पाएर बहुमत प्राप्त गरेको थियो। यस दृष्टिले हेर्दा सपाले आफ्नो मत प्रतिशतलाई यथावत राखेको छ। यता, नरेन्द्र मोदीले केन्द्रको सत्ता सम्हालेपछि भारतीय जनता पार्टी धेरै ठूलो पार्टी भएको छ। मायावती र मुलायम मुख्य रूपले यूपीको सत्ताका लागि प्रतिस्पर्धा गर्छन्।

यस अर्थले उनीहरू के कुरा भाग्यशाली छन् 2019 -मा राज्यमा विधानसभा चुनाउ छैन। यसै कारण भाजपाविरुद्ध एकजुटता बनाइराख्ने कोशिश उनीहरूका लागि सहज हुनेछ, तर जब राज्यमा सत्ता साझा गर्ने कुरा आउँछ, यो एकता सम्भवत: भताभुङ्ग हुनेछ। अहिलेका लागि अन्य पछौटेवर्ग (ओबीसी)+मुसलमान+दलित गठबन्धन बलियो देखिँदैछ। मत हस्तान्तरणमा अवश्यै यस्तो साधारण तरिकाले काम गर्दैन। चुनाउ विश्लेषक दोराब सोपारीवालाले भनेका थिए, “भारतमा गठबन्धनले काम गरेको कारण यहाँ जातिहरूको गठबन्धन हुन्छ।

बङ्गालमा, जहाँ लोकसभाका 42 सीट छन्। वामगढ़ ढलिसकेको छ। कङ्ग्रेस अप्रासङ्गिक भइसकेको छ। त्यहाँ भाजपा विपक्षी दल बनिसकेको छ। यसैले ममतालाई मोदीविरोधी गठबन्धनमा सामेल हुन कुनै सङ्कोच छैन। बङ्गालजस्तै महाराष्ट्रमा पनि कङ्ग्रेस टुटेको छ, तर त्यहाँ पवारमा ममताजस्तो सम्पूर्ण रूपले पार्टीमाथि हाबी हुने योग्यता थिएन।

महाराष्ट्रमा राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपी) र कङ्ग्रेसले गठबन्धन गरेमा भाजपाका लागि समस्या बन्नसक्छ। उत्तर भारतजस्तै महाराष्ट्रमा भाजपाको ठोस भोट ब्याङ्क छैन। पछिल्लो विधानसभा चुनाउमा भाजपालाई कुल मतको केवल 27 प्रतिशत प्राप्त भएको थियो, तरै पनि भाजपा बहुमतको नजिक आएको थियो।

शिव सेनासमेत अन्य तीन दलमा प्रत्येकलाई प्रायः 18-18 प्रतिशत मत प्राप्त भएको थियो। दुई दशकको असहज साझेदारीपछि एनसीपी र कङ्ग्रेस 2019 को चुनाउ बिनाकुनै समस्या गठबन्धन गरेर चुनाउ लड़्ने सम्भावना बलियो छ। किनभने दुवैको विचारधारा प्रायः एकै छ। आन्ध्र प्रदेशमा वाइएस जगनमोहन रेड्डी मुख्य विपक्षी नेता हुन्।

बङ्गालजस्तै यहाँ पनि एक स्थानीय चामत्कारिक नेताले कङ्ग्रेसको स्थान लिएर यसको बुनियादी ढाँचा र नेतृत्वमा कब्जा गरेका छन्। चन्द्रबाबु नायडुका लागि आफ्नो विकल्पलाई खुल्ला राख्नु आवश्यक छ, किनभने स्थानीय स्तरमा उनलाई केवल भाजपाबाट खतरा छैन। चुनाउमा भाजपाको रणनीति अहिले गठबन्धनको हिस्सा नरहेका दलहरूजस्तै तमिल पार्टीहरू सन्तुष्ट राख्ने हुनुपर्छ।

त्यहीं कङ्ग्रेेसका लागि गठबन्धन तयार गर्नु अत्यन्त आवश्यक छ, तर स्थानीय स्तरमा यस्तो गर्नु सहज भने छैन। हालैमा गरिएको एक सर्वेक्षणले देखाएको छ, राजस्थान र मध्य प्रदेश, जहाँ पछिल्लो 15 वर्षदेखि भाजपाले सत्ता चलाइरहेको छ, यहाँ कङ्ग्रेस सत्तारूढ़ दलभन्दा अघि छ। वर्ष 2013 -मा मध्य प्रदेशमा बसपाले केवल चार सीट (तीन सीट घटेको थियो।) जितेको थियो, तर मायावतीको पार्टीलाई 6 प्रतिशत अधिक मत प्राप्त भएको थियो।

यस्तो दलसँग गठबन्धनलाई अघि बढ़ाउनु कङ्ग्रेसको केन्द्रिय नेतृत्वका लागि सहज हुनेछैन। किनभने यस्तो समय यसले आफ्नो जीत देखिरहेको छ। यस्तो स्थितिमा राज्यका नेता गठबन्धनमा बस्न रूचाउँदैनन्। यद्यपि कङ्ग्रेसले मध्य प्रदेशमा बसपासँग गठबन्धन गरे भाजपालाई लगातार दुई दशकसम्म सत्तामा बस्नबाट रोक्न सक्छ। यस प्रकारको गठबन्धन तयार गर्नका लागि गान्धी परिवारले अत्यधिक परिपक्वता देखाउन पर्नेछ, तर कङ्ग्रेस यस्तो गर्न सफल भएमा हामी सबैका लागि 2019 को चुनाउ अत्यन्त रोचक हुनेछ।

(लेखक एमनेस्टी इन्टरनेशनल इन्डियाका कार्यकारी निदेशक हुन्।)


अनुवाद – सौजन्य छेत्री 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया