विश्वकप फुटबलको फिभरले ग्रस्त हुनेहरू हो, सुन्नुस् सुनिल छेत्री के भनिरहेका छन्

हीरा छेत्री


अन्ततः भारतीय फुटबल दलका राष्ट्रिय कप्तान सुनील छेत्रीले सार्वजनिक रुपै देशका समस्त फुटबलप्रेमी दर्शक र समालोचकहरूसित अपिल गर्न कर लाग्यो – सोमबारको दिन केन्याविरुद्ध भिड़न्त हुने भारतीय दलको प्रतियोगितालाई दर्शकहरूले जतिसक्दो खेलको मैदानमै आएर हेरिदिऊन् अनि खेलाड़ीहरूको आलोचना गरून्, उनीहरूलाई गाली गरून्, उनीहरूको हौसला बढ़ाऊन्, उनीहरूलाई ताली मारून्, उनीहरूलाई सराप्नुसम्म सरापून्। सबै गरून् तर मैदानमा आएरै गरून्। यसले हामीलाई प्रेरणा र प्रोत्साहन दिनेछ अनि भारतीय फुटबलको स्तरलाई उँभो पुऱ्याउनमा धेरै मद्दत गर्नेछ।

हजुर, विश्वकपको मातले मातिएको हाम्रो पहाड़ अनि भारतभरिकै गोर्खा तथाकथित फुलबलप्रेमीहरूलाई थाहा छ कि छैन एकजना सुनील छेत्री भन्ने ठिटो पनि छ यो संसारमा जसले बेजोड़को फुलबल खेल्दछ अनि जुन देशमा आज यो जातिले राष्ट्रिय राजनीतिक चिनारीको समस्या झेलिरहेको छ त्यसै देशलाई सरकारी रुपमा विश्वस्तरमा प्रतिनिधित्व गरिरहेको छ।

सायद फुटबलप्रेमी तपाईँहरूसित समय छ वा छैन तर ऐले भारतमा चारवटा देशको अन्तर्राष्ट्रिय स्तरको लातेभकुन्डो प्रतियोगिता सम्पन्न भइरहेको कुराबाट अनभिज्ञ त हुनुहुन्न होला। अनि हजुरहरूलाई यो पनि थाहा छ कि छैन यस चार राष्ट्रिय प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेलमा भारतले चीनको ताइपेईलाई शून्यको विरुद्ध पाँच गोल लगाएको थियो।

अझ अर्को कुरा थाहा हुनुपर्ने हजुरहरूलाई त्यस खेलमा राष्ट्रीय कप्तान भनूँ वा गोर्खा गौरव भनूँ सुनील छेत्रीले ह्याट्रिक गरेका थिए। लगातार तीन गोल दाग्नुलाई ट्याट्रिक भनिन्छ। अनि छेत्रीले गरेको यो ह्याट्रिक विश्व स्तरमा उनको जीवनको तेस्रो ह्याट्रिक थियो जसलाई फिफाले आधिकारिक मान्यता दिएको छ।

यसरी भारतलाई फुटबलको अन्तर्राष्ट्रिय स्तरमा फिफाको ऱ्याङ्किङ अनुसार 97 नम्बरमा झार्न सफल बनिरहेको यस यो देशको टोलीले दर्शकहरूबाट प्रशंसा र प्रेरणाको ताली नपाएको गुनासो दलका खेलाड़ीहरूले गरेपछि सुनील छेत्री स्वयम् सोसल मिडियाअघि आएर अपिल गर्न कर लागेको छ। अरूले जेसुकै गरून् तर सानु कुरामा पनि आफ्नो जातीय गौरव खोजिहिँड़्ने गोर्खाहरू अनि यस जातिका खेलप्रेमी युवाहरू, खेल संस्थाहरूले सुनीलले गरेको यसपालिको ह्याट्रिकमाथि बधाईको दुइ शब्द नबोल्नु, सोसल मिडिया, समाचारपत्र, टिभीतिर यसको समाचार देखा नपर्नु अनि देखा परे पनि औपचारिक रुपमा मात्रै देखा पर्नु, बरू त्यसको साटो रिन काड़ेर भए पनि चारैतिर अर्जेन्टिना र ब्राजिलको झन्डा फहराउनु, जर्मनी र स्पेनको गुनगान गाउनु……… विडम्बना नै मान्नुपरेको छ। पेलेदेखि लिएर म्याराडोना, मेस्सी, रोनाल्डिनोका प्रशंसक बनेका भारतीय फुटबलप्रेमीहरू अनि विशेषतः हाम्रो आफ्नै समाजका गोर्खे खेलप्रेमी युवाहरू र खेलसित सम्बन्धित सङ्घसंस्थाहरू भने श्याम थापा, भाइचुङ भोटिया, सुनील छेत्रीहरूका समर्थक बनेको उदाहरण कमै छ। यसपालि सम्पन्न भइरहेको चार राष्ट्रियबिचका इन्टरकन्टिनेन्टल अथवा अन्तरमहादेशीय खेल प्रतियोगितामा देहरादुनका अर्का गोर्खा नक्षत्र अनिरुद्ध थापाले पनि आफ्नो कौशल दर्शाइरहेको कुरामा त झन् हामी अचेत नै छौँ।

आफ्नो ट्विटमा सुनीलले यसै भनेका छन्, युरोपेली क्लबहरूलाई समर्थन गर्ने अनि भारतीय खेलाड़ीहरूको स्तर विश्वस्तरमा पुगेको छैन भनेर आलोचना गरिहिँड़्ने फुटबलप्रेमीहरू आउनुहोस् मैदानमै आएर हामीलाई होँच्याउनुहोस्, गाली गर्नुहोस्, सराप्नुहोस्। सामाजिक सञ्जालमा मात्रै ठुलो कुरा गरेर हुँदैन। खेलको स्तर बढ़ाउनु हो भने मैदानमा दर्शकहरूको उपस्थिति पनि उत्तिकै महत्त्वपूर्ण छ। हो हामी मान्छौँ… युरोपेली स्तरमा हामी पुग्नसकेका छैनौं। त्यसको नजिक पनि पुगिरहेका छैनौँ। तर हाम्रो इच्छाशक्ति छ, हामी सङ्कल्पित छौँ त्यहाँ पुग्नलाई। तर हामीलाई हौसला दिने हातहरू खोई त…..। आउनुहोस् मैदानमा भेला भएर हामीलाई गाली गर्नुहोस्, हाम्रो खेललाई होच्याउनुहोस्। के ठेगान तपाईँहरूको यस्तै गाली नै हाम्रो लागि प्रेरणा बन्नेछ अनि एकदिन भारत पनि उपल्लो स्तरको फुटबल दल बन्नेछ अनि त्यो दिन तपाईँहरूले हाम्रो प्रशंसा गर्नुहुनेछ।

भोलि सोमबार 4 जूनका दिन मुम्बईको अन्धेरीस्थित मुम्बई फुटबल एरेना स्टेडियममा भारत बनाम केन्याबिच खेल सम्पन्न हुनेछ। यो खेलको अर्को विशेषता के छ भने सुनील छेत्रीको खेल जीवनमा यो 100औँ अन्तर्राष्ट्रिय फुटबल खेल हुनेछ। आशा गरौँ यस खेलमा अघिल्लो खेलमा झैँ केवल 2 हजार दर्शकहरू मात्र रहने छैनन्। कमसेसम खेलाड़ीहरूलाई गाली नै गर्नका लागि भए पनि हजारौँको सङ्ख्यामा भारतीय खेलप्रेमीहरू मुम्बईको यस मैदानमा ओइरिने छन्।

जसले मुम्बईमा आफ्नो आँखाले म्याच हेर्न पाउने छैनन् उनीहरूले पनि टिभी र सोसल मिडियामार्फत् यो खेल हेरेर आफ्नोप्रतिक्रिया पोख्नेछन् भनी बिचरा हाम्रा गोर्खे फुटबल स्टार सुनील छेत्रीले आज सबैलाई बिन्ती गरेका छन्।

मन्तव्यः हामीमा आफ्ना प्रतिभाहरूलाई हौसला प्रदान गर्ने आदत छैन। न त सरकारी तौरमा हाम्रा शासकीय निकायहरू अघि आउँछन् न त सम्बन्धित सङ्घ-संस्थाहरूले चाहेजस्तो काम गर्छन्। न नै हाम्रो समाजमा खेलप्रति रुची लिएर समालोचना गर्ने काम नै हुन्छ। हामीबिच धेरै लेखक, साहित्यकारहरू छन्। खेल-शिक्षा आर्जन गरेका हरू पनि थुप्रै छौँ हामी। तर कुनै पनि मिडियामा खेल समाचार, खेल समालोचना, खेल समीक्षा लेख्ने परम्परा छैन। अनि यो मन्तव्य लागु हुन्छ कलाका अन्य पक्षमा पनि। फिल्म समालोचना, नाटक समालोचना आदि कहिल्यै हुँदैन। पुस्तक समालोचना र निरुपणले हप्तैभरि पाना भरिन्छ तर त्यसको तुलनामा व्यावहारिक प्रतिभाका धनी यी कलाकारहरूलाई हौसला दिने खालका रचनाहरू भने कमै देखा पर्छन्। भनूँ नै भने देखा पनै पर्दैनन्। फेसबुक हेर्नुहोस्, त्यहाँ नानाभाँतीका कुराहरूले ठाउँ ओगटिरहेको देखिन्छ। ऐले नै राजनीतिक परिवर्तन ल्याउने हाँक पिटिरहेका हुन्छन् हाम्रा ओपोनियन मेकरहरू। यौटा पुस्तक बजारमा आइसकेको छैन त्यसबारे समालोचना सुरू भइसकेको हुन्छ। विश्वकप फुटबल खेल्ने खेलाड़ीहरूलाई बरू त्यति धेर चासो हुन्छ कि हुँदैन हाम्रो भेकमा घरघरमा झन्डा टाँगिन सुरू हुन्छ। राम्रोसित विश्वकपबारे ज्ञान पनि छ वा छैन त्यस्ताहरू खेल समीक्षक बन्न थाल्छन्। कुन दल क्वालिफाइ भयो त्यो पनि राम्रोसित थाहा छ छैन, कसरी क्वालिफाइ भयो त्यो पनि थाहा छैन, कुन कोटामा क्वालिफाइ भयो त्यो झन् थाहा छैन तर मेस्सी र रोनाल्डोको आलोचना यसरी गर्छन् कि लाग्छ भोलिदेखि नै त्यो फेसबुके प्रतिक्रिया पढ़ेर उनीहरूले आफ्नो खेल सुधार्ने पो हुन्।

के हामीलाई थाहा छ भारतमा फुटबल खेलको सुरूआत गोर्खाहरूले गरेका हुन् कि भन्ने यौटा विषय पनि कहिलेकाहिँ उठान हुने गर्दछ भनेर? यो यौटा सोधको विषय हो। हाम्रा खेलप्रेमीहरूले, लेखकहरूले, शोधकहरूले यसबारे पनि रुची राखेर काम गर्नसक्छन्। भावनाको साहित्य मात्रै नगरेर आफ्नो कलमलाई यस्ता अनुसन्धानात्मक क्रियातिर पनि तिखार्न सक्छन्। कसै कसैले प्रयास गरेका छन् यस दिशातिर पनि तर गर्नेहरूलाई स्याबासी भने कतैबाट प्राप्त भइरहेको देखिँदैन। यसो हुँदा सुरुआत त हुन्छ तर टुँगामा पुगिँदैन।

यसपालि सुनील छेत्रीको खेल र भारतीय फुटबलको प्रदर्शनीमाथि हेरूँ कतिका टिप्पणीहरू थुप्रिँदा रहेछन् त सामाजिक सञ्जालमा हाम्रा जोशिला जोशिला युवाहरूको……

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया