मान्छेलाई कविताबाट निकाले बाँकी के रहन्छ….???

समिक्षा

रवि रोदन


नक्साभित्रका मान्छेहरू।

कवि इन्द्रकुमार राईको विगत वर्षमा विमोचित कृति मेरो हातमा छ। कविता विधामा यो इन्द्रकुमारको दोस्रो कृति नै हुनुपर्छ।

मान्छे सुमसुमाउने कविता मलाई मनपर्छ।  मान्छेको कुरा मान्छेको आख्यान कविताबाट निकालिदिए  त्यो कान खाने हेभी मेटलको धुन जस्तै हुन्छ जसको हल्ला त सुनिन्छ तर त्यसको भ्याउ बुझ्न निकै गारो। त्यस्ता कविताहरू अल्पायुमा मर्छ।

यो पुस्ता कवितामा आख्यान लेख्ने कविहरूको हो। समयचेत कविहरूको समय। यो चेत नयाँ पुस्ताबाट अरू पुस्ताले माग्नुपर्छ।

अनुभुतिहीन र संवेदनाहीन कविताले मान्छेको आख्यान भन्न सक्दैन।

कवितामा टुइस्ट तब हुन्छ जब हुन्छ मान्छेको कुरा।

कविहरू किन कविता लेख्छन् …??

कविहरूकोकाव्य लेखनको शुरूवात त रहर र लहड़मै हुन्छ।

भानु जयन्ती, भाषा दिवस र अन्य साहित्यिक गुटको गतिविधिमा छपक्क परेर बसेकै हुन् सबै कविहरू।

फुटबल खेलेर मजा लिनु, रक-ब्याण्डमा अलिक स्वर राम्रो हो भने गीत गाउनु, ठेकेदारी गरेर यसो फायदा कमाउनु, पियक्कड़ साथी भाइहरूसित मिलेर खट्टु खानु, छुट्टी रमाइलो गर्नलाई साथी भाइहरू भेला भएर चिरिप र अचार खाँदै जुवा खेल्नु… यस्ता-यस्तै के के गर्न रमाउनु नी कविहरू…!!

अहँ कविहरूमा यी सब गुणहरूको फेहरिस्त नै भए पनि उसले बढ़ी त कविता नै लेख्छ।

एउटा सिंगो समाजलाई केही फरक दृष्टिले उ हेरिरहन्छ। घोरिरहन्छ।

एउटा स्पेश खोजिरहन्छ कवि केही बोल्नलाई। समाजलाई पढ़िरहन्छ कवि। कवि वास्तवमा समाजको ढुकढुकी हो। कवि विवेकले देख्छ र त्यसपछि लेख्छ। समाजलाई हेर्ने चश्मा कविहरूसित बढ़ी पावरको हुन्छ।

क्वान्टम फिजिक्स अनुसार कवितालाई डिभाइन साउन्ड भन्न सकिन्छ। पाठक अब सचेत अवस्थामा पुगेका छन्।

कवि कुन समाजमा कुन समयसँग जसरी बाँचिरहेको हुन्छ त्यसले निर्धारण गर्छ कविका अभिव्यक्तिहरू।

ती अभिव्यक्तिहरूमा समाजको नक्सा र चेतनाको गन्ध देखिन्छ।

कलाचेत र भावाभिव्यक्ति कविले आफ्नो कविता मार्फत जनाउने हो।

मान्छेको मौलिक अनुहार र अर्गयानिक गन्धहरूको आख्यान कवितामा देखिनु एउटा असल कविले वास्तविकमा कविता गर्नु हो।

संवेदना र सचेत कर्मको एउटा पाटो पनि हो कविता लेखन।

मान्छेको चरित्र, भोगाइ र संवेदना लेख्छन् कवि। समाजको यथार्थलाई व्यक्त गर्ने गम्भीर दर्शन कविसित हुन्छ।

जमिरहेको पानीमा ढ़ुङ्गा हान्दा जुन तरङ उठ्छ त्यही तरङ कविताले पाठक मनमा गर्छ।

कविको काँधमा समाजको जिम्मेवारी कति……??

कविहरू भ्रमहरूबाट जोगिनु आवश्यक छ। आफुले लेखेको कुरामा कवि स्पष्ट हुन सकेन भने पाठक र समाज अन्योलमा पर्ने खतरा रहन्छ। कविता अब कुनै विशेष इभेन्टको निम्ति मात्र लेख्नु र वाचलमा मात्र सिमित रहेन । अब कविता समय काट्नलाई लेखिने होइन।

समाजशास्त्रको एउटा अभिन्न अङ्ग हो कवि। अब कविको काँधमा समाजको जिम्मेवारी आइपरेको छ। नयाँ पुस्ताले जब जिम्मेवार कविलाई पढ्छ लामो यात्रा तय गर्ने एउटा लक्ष्य थाहा पाउँछ। कविको काँधमा चढ़ेर नयाँ पुस्ताले टाढ़ासम्म देख्न सकोस्, लामो यात्रा तय गर्न सकोस्।

कवि समय र समाजमा प्रेरक हुनुपर्छ। समय र समाजसित अलगिएर कवि कुनै बञ्जर टापुमा गएर बस्न सक्दैन।

स्वीस् जियोलोजिस्ट (भूगर्भविद्) टोनी हेगेन गैंती बोकेर 1950 तिर नेपाल पसेका थिए।  करिब चौध हजार किलोमिटरको उँचाइमा भएको हिमालतिर उक्ले। हेगन बहुमुल्य पत्थर वा हीरा भेटिन्छ भन्ने सुरमा थिए। त्यसरी हिँड्दा उनले फुस्रा र निन्याउरा मान्छेहरू भेट्दै गए। ती मान्छेको अनुहारले हेगेनलाई आफुतिर तान्यो अब यिनी मान्छे पढ़्न लागे। गैंती घुइँक्याएर हेडेनले मान्छेको आख्यान लेखे । विश्वअघि नेपाललाई चिनाए।

कवि इन्द्रकुमार राईले लेखेका कविताहरूमा मान्छेहरूको आख्यान प्रश्स्तै भेटिन्छ।

पिकासोको क्यानभसमा पोतिएका

ती ब्रसका प्रत्येक रङहरू सधैँ

बोलिरहेका के तिमीले देख्यो?

आर्ट ग्यालेरीमा स्वंय तिमी नै उत्रेका

कतै छैनौं के!

तस्वीर तिम्रै हो- नभेटे पनि

कैयौं पल्ट बेचिएको पाएँ।

( केथोस थ्योरी-एक सिद्धान्त /36)

कवि अध्ययनशील हुनु पनि अत्यन्त जरूरी छ। पाठकहरूले कविबाट स्तरीय कविताहरूको आशा गर्छन् । केथोस-थ्योरी शीर्षकमा लेखिएको कविता कविले पश्चिम सिद्धान्तबाट प्रभावित भएर लेखेका कुरा जनाएका थिए मलाई। यो सिद्धान् बारे म पनि अनभिज्ञ छु। तर मैले अध्ययन गरे मुताबिक चित्रकारितालाई लिएर पश्चिमे कलाकारहरूले इम्प्रेशनिज्म आन्दोलन चलाएका थिए। कलामा स्वतन्त्रताको खोज गरेका थिए।

मान्छेको चरित्र मान्छेको व्यवहारमाथि केही प्रहार गरेर यो कविता यिनले लेखेका छन्। मान्छे स्वार्थमा बिक्री हुने कुरा। मान्छे स्वाभिमानी बन्न नसकेको कुरा यो कविता पढ़ेपछि थाहा लाग्छ।

पुरूष र नारीलाई तुल्नात्मक दृष्टिले हेरेर नारी अस्तित्वमाथि गहिरो विचार प्रकट गर्न खोजेका छन् कविले । पुरूषको स्वार्थमा नारीले झेल्नु पर्ने थुप्रै पीड़ाहरूको बखान गरेका छन्। नारीको शोषण दमन पुरूषले गरिरहेको समाजमा छौं हामी। पुरूषले प्रेमको बहानामा नारीलाई वासनाको शिकार बनाउँछ र संक्रमण फैलाउँछ। शारीरिक प्रेम , प्रेम नभएर वासना हो अय्याशि हो भन्ने सत्य कुरा प्रकट गरेका छन कविले।

पुरूष लुट्न चाहान्छ

स्त्री लुटिन्न चाहान्छे

यो प्रेम अहो

सत्य हो विश्वास

सङ्क्रमण त्यो

पुरूष रोग फैलाउन चाहन्छ

स्त्री रोगग्रस्त हुन चाहान्छे।

(सत्य- प्रेम के ऐयास )

मानेछेको स्वार्थले चरम सीमा नाघेको स्थितिलाई उजागर गर्न चाहान्छन। पापको पिरामिड भत्कनलाई भूकम्प आवोस् र मान्छेमा भएको अमानवीय गुणहरू

तहस नहस बनुन् र एउटा नयाँ विचार चेतनाको उदय होस् भन्ने चाहना पनि भएको कुरा कविताको हरफहरूलाई पढ़ेपछि थाहा लाग्छ। आकाश छुने चाहमा

मान्छेले भुइँमा हिँड़नेलाई नचिन्नु जस्तो प्रवितिले कविलाई सोच्न बाध्य गराएको छ। मान्छे-मान्छेमा किन भिन्नता र पर्खालहरू….??

कविताका पंक्तिहरू यसै भन्छ-

आतिएका छैनन्-मान्छेहरू

बिउँझेका छैन्न- विचारहरू

मरेतुल्य छन्- मास्तिष्क

सेलाएका छन् उठ्दैनन्- मान्छे!

(ए भूकम्प! अझ आउनैपर्छ तिमी!)

 कवितामा केही नयाँ प्रयोग गरेर पाठकको ध्यानलाई आफुतिर तान्ने कुरा कविहरूले गरिरहेका छन्। बैरागी काइँलाहरूले  तेस्रो आयमको चर्चा गरे

र कविताहरू लेखे। कविताको विषय वस्तुको चयन र त्यसमा प्रयोग गरेको विम्ब प्रतिक मिथले कविताको आकार केही बेग्लै र सुन्दर नै देखाउँछ।

पाठकले बौद्धिक कसरत गरेर कवितालाई बुझ्नु पर्ने स्थिति सृजना गर्न चाहेका हुन्छन कविले।

यता इन्द्रकुमारको कविताहरू पनि त्यस्तै त्यस्तै लेखिएका वा उनले त्यस्तो लेख्न खोज्न चाहेको प्रतित हुन्छ।

आयामेली लेखनको आफ्नै एउटा अलग स्थान छ।

कविले गरेको प्रयोग प्रशंसनीय छ।

शक्तिशाली देशमा बस्ने मान्छेले नै मानव इतिहास ध्वस्त पार्दै आएको। मानवता हराएर गएको अनि यसरी मान्छे आफ्नै विकृतिको शिकार भएको कुरा

कविको यस कविताबाट बुझ्न सकिन्छ। परमाणु बमको अविष्कार मानवताको निम्ति घातक भएर जाने साथै यसले मान्छेलाई स्वार्थको व्यापारी बनाउँछ।

 निउट्रोन प्रोटोन युरेनियम

एमोनियम नाइट्रेट

रिएक्टर फोकोसिमा

विचार मान्छे मगज बुद्धि

प्रवृति व्यवहार

यसरी चक्कर लाग्नु एकासी निलेर सब कार्बोनहरू-

फेरी म बाँच्नु- एउटा बम

परमाणु बम।

(फोकेसिमा, म र सम्झौता पत्र 33)

 नक्साभित्रका मान्छेहरू- मा मान्छेको आख्यानको विभिन्न पाटाहरू दर्शाइएको छ। कविले कवितामाथि सिरियसली काम गरेका छन्। व्याकरणगत

गल्तीहरू देखिएको छ। ती त्रुटीहरूलाई नियाल्ने काम कवि स्वंयले गरुन्।

सिक्किमबाट हाल युवा कविहरूले सृजनात्मक काम गरिरहेका छन्। कवितामा चेतनाको गन्ध भेटिन्छ।

बिम्व प्रतिक र कलाको राम्रो संयोजन गरेर कवि इन्द्रकुमारले देखाएका छन्।

अब उप्रान्त कुरा कविताबारे समीक्षा र टिप्पणीहरू पाठकहरूबाट पनि होस्। कविको कविता सङ्ग्रह हातमा पुगेको छ। लु अब पाठकले उनको कविता खोजी खोजी पढ़िदिउन्। कविलाई शुभकामना।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया