विजय बान्तवा ‘कैलाशी’ : ‘क्षितिज खोज्दै’

पाठकीय


बबिता मादेन


‘क्षितिज खोज्दै’ हात लगाइदिनु भएपछि बिजय बान्तवा ‘कैलाशी’ दाज्युले भन्नुभएको थियो ‘बहिनी यदि किताब मन पऱ्यो भने केही शब्द लेखिदिनु होला है।’

किताब त धेरै अघि नै पढिसिध्याएको हो तर त्यो अद्भूत रोमाञ्चकारी यात्रा र भगवत चिन्तनमा निमग्न शब्दहरूले धेरै दिनसम्म समातिरह्यो।

संस्मरणमा समावेश जम्मा सातवटा कठिन तीर्थ यात्राहरू, माता पाथीभराको दर्शन, जो नेपाल राष्ट्रभरि नै अत्यन्तै पुजनीय तीर्थस्थल भनेर जानिन्छ, त्यसबाहेक अमरनाथ यात्रा, चारधाम, मुक्तिनाथ यात्रा, सौराष्ट यात्रा र संसार कै दुर्लभ तीर्थ मानसरोवर कैलाश यात्रालाई अत्यन्तै रोचक प्रकारले प्रस्तुत गर्नु भएको छ।

 

जति – जति पुस्तकका पन्नाहरू पल्टाउँदै गएँ त्यति नै लेखक दाज्युप्रतिको श्रदा र सम्मानले अर्को खुड्किलो चढ्दै गयो। ईश्वरसँग साक्षत हुने उनको प्रबल चाहना अनि त्यो चाहनालाई यथार्थमा परिणत गर्ने इच्छाशक्ति देखेर म दङ्ग भएँ।

भक्तप्रति भगवानको अटुट कृपा र भगवान माथि भक्तिको अद्भुत मिलन, जो बिरलै मात्र देख्न पाइन्छ। कठिन भन्दा कठिक तीर्थ यात्रालाई जीवनसँग जोडेर वहाँले भक्ति र भगवानबिच एउटा पारदर्शी सम्बन्ध स्थापित गरिसक्नु भएको छ। मनको प्रकृति नै यस्तो हुन्छ कि जब मानिसले संसारिक माया मोहको क्षणिक वास्तविकतालाई अन्तर्करणबाटै नियाँल्दछ तब उनमा उत्पन्न भएको तिर्सना केवल ईश्वरको स्तुतिले मात्र तृप्त हुन सक्छ।

 

प्रत्येक यात्रालाई ह्र्दयस्पर्शी, सरल, सहज र ईश्वरको भव्यतालाई अत्यन्तै सुन्दर तरिकाले प्रस्तुत मात्र गर्नु भएको छैन तर आफ्नो बेजोड शब्दहरूको कलाकारिताद्वारा पाठकलाई पनि उनको यात्राको सहयात्री बनाउँन सफल हुनु भएको छ। आफ्नो अनुभवलाई यति जीवन्त तुल्याउँनु भएको छ कि पाठक स्वयंलाई पनि ईश्वर कै समिपताको आध्यात्मिक अनुभुति हुँदछ।

 

धरती कै सबै भन्दा पुण्य, उच्च र अखण्ड कैलाशपति जहाँ आत्मा र परमात्माको मेल हुन्छ जहाँ शरिरको कुनै अस्तित्व नै हुँदैन, जहाँ भौतिक सुख, लालच, ईर्ष्या, पूर्वाग्रह शुन्य हुन्छ। यस्तो पावन कमलको त्यो मर्मस्पर्शी अभिव्यक्ति पढ्दै गर्दा पाठकको अन्तर्मनले परमप्रभुको दिव्यतालाई बारम्बार स्पर्श गर्दछ।

 

मानव जाति जति नै धनवान, बलवान, बुद्धिवान किन नहोस् तर जब ठेस् लाग्दा स्मरणमा ईश्वर नै अघि आउँछ। वास्तमा भनौं भने मानव शरीर नै पापको भण्डार हो। मनुष्य मन, वचन र कर्मले नै कति दुष्ट हुन्छ भनेर साध्य छैन र यस्तोमा आफ्नो शरीर नै पापको साक्षात भागिदारी हुँदै गरेको यो समयमा पुण्यले परिपूर्ण पुस्तकभित्रका शब्दहरूसँग केही क्षण वार्तालाप गर्ने सौभाग्य पाउनु पनि आफ्नो पापको एक अंश कटाउनु समान हो।

मानसरोवर यात्रा जति कठिन छ त्यो भन्दा कठिन यात्रा गर्ने सौभाग्य पाउनुमा छ। कारण करोडौंमा एकजनाले यो आशिर्वाद प्राप्त गर्दछ र भन्नू अलिकति पनि गलत हुने छैन कि यो साक्षात भोलेनाथ कै कृपाले मात्र सम्भव छ।

लेखक दाज्यु विजय बान्तवाज्युले आफ्नो अद्भूत अनुभवले तयार पार्नु भएको ‘क्षितिज खोज्दै’ आध्यात्मिक दृष्टिकोणले पनि एउटा अमूल्य सम्पत्ति हो र यसको संरक्षण गर्नु हामी प्रत्येकको जिम्मेवारी बन्दछ।

जीवनमा धेरै प्रकारका पुस्तकहरू धेरै पल्ट पढ्ने मौका पाइन्छ तर साक्षात कैलाशपतिको दिव्यदर्शन प्राप्त गर्दै गरेको दृष्यादिलाई शब्दहरूमा आत्मासात गरेर स्वयं पनि चैतन्यतामा मुग्ध भई केही पल प्रभुमा लिन हुने सौभाग्य पाउनु हुनसक्छ जीवनमा प्रथमपल्ट या त हुन सक्छ जीवनमा अन्तिमपल्ट।

 

ईश्वरको भव्यतालाई छर्लङ्ग उतार्ने ‘क्षितिज खोज्दै-प्रति श्रद्धाले शीरनत भएको मेरो व्यक्तिगत अनुभव हो। आफ्नो व्यस्ततालाई केही समयको निम्ति पर सारेर ‘क्षितिज खोज्दै’ एकपटक पढे जीवनको अन्तिम घडिमा गङ्गाजलको घिटघिटोबाट मुक्ति निश्चित छ।

अवागै नेपाली साहित्य जगतमा एउटा कविताको कृति अर्पण गरिसक्नु भएको श्रदेय दाज्यु विजय बान्तवाज्युको यो पुस्तक अर्को उपलब्धि हो। भविष्यमा अझै धेरै कृतिहरू दिएर नेपाली साहित्यलाई धनी तुल्याउनु हुनेछ भन्ने आशा सहित शुभकामना र शुभेच्छा दाज्यु हजुरलाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया