एनजीसीको पुच्छर कतै टाङमुनि त छैन?

आलोचना

मनोज बोगटी


नाम राम्रो छ, राष्ट्रिय गोर्खाल्याण्ड कमिटी अर्थात एनजीसी। यो गोर्खाल्याण्ड कमिटीमा ‘राष्ट्रिय’ भन्ने ‘तत्वहरू’-को समावेशिता चाँही माइक्रोस्कपले हेर्नु पर्ने खाले। यो कमिटीमा को को छन्? तपाईंले तपाईँको छेउको कसैलाई पनि सोध्नुहोस्, थाहा पाउनुहुन्छ। अर्थात तपाईँले मेरो कुरा बुझ्नु भयो।

मिडियामा दुइचारजनाको अनुहार देखिन्छन्। देख्दा इलिटहरूको रमाइलो कलेक्सन छ, लाग्छ। उनीहरू प्राय सबैतिर घुमिसके। घुम्नुको एउटै लक्ष्य रहेछ, गोर्खाल्याण्ड माग्ने को को रहेछन्, बुझ्नु। उनीहरू भर्खरै कालेबुङ आएका थिए। सुटुक्कै विपक्षको परिक्षा लिए। यो परिक्षामा सबैभन्दा ठूलो ‘कोइसन’ थियो, तिमेरू गोर्खाल्याण्ड आन्दोलन गर्ने कि नगर्ने?’

विपक्षको उत्तर थियो, गर्ने नै गर्ने, आन्दोलन गर्ने।

कसरी गर्ने त?

ट्वाँ। उनीहरू पार्टी खोलिएको देखि नै ‘ट्वाँ’ छन्। हतियार बिनै शिकारमा निस्किएका बौलाहाहरू।

यो बैठकमा सबै मिडियालाई उनीहरूले बोलाएनन्। केही ‘हाउस’-कालाई बोलाएर गरिएको प्रेस कन्फरेन्सबाट एउटा लाइन आयो। उनीहरूलाई विपक्षद्वारा भनियो रे, सबै अँटाउने एउटा छाता बनाइदेउ, हामी त्यहाँ आएर आन्दोलन गर्छौं

लुते विपक्षका यो बलियो आग्रह, एनजीसीको सञ्जीवनी बुटी।

अब सायद उनीहरू त्यो छाता बनाउनेछन्। र आन्दोलन गर्नेछन्।

कस्तो आन्दोलन गर्नेछन्?

उनीहरू नै  जानुन्।

यस्तो एउटै छातावाला आन्दोलन पहिले पनि भएको हो।

गोर्खाल्याण्ड टास्क फोर्स, सायद अहिले सबैले बिर्सिए। जिएमसीसी (गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी) पनि मानिसहरूले भुल्दै गइरहेका होलान्। आजको जुन राजनैतिक समाज छ, त्यसको डिजाइनर कमिटी नै जीएमसीसी। विनय तामाङले जिटिए थापे, जिएमसीसीका सदस्यहरू घर फर्किए। उनीहरूको काम सकियो। मिशन सक्सेस्।

जिएमसीसीमा दिइएको योगदानको भत्ता खाँदै अहिले उनीहरू आफ्ना छोरछोरीलाई आफ्ना बहादुरीका कथा सुनाउँदै होलान्। भन्दै होलान्, ‘यसपालिको जस्तो बलियो आन्दोलन अघि कहिल्यै भएको थिएन।’

कोही भन्दै होलान्, ‘कस्ताकस्ता नेताहरूसित आमनेसामने बसियो। कति हो कति ठूला नेताहरूले मसित हातै मिलायो। राजनाथ सिंहसित त चिया पिएको..’

कोही भन्दै होलान्, ‘जे होस्, दिल्ली घुम्न पाइयो। वर्षौंको सपना पूरा भयो।’

कोही भन्दै होलान्, ‘गोर्खाल्याण्ड हुने त होइन नै, आन्दोलन गरिदेला र सबै खेल बिग्रेला भनेर चौकीदारी गर्दागर्दा हत्तु भइएको थियो।’

अझ केक्के भन्दै होलान् है?

जे होस्, जिएमसीसीपाला सम्झेर उनीहरू दारुपानी पिउँदै होलान्। हाँसीमजाक गर्दै होलान्।

यता पुलिसले दार्जीलिङमा वर्ल्डकप गरिसक्यो। पहाडका कलाकारहरूलाई आन्दोलनकालमा गोली लागेर खुन बगेको ठाउँमा नै  मञ्च बनाएर नचाइसके।

‘रिफ्युजी रिलिफ एन्ड रिहाविलिटेशन डिपार्टमेन्ट’-बाट शरणार्थीहरूलाई पर्चापट्टा बाँडिसक्यो। मुद्दा लाग्नेहरू टीएमसी, गोरामुमो र गोजमुमोमा पसिसके, बाँच्न। विमल गुरूङसित बस्यो पुलिसले पक्रिने, विनय तामाङ वा एलबी राईसित बस्यो सुरक्षा दिने खेल चलिरहेको छ। यस्ता धेरै केक्के भइरहेका छन्, त्योबारे यहाँ नबोलौं।

यता, एनजीसीले बोलाउने बित्तिकै फेरि उनीहरूको (जीएमसीसीका भत्ताप्राप्त विपक्ष) एन्टिना सक्रिय भइरहेको छ।

जिएमसीसीमा हुँदा, न त जन आन्दोलन पार्टीले, न क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले, न गोर्खालिगले न त गोरामुमोले, न त गोजमुमोले, न त बुद्धिजीवीले, न त बौद्धिकले आन्दोलनको रूपरेखा सार्वजनिक गऱ्यो, न रणनीति।

जन्मिएदेखि अहिलेसम्म पनि पहाडको कुनै दलसित ‘रणनीति’ छैन। कस्तो बकवास। कस्तो रेला।

‘रणनीति’ नभएका विपक्षहरूलाई विमल गुरूङले एउटै खोरमा हाले। आफ्नो ‘असक्षमता’-लाई आन्दोलनको एजेन्डा बनाए र जनतालाई ‘हार’ उपहार दिए। यस्तो पपेट जिएमसीसीका किरदारहरूलाई के कसैले भुलेका होलान् त?

म त पटक्क भुल्न सक्दिन। किन भने आजको दुःखको निर्माता हिजोको त्यही जिएमसीसी हो, जो जन्मँदै कुटनीतिक जेलखानामा थियो।

सोच्नुहोस्, त जिएमसीसीमा सबै दलका प्रतिनिधिहरू राखिएको थियो नि। विनय तामाङ त्यसका सदस्य थिएनन्। हरेक बैठकपछि पत्रकारसम्मेलनमा पत्रकारहरूलाई सम्बोधन गर्न उनी नै अघि किन सर्थे? उनले नै हस्तक्षेप किन गर्थे? किन स्वतन्त्र थिएन जीएमसीसी?

अहिले त के कारण थिएछ, त्यो बुझिसक्नु भयो नि तपाईँहरूले।

जिएमसीसीका पनि सबैलाई थाहा थियो तरै पनि सबै विपक्ष खुशी खुशी जिएमसीसीमा किन बसे? किन बसिरहे, तबसम्म, जबसम्म मोर्चाको ‘मिशन’ (आजको स्थिति निर्माण) पूरा भएन।

गोर्खालिग नेता प्रताप खातीले भनेका थिए, ‘जिएमसीसी मोर्चाको कठपुतली संस्था हो। जिएमसीसी यति लुते छ, यसले आफै केही गर्न सक्तैन। यस्तो संस्थामा बसेर आन्दोलन दबाउने रहर हाम्रो पार्टीलाई छैन।’

जनताले गरेको आन्दोलनमा नेताहरूको ‘हिहि’ बढो गर्विलो थिएन त?

जनता आफै जागेको बेला, त्यसलाई व्यवस्थित कुटनीतिले सम्बोधन गरेर दम राखेर आन्दोलनलाई रणनीतिक चरित्र दिनसक्ने कुनै माइकालाल थिएछन् त पहाडमा? त्यतिखेर एनजीसीका बौद्धिकहरू कता थिए हँ?

सोध्नुहोस् न, कल्याण देवान अहिले कता छन्? सीके श्रेष्ठ, आरबी राई, प्रताप खाती, भागोपका सुकमन मोक्तान, हर्कबहादुर छेत्री। अर्थात ती जम्मै तीस सदस्य, जसमा विभिन्न पार्टी, सङ्गठनका प्रतिनिधि र बुद्धिजीवीहरू थिए।

कहाँ छन् अहिले?

जिएमसीसीका क्या खतरा नाइके थिए, कल्याण देवान। अहिले दिउँसै बत्ति बालेर खोज्दा पनि भेटिन्न। जोसित न दिमाग थियो, न नेतृत्व कौशलता, न विषयमाथि ज्ञान र अध्ययन। यस्तो लुइतामे मानिसलाई जिएमसीसी प्रमुख किन, कसले बनायो?

पहाडका बहादुर विपक्षले के यो प्रश्न गऱ्यो त?

प्रश्नै गर्न नसक्नेले कसरी आन्दोलन गर्थ्यो त? हगी?

अचम्म थियो, कठपुतली जिएमसीसीका सबै विपक्षी नेता, बुद्धिजीवी पनि जानीजानी कठपुतली सदस्य बनिबसे, केको लोभमा?

जिएमसीसीको ‘रिमोट’ विनय तामाङ-को हातमा। विमल गुरूङ, त्यसको थिङ्क ट्याङ्क। जे भयो अहिले, त्यो मोर्चाकै रणनीति थिएन त?

बाँचेको अलिकति पनि दिमाग कसैसित छ भने, त्यो दिमाग यो कुरा सोच्नुमा लगानी गर्नुहोस्।

र एकछिन तपाईँहरू फ्ल्यासव्याकमा जानुहोस्।

ममता व्यानर्जीले ‘बङ्गला भाषा थोप्न’ गरेको दादागिरी देखाउन भाजपा समर्थित राष्ट्रिय मिडिया दार्जीलिङ कुद्यो। ममता व्यानर्जीको कन्सिरी तात्तियो। धेरै आन्दोलनकारीको निधार ताकेर गोली चलाइयो। अचानक थानाथानामा ‘बम’ पड्कियो। विमल गुरूङ लागे जङ्गल। (लुक्न कि बाँच्न?)

आन्दोलनको भार विनय तामाङको काँधमा। आन्दोलन गऱ्यो कि इन्काउन्टर हुने भय। नगरौं, जनताले चेप्ने डर। यस्तोमा कुन बाटो कम जोखिमको बैकल्पिक बाटो होला त?

जनता त मानेको पातका थोपाहरू (विमल गुरूङले तयार पारेको परिभाषा) भइगए। जनतालाई त ‘डर’ र ‘ललिपप’-ले तइनमा ल्याउन सकिहालिने हो। ममता व्यानर्जीलाई त न डर देखाउन सकिने न कुनै ललिपपले मान्ने।

ममतालाई ‘खराब’ देखाउन पठाएका मिडिया खाली हात फर्किएपछि भाजपा रमाउने कुरै आएन। दार्जीलिङमाथि बोलेर बङ्गालको ‘भोट’ बिगार्ने रहर न अहलुवालियालाई थियो, न राजनाथलाई। मोदीसम्म त कुरै पनि पुग्न पाएन।

विनय तामाङहरूलाई कम जोखिम त, पुलिस लगाएर पक्राउ गरेर ‘डर’ देखाउनु र ‘डर’-सामसुम भएपछि ‘ललिपप’-हरूले फकाउनु-मा नै थियो। विनय तामाङहरू यतैतिर लागे। आराम से लागे।

बाटो छोडिदिए एनजीसीका अहिलेका बौद्धिकहरूले, जिएमसीसीका पपेट एक्टिभिष्टहरूले।

विनय तामाङहरूको यहाँसम्मको यात्राका खास परिस्थिति निर्माणकर्ता वा परिस्थिति बनाउन दिमाग लगानीकर्ता को त?

जिएमसीसी। जिएमसीसीभित्र विपक्ष, र एनजीसीका बुद्धिजीवी।

कसरी त?

किन भने जिएमसीसी र एनजीसीले आन्दोलनको कुनै रणनीति बनाएन। न आन्दोलनको चरित्र निर्धारण गऱ्यो। न त नेतृत्व सामर्थ्य देखायो। न त साङ्गाठानिक सिमा केलायो। न त एजेण्डा नै तयार पाऱ्यो। के गरे त उनीहरूले?

तारिख पे तारिख, तारिख पे तारिक, अर्थात बैठक। रणनीतिहिन बैठक, अर्थात टाइम पास। टाइमपास अर्थात विनय तामाङहरूलाई जिटिए थमाउने स्थिति तयार गर्नु। अर्थात पपेट-को जिम्मेवारी पूरा गर्नु।

जो जो जिएमसीसीमा थिएनन्, उनीहरूले दिल्लीमा केही गरिरहेका थिए, त्यो थियो एनजीसीको गर्भधान। विभिन्न सङ्गठन, विभिन्न खेमा, विभिन्न सरोकारवालाहरूले संयुक्तरूपमा एउटा राष्ट्रीय संस्थाको परिकल्पना गरिरहेका थिए। अचानक रातारात मुनिष तामाङहरूले घोषणा गरे- एनजीसी।

(यसको उत्पति तिर नजाऔँ। उत्पतिमा धेरै समस्याहरू छन्। ती समस्या नियतहरूले निर्माण गरेका छन्।)

अहिले यो एनजीसी गोर्खाल्याण्डको आन्दोलन गर्छौं भन्दैछ। जो जिएमसीसीमा थियो, उनीहरूलाई नै ‘गोर्खाल्याण्ड’-को निम्ति एकत्रित गर्ने भन्दैछ। अवकास लिएका केही व्यक्तिहरू आफैलाई ‘बुद्धिजीवी’ करार गर्दै ‘मात्थिलो लेभल’-को आन्दोलन गर्ने भन्दैछन्।

यस्तो लाग्छ, उनीहरू आन्दोलनलाई ‘मजाक’ बनाउन खुब उत्ताउला गरिरहेका छन्।

जतिखेर पुलिस प्रशासन लगाएर जनताको बोलीलाई जेल हाल्ने काम भइरहेको थियो, जतिबेला जनान्दोलनले बौद्धिक रणनीति मागिरहेको थियो, जतिबेला आन्दोलनले वैकल्पिक नेतृत्व मागिरहेको थियो यतिबेला एनजीसीका नेताहरू किन दुलो पसे त?

विनय तामाङहरूले आन्दोलनलाई ‘राज्यसरकारसित सम्झौतामा’ लिएर जाँदा नष्ट भइरहेको आन्दोलनको मूल्य संरक्षणको लागि एनजीसीले केकस्ता पहलहरू गरे त?

रणनीतिक आन्दोलन पर्खिएर बसिरहेका सारा जनताको उर्जालाई ‘इन्क्यास’ किन गरिएन? आन्दोलन गर्न उत्रेका (चाहे ती विमल गुरूङ झैं गोबरगणेश नेता नै किन नहुन्) नेता र आन्दोलनकारीहरूलाई जङ्गल खेद्ने सत्ताको हैकम र बौद्धिकहरूको मौनताले कस्तो सामाजिक मनोविज्ञान निर्माण गऱ्यो? त्यसको अध्ययन गर्ने कुनै नेता एनजीसीमा छन्?

जहिल्यै दार्जीलिङ र कालेबुङ जिल्लाबाट उठ्ने आन्दोलनको राप तापेर बस्ने यी दुइ जिल्लाबाहिरका बौद्धिकहरू को को कुन कुन दायित्व लिएर एनजीसीमा बसेका छन्?

दुइवटा जिल्लाबाट मुद्दा र आन्दोलनलाई बाहिर निकालेर यसलाई ‘राष्ट्रीय’ बनाइएका बुँदाहरू के के हुन्? आयामहरू के के हुन्?

पुलिसी आतङ्क उत्पन्न गरेर दबिएका जनावाजलाई फेरि आन्दोलनको सतहमा ल्याउने सूत्रहरू के के हुन्?

जनता सङ्कटमा परेको बेला मौन बस्ने विपक्ष र एनजीसीका बौद्धिकहरूलाई विश्वास गर्नु पर्ने कारणहरू के के हुन्?

सत्ताले पहाडमा उत्पन्न गरेको ‘त्रास’ मार्फत मनमनमा, दिमागदिमागमा पैदा गरेको ‘सोसियो साइकोलजी’ -बारे एनजीसीका कुन पण्डितलाई जानकारी छ?

एनजीसीका बलिया रणनीतिहरू किन सार्वजनिक गरिन्न?  एजेण्डाहरू किन स्पष्ट पारिन्न?  नेतृत्व सामर्थ्यका उदाहरणहरू के के हुन्?, छुट्टै राज्य हुने सम्भावनाका बुँदाहरू  सार्वजनिक गरियो र?

आन्दोलनका आयामहरू खुलाइयो र? एनजीसीका साङ्गाठानिक सीमाहरू के के हुन्? जनसहभागिताका क्षेत्रहरू निश्चित गरिएको छ त?  बौद्धिक, सचेत, पढाकु युवा, विषय विशेषज्ञ, कानूनी, भौगोलिक, ऐतिहासिक सिमाहरू केलाएको दस्तावेज खै?

कुनै पदबाट रिटायर्ड हुने वित्तिकै बौद्धिक भइहालिन्छ? बुद्धिजीवी र बौद्धिकमाथिका एनजीसीका बुझाईहरू के कस्ता छन् त?
इन्टेलेजेन्सिया र इन्टेलेक्चुवल-का जिम्मेवारी र यसका कर्तव्यहरूबारे के ज्ञान पनि छ त एनजीसी नामका दोकानेहरूलाई?

मिशन सफल बनाउने चरणबद्ध बाटाहरू कुन कुन हो?
खेला देखाएर, मेला देखाएर पहाडका जनताका भावना, सपना, मूल्य र मान्छेपन लुट्नेहरूबाट केही शिक्षा पनि लिएका छन् कि?  बुझौं न ती शिक्षाबारे। बताउनुस् न सापहरू हो। (किन साँपहरू हो?)

आउँदै एनजीसी किन लुलो छ?  एउटा बन्दुक पड्कियो भने एनजीसीका नेताहरू दुलो पस्छन् कि पस्दैनन्? राज्यातङ्कबाट जनतालाई बाहिर निकाल्ने प्राथमिक रणनीति नै छ के त?

एनजीसीसित आन्दोलन गर्ने ताकत नै छ के त? ताकतबारे बोल्नुस् त अलिकति।

कस्सम, एनजीसीसित मेरो कुनै दुर्भावना छैन।

यी प्रश्नहरूको जवाबसित यदि एनजीसी आउन सक्दैन भने मेरो सुझाव छ, तपाईँहरू कहीँ कतै कफि क्याफे खोल्नुहोस् र बौद्धिक आत्मरतिमा रमाउनुहोस्।

पुरानै फ्रेम र सोचबाट आन्दोलनमा आउन चाहने खलासी जनतालाई चाहिएको होइन। जनता हेर्न चाहान्छ, तपाईँहरूको पुच्छर टाङमुनि त छैन कतै?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया