अर्जेन्टिनी सपना बोकेका मेस्सी

शैलेन्द्र छेत्री।

“मलाई केहीले पनि सान्त्वना दिन सक्दैन”, जर्मनी विरुद्ध विश्वकप फाइनल हारेपछि व्यथित बनेका मेस्सीले यसो भनेका थिए। लियोनल मेस्सी जसका आँखाअघि स्वर्णिम सपना तुएको थियो। त्यो सपना केवल मेस्सी र अर्जेन्टिनी नागरिकहरूको मात्र थिएन, तर मेस्सी र अर्जेन्टिनी फुटबल टीमलाई चीयर्स गर्ने विश्वभरिका फुटबलप्रेमीहरूको थियो। 14 जुलाई, 2014 ब्राजीलको मराकाना स्टेडियम। सबैले सोचेका थिए, ‘यसपटक मेस्सीहरूको अर्जेन्टिनाले विश्वकप जित्नेछ।’ प्रशंसकहरूको यो विश्वासको बलियो आधार बार्सिलोनाबाट खेल्ने लगभग साढ़े पाँचफुटे चमत्कारिक फुटबलर मेस्सी थिए, जसले कुनै पनि समय परिणामलाई उल्ट्याउन सक्थे। विपक्षी दह्रो थियो, जर्मनी। जर्मनी जहिल्यै आक्रामक फुटबल खेल्ने देश। अझ सेमिफाइनलमा आयोजक ब्राजीललाई 7-1 को गोलअन्तरले ह्याकुलोले मिच्दै फाइनल पुगेको जब्बर टीम। चुनौती सहज थिएन। सेमिफाइनलमा निदरल्याण्ड्सलाई पेनल्टी सुटआउटमा पराजित गरी फाइनलमा पुगेको अर्जेन्टिनाको सपना भताभुङ्ग भयो। यो सपनालाई तुहाउने अरू कोही थिएनन्, वैकल्पिक खेलाड़ीको रूपमा मैदानमा उत्रिएका मारियो गोत्से थिए। उनले खेलको अतिरिक्त समयको 113औं मिनटमा गरेको निर्णायक गोलले नै अर्जेन्टिनाको सपना तुहाएको थियो। यो त्यो क्षण हो, जसलाई मेस्सीले जीवनमा कहिल्यै भुल्न सक्दैनन्। प्रतियोगिताभरि कुल 4 गोल छिराएर गोल्डन बल पुरस्कार जितेका उनले पुरस्कार ग्रहणपछि खुलेर भने, “योभन्दा ठूलो पीड़ा अर्को हुँदैन।”

मेस्सी वर्तमान फुटबलकै एक महान् खेलाड़ी हुन्। यसैले उनीमाथि प्रशंसकहरूको अपेक्षा अरू खेलाड़ीभन्दा धेरै छ। यसभन्दा ठूलो कुरा अर्जेन्टिनासँग मेस्सीलाई सहयोग गर्ने विश्वस्तरका थुप्रै खेलाड़ी छन्। अहिले अर्जेन्टिनामा युवा र अनुभवी खेलाड़ीहरूको राम्रो टीम संयोजन छ। नामै लिनपरे हामी, सर्जियो एग्वुरो, एन्जेल डी मारिया, गान्जालो हिगुइन, पाउलो डिबेला, मार्कस रोजो, निकोलस ओटामेन्डी,  सर्जियो रेमेरो आदिका नाम अघि राख्नसक्छौं। 30 वर्षे मेस्सीले बार्सिलोनाका लागि जति उत्कृष्ट फुटबल खेल्छन्, त्यस्तै प्रदर्शन देशका लागि दोहोर्‍याउन जहिल्यै असफल हुन्छन्। अझ देशका लागि खेलिएका ठूल्ठूला प्रतियोगितामा मेस्सीको भागमा जहिल्यै निराशा हात लागेको छ, चाहे त्यो ब्राजीलमा खेलिएको विश्वकपमा जर्मनीविरुद्ध पराजय होस् अथवा सन् 2015 र 2016 -मा लगातार दुईपटक कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हार। यी  दुवै ठूला प्रतियोगिताका तीनै फाइनलमा यी सुपरस्टार ‘फ्लप’ भएका थिए, जसका लागि मेस्सीले चर्को आलोचना पनि सुने। ठूला प्रतियोगितामा लगातार तीनवटा हारले निराश भएका उनले सन् 2016 -मा कोपा अमेरिकाको फाइनलमा उपाधि शून्य भएपछि अन्तरराष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए।

विगत जहिल्यै वर्तमानका लागि शिक्षा हुनेगर्छ। पछिल्लो भूलबाट शिक्षा लिएर राम्रो परिणाम दिनसक्नु नै राम्रो खेलाड़ीको गुण हो। मेस्सीबाट पनि यस्तै अपेक्षा गर्न सकिन्छ, किनभने उनी विश्वकै  एक उत्कृष्ट स्ट्राइकर हुन्। यसमा दुइमतै छैन। झिनामसिना प्रतियोगिता खेलेर र फितलो प्रदर्शन गरेर उनले पाँचटपटक विश्वका सर्वोत्कृष्ट खेलाड़ीको पुरस्कार जितेका होइनन्। मेस्सीले के कति गरेका छन्, के कस्तो खेलेका छन् भन्ने कुरा पछिल्लो 14-15 वर्षदेखि उनलाई नजिकबाट हेरिरहेका फुटबलप्रेमीहरूलाई थाहा छ। यसपटक अर्जेन्टिनाको विश्वकपको यात्रा धरापमा परेको बेला आफ्नो टीमलाई बैतरणी  तार्ने यिनै स्ट्राइकर हुन्। निर्णायक खेलमा इक्वेडोरविरुद्ध मेस्सीले ह्याट्रिक गरेपछि नै अर्जेन्टिनाले रूस विश्वकप खेल्ने अवसर पाएको हो। यदि यो खेलमा मेस्सीले ह्याट्रिक नगरेको भए आज अर्जेन्टिना पनि चिली, इटली र निदरल्यान्ड्सजस्तै अभागी टीमको सूचीमा परेको हुन्थ्यो, तर मेस्सी थियो र अर्जेन्टिना विश्वकपमा छ।

मेस्सीको सपना भनेको विश्वकपको उपाधि हो। यो सपना बोकेरै संन्यास लिइसकेका यी पाँच फुट 7 इन्च उँचाइका यी खेलाड़ी पुनः मैदानमा फर्केका छन्। भनिन्छ, प्रत्येक दिन नै नयाँ शुरुआत हो।  मेस्सीका लागि पनि रूस विश्वकप नयाँ शुरुआत हो। यसपटक पनि मेस्सी विश्वकप जित्नबाट चुके संन्यास लिइसकेर पनि मैदानमा फर्किनुको कुनै उद्देश्य रहनेछैन। यो पीड़ाले उनलाई भित्रभित्र कुटुकुटु खाइरहनेछ, सधैँ। आलोचकहरूले भन्नेछन्, ‘क्लबका लागि उपाधि जिताउनेभन्दा देशका लागि विश्वकप दिलाउने ठूलो हो। यो भनाइको सोझो अर्थ अर्जेन्टिनाका लागि मेस्सी निकृष्ट, म्याराडोना उत्कृष्ट भन्ने लाग्छ।

यसपटक मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताउनेछन्, आशा गरौं।

 

नाम : लियोनल मेस्सी

जन्ममिति : 24 जून 1987

जन्मस्थान : रोसारियो, अर्जेन्टिना

उँचाइ : 5 फुट 7 इन्च

खेल्ने पोजिशन : विङ्गर/स्ट्राइकर

वर्तमान क्लब : बार्सिलोना

जर्सी नम्बर : 10

कुल क्लब म्याच : 637

कुल गोल : 552

अन्तरराष्ट्रिय म्याच : 124

गोल सङ्ख्या : 64

विश्वकपमा उपस्थिति : चारपटक (रूस विश्वकपसहित)

विश्वकपका कुल म्याच : 15

विश्वकपमा गोल सङ्ख्या : 5

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares