रियलिटी शो-मा फेरि गोर्खे जोड़ीको चमत्कार : अधिक भोटिङबाट नै प्रोत्साहन पाउनेछौं- निशा – तारा

विकास दूतराज, मुम्बई , 7 जुन


एकपछि अर्को गर्दै बलिउडको मञ्चमा नेपालीभाषी गोर्खा कलाकारहरूले आफ्नो प्रतिभाको प्रदर्शनी गरेर शिखर चुम्ने प्रयास गरिरहेका छन्। यसै क्रममा देखा परेका छन् दुइ गोर्खे प्रतिभा निशा रसाइली अनि तारा ढकाल। यी दुइ कलाकारले प्रदर्शन गरिरहेको नाचकलाको चनत्कारबाट दर्शकहरू मात्रै होइन तर देशका प्रख्यात अभिनेता र नृत्य निर्देशकहरू पनि अवाक् बनिरहेका छन्।

सानु पर्दाको लोकप्रिय च्यानल एन्ड टिभीमा प्रत्येक शनिबार अनि आइतबार राती 9 बजी प्रसारण हुने नाच प्रतियोगिता हाई फिभरमा उधुम मच्याइरहेको यो युगल जोड़ीलाई तर हालमा दर्शक र आफ्ना शुभचिन्तकहरूको माया, ममता मात्रै होइन भोटको आवश्यकता परिरहेको छ।

गान्तोकको आरिथाङनिवासी निशा रसाइलीको पेशा नै नृत्यकला हो। दिवङ्गत मातापिता वीरेन्द्र रसाइली अनि सोनाम रसाइलीकी छोरी निशा रसाइलीले गान्तोकमा स्कुल पढ़्दादेखि नै नाचकलामा रुची राखेर विभिन्न कार्यक्रमहरूमा भाग लिने गर्थिन्। पछि अलिक ठुली भएर उनले नृत्य निर्देशक अनु शर्माको देखरेखमा यो कलालाई तिखार्ने मौका पाइन्।

यसरी नै उनले पछि दिल्ली पुगेर कत्थक नाचको प्रशिक्षण प्राप्त गरिन्। कलिलै उमेरदेखि नाचकलालाई आफ्नो जीवनको उद्देश्य बनाउने सपना देखेकी निशाले गुढ़गाउँ दिल्लीका किङडम अफ ड्रिम्स, डांस कैफेमा नर्तक अनि नृत्य निर्देशिकाको रुपमा सेवा पनि प्रदान गरिन्। यतिखेर उनले लोकप्रिय नृत्याङ्गना कणिका शर्मासित आफ्नो सम्बन्ध बलियो बनाउने औसर पाइन्। हालमा गत दुइ सालदेखि फिल्मनगरी मुम्बईमा एसिस्टेन्ट कोरियोग्राफरकी रुपमा कार्य गरेर आफुलाई स्थापित बनाउने प्रयासमा लागिरहेकी निशा शर्माले यसअघि पनि नच बलिये, साइमा अवार्डतिर प्रख्यात नृत्यकार रुएल स्नेहहरूसित काम गरिसकेकी छिन्।

गान्तोकको पाल्जर नाम्ग्याल कन्या पाठशाला अनि दिल्लीको फादर एन्जेल स्कुलबाट अध्ययन गरेकी निशाले गत फरवरी महिनादेखि चालु भएको हाई फिभरमा आफ्नो दक्ष नाचकला प्रदर्शन गरिरहेकी छिन्। यो नाच प्रतियोगिता पार्टनरसित गरिने कार्यक्रम हो। भारतीय राष्ट्रिय मनोरञ्जनको च्यानल एन्ड टिभी-मा प्रसारण हुने यस नाच प्रतियोगितामा निशा रसाइलीका पार्टनर अथवा सहयोगीका रुपमा देखा परेका छन् अर्का एक होनहार नेपाली कलाकार तारा ढकाल।

दिल्ली क्यान्टमा 23 अगस्त, 1993-मा जन्मेका तारा ढकालका पिता बालकृष्ण ढकाल अनि माता लक्ष्मी ढकाल हुन्। दिल्लीमा दसौँ श्रेणीसम्मको अध्ययन गरिसकेका तारा ढकाल सन् 2010 -देखि नै फरन्यान्डो ब्याले कम्पनीसित सम्बन्धित रहेर नाचको दुनियाँमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै आइरहेका एक होनहार युवा हुन्। भविष्यमा एक सिद्धहस्त नृत्यकारका रुपमा अघि आउने उद्देश्य लिएका तारा ढकाल बलिउड मुम्बईलाई नै आफ्नो कर्मभूमि बनाउन चाहन्छन् अनि यसै सिलसिलामा उनको यो हाई फिभर प्रतियोगिता पनि एउटा मुख्य अङ्गको रुपमा देखा परेको छ।

यो युगल जोड़ीलाई हाई फिभरको यस स्तरसम्म आउनलाई धेरै कठिनाइको सामना गर्नुपरेको बताउँछन् दुवैजना। गत वर्षको मार्च महिनामा पहिलो अडिसन चक्र सम्पन्न हुँदा हजारौँको सङ्ख्यामा प्रतियोगीहरूले भाग लिएका थिए देशभरिबाट। त्यसमध्ये 40-50 जनाको जोड़ी मात्रै छानिएका थिए जसमध्ये 19 -जनाको जोड़ी मेगा अडिसनमा पुगेका थिए।

मेगा अडिसनबाट पनि छानिएर यो युगल जोड़ी टप एघारमा पुग्न सक्षम बनेको छ। हालमा एघारौँ चक्रबाट सफलतापूर्वक आफ्नो नाचकलाको नमुना प्रस्तुत गर्दै यो जोड़ी टप आठमा पुगेको छ। यद्यपि यी दुइ कलाकारलाई अझ अघि पुऱ्याउनका लागि नाचप्रेमी दर्शकहरूले भरपुर भोट गर्नुपर्ने अवस्था देखा परेको छ।

यसका लागि शनिबार अनि आइतबार राती  9 बजी दुइ कलाकारहरूको नाच एन्ड टिभीमा प्रसारण भएपछि भोटिङ सुरू हुनेछ। दर्शकहरूले एउटा सिम कार्डबाट 100 पल्टसम्म मिस्डकल गरेर भोटिङ गर्नसक्नुहुनेछ। यसको लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन भने कल गर्ने नम्बर 07240466682 रहेको छ। अर्कोतिर एसएमएस-को माध्यमद्वारा पनि भोटिङ गर्नसकिनेछ जसको लागि शुल्क लागू रहनेछ।

एसएमएस गर्नलाई अङ्ग्रेजीको ठुलो अक्षरमा टी. एन. एन. लेखेर 57575 मा पठाउनुपर्नेछ। एउटा सिम कार्डबाट 100 वटासम्म एसएमएस गर्नसकिनेछ भनी निशा रसाइली अनि तारा ढकालले बताएका छन्। यसरी नै अनलाइन प्रक्रियामार्फत् भोटिङ गर्नचाहनेहरूका लागि तीनवटा डब्ल्यू.जेड ई ई5.कम स्लाइस हाई फिभर-मा पनि सुबिधा उपलब्ध रहेको रसाइली र ढकालको जोड़ीले बताएको छ।

भारतका प्रसिद्ध नृत्यकारहरू ईशा गुप्ता, लारा दत्ता अनि अहमद खानहरूले निर्णायकका रुपमा यी दुइ गोर्खा कलाकारहरूको प्रतिभा देखेर खुबै सकारात्मक टिप्पणी गरेका हुनाले निशा र तारा दुवै अन्तिम चक्रसम्म पुग्नसक्ने विषयमा आशावादी त छन् तर निर्णायकहरूको निर्णयसँगसँगै दर्शकहरूको भोटिङको पनि आवश्यकता रहेको कारण यी दुवैले सम्पूर्ण कलाप्रेमीहरूलाई आफ्नो भोट प्रयोग गरिदिने आग्रह गरेका छन्।

हालमा देशव्यापी रुपमा यी दुइ कलाकारहरूको पक्षमा विभिन्न फ्यानक्लबहरू सुरू भइसकेको बताउँदै रसाइली र ढकालले हालसम्म आफुहरूलाई समर्थन गरिरहेका सबै दर्शकहरूलाई हार्दिक धन्यबाद पनि प्रकट गरेका छन्। यी दुइ कलाकारहरूले अहिलेसम्म आफ्नो नाचकलाको नमुना देखाएर बलिउडका प्रख्यात कलाकारहरूको मन जितिसकेका छन् जसमा मुख्य छन् – माधुरी दीक्षित, टाइगर श्राफ, सरोज खान, गीता कपुर, फराह खान, बादशाह, इफरान पठान, युसुफ पठान, शक्ति कपुर आदि।

यति मात्रै होइन सारा संसारको मन जितेर आफ्नो जाति अनि नाचकलाको शिर उच्च राख्ने प्रण गरेका यी दुइ कलाकारहरूलाई हौसला र प्रेरणा प्रदान गर्ने यही मौका रहेको देखिन्छ। निशा भन्छिन्, हाम्रो जातिलाई जुन रुपमा भारतमा चिनिन्छ अथवा हाम्रो आर्थिक र सामाजिक स्तरको कारणले गर्दा जसरी हामीलाई समयसमयमा हेला गरेर, होँच्याएर टिप्पणी गर्ने कामहरू हुन्छ त्यस्तो स्थितिलाई सही जवाब दिनका लागि अनि हामीमा पनि राष्ट्रिय स्तरका कलाकारहरू र व्यक्तिहरूको कमी छैन भन्ने प्रमाणित गर्नका लागि देशका यस्ता च्यानलहरूलाई हामीले उपयोग गर्न सक्नुपर्छ।

यसपालि हामीले पनि एक मौका पाएका छौँ कि यो देशमा गोर्खा जातिका प्रतिभावान् कलाकारहरूको पनि कमी छैन भन्ने देखाउन। यसका लागि हामीलाई सम्पूर्ण नेपालीभाषी, गोर्खाहरू अनि कलाप्रेमी सबै समुदायका शुभचिन्तकहरूलो भोटिङको माध्यमद्वारा सहयोग पुऱ्याउनुहुनेछ भन्ने आशा राखेका छौँ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares